मौसम: पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेकाले आज र भोलि देशका विभिन्न स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर स्थानभन्दा केही दक्षिण र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित छ । जसका कारण अहिले कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूका साथै मधेश र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

देशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने देखिएको छ । मधेश प्रदेशसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा हुरीबतास चल्ने सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज राति देशभर मनसुन थप सक्रिय हुनेछ । मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा ‘भारीदेखि धेरै भारी’ वर्षाको प्रक्षेपण गरिएको छ । २४ घण्टामा १०० देखि २०० मिलिमिटरसम्म वर्षा हुनुलाई ‘धेरै भारी’ वर्षा मानिन्छ ।

बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भन्दै महाशाखाले आवश्यक सावधानी अपनाउन र मौसमसम्बन्धी पछिल्लो सूचनामा अद्यावधिक रहन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति: बुधबार, २४ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.