‘प्रधानमन्त्रीकाे प्रभाव’पछि डीडीसीका उत्पादनको माग बढ्यो, मूल्य पनि बढाइयाे

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनकाे माग बढेकाे छ ।  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमार्फत डीडीसीका उत्पादनको प्रयोग र प्रचार गरेपछि बजारमा माग बढेको हो । तर, माग बढेसँगै संस्थानले आफ्ना मुख्य उत्पादनहरूको मूल्यमा सुटुक्क वृद्धि गरेको छ ।

विराटनगरका स्थानीय व्यापारी अनिल बरालका अनुसार डीडीसीले दूध, दही, घिउ र पनिरको मूल्यमा २ रुपैयाँदेखि १०० रुपैयाँसम्म वृद्धि भएकाे छ ।

प्रतिलिटर १५० रुपैयाँमा बिक्री हुँदै आएको दहीको मूल्य १६० रुपैयाँ पुर्‍याइएको छ । २०० ग्रामको कप दहीमा ५ रुपैयाँ बढाएर ४५ रुपैयाँ र आधा लिटरको बट्टामा ५ रुपैयाँ बढाएर ८५ रुपैयाँ कायम गरिएको छ ।

दूध आधा लिटरको प्रति पोका दूधमा १ रुपैयाँ वृद्धि गरिएको छ । यसअघि ४९ रुपैयाँमा पाइने ‘स्ट्यान्डर्ड’ दूधको मूल्य अब ५० रुपैयाँ पुगेको छ । एक लिटरकाे १०० रुपैयाँ पर्नेछ । यद्यपि, ‘फुल क्रिम’ दूधको मूल्य भने यथावत राखिएको छ ।

घिउको मूल्यमा एकैपटक प्रतिलिटर १०० रुपैयाँ वृद्धि गरिएको छ । यसअघि प्रतिलिटर ११५० रुपैयाँ पर्ने घिउलाई अब १२५० रुपैयाँ तिर्नुपर्नेछ । पनिरमा प्रतिकिलो ५० रुपैयाँ वृद्धि गरी ८७५ रुपैयाँ कायम गरिएको छ ।

डीडीसीको उत्पादन भाउ बढेपनि बिक्रीमा कमी आएको छैन । तर, बजारमा खुला दूध ८० रुपैयाँ लिटर पाइने अवस्थामा डीडीसीको दूध १०० देखि १२० रुपैयाँ पुग्दा सर्वसाधारणलाई भने केही आर्थिक भार थपिएको छ ।

डीडीसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेका अनुसार प्रधानमन्त्रीले डीडीसीका उत्पादन प्रवर्धन गरेपछि बजारमा माग बढेकाे छ । ‘प्रधानमन्त्रीज्यूले डीडीसीका उत्पादन प्रयोग गर्न प्रोत्साहन गरेपछि बजारमा सकारात्मक सन्देश गएको छ,’ पाण्डेले भने, ‘अहिले माग यति धेरै छ कि हामीलाई मौज्दात व्यवस्थापन गर्न र उत्पादन क्षमता बढाउन दबाब परेको छ ।’

विशेषगरी लेकाली र हिमाली क्षेत्रबाट संकलन गरिने घिउ र चिजको माग अत्याधिक रहेको संस्थानले जनाएको छ । बजारमा मागअनुसार आपूर्ति सुनिश्चित गर्न उत्पादन प्लान्टहरूको क्षमता विस्तार र संकलन केन्द्रहरूको सुदृढीकरणमा ध्यान केन्द्रित गरिएको पाण्डेले बताए ।

महाप्रबन्धक पाण्डेले ‘मूल्य वृद्धि’ नभई ‘मूल्य समायोजन’ गरिएकाे बताए । निजी क्षेत्रका दुग्ध उत्पादनको तुलनामा डीडीसीको मूल्य अझै पनि सुलभ रहेको उनकाे दाबी छ ।

प्रकाशित मिति: बिहिबार, २१ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
काेशी प्रदेशमा मन्त्रीसँग भनाभन भएपछि सचिवको काज सरुवा
रमा तिवारी हत्या प्रकरण : शव खाेलामा फालेपछि आराेपी पुगेका थिए मन्दिर
कोशी प्रदेशको बजेट तयारी : प्रत्यक्ष र समानुपातिक सांसदलाई छुट्टाछुट्टै सिलिङ
सुधन गुरुङ प्रकरण : छानविन समितिले बुझायाे प्रतिवेदन
म्यानपावर सञ्चालक उद्धव पाठकको ठगी धन्दा : चार सय बढी युवा ठगिए
प्रधानमन्त्रीलाई म्यासेज पठाउँदा सचिवसँग प्रहरीको केरकार
परराष्ट्रमन्त्री भारत भ्रमणमा जाँदै
तराई क्षेत्रमा तीन दिन तातो हावाको जोखिम
‘प्रधानमन्त्रीकाे प्रभाव’पछि डीडीसीका उत्पादनको माग बढ्यो, मूल्य पनि बढाइयाे
चेक बाउन्समा सर्वाेच्चकाे नयाँ व्याख्या : ‘बिगाे र ब्याज भराउनू’
© 2024 Satyasanchar. All Rights Reserved.