कृषिकाे नयाँ क्षेत्र रुख टमाटर

Satya Sanchar सत्य सञ्चार

विराटनगर । परम्परागत खेती प्रणालीभन्दा बाहिर निस्किएर केही नयाँ र व्यावसायिक गर्न चाहेमा स्वदेशमै मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने  उदाहरण हुन् तेह्रथुमको छथर गाउँपालिका वडा नं. २ की लक्ष्मी कुमारी थापा ठकुरी ।  उनी व्यावसायीक रुपमा रुख टमाटर खेती गर्छिन् । याे खेती सुरु गरेपछि आम्दानी बढेकाे छ । बन्यजन्तुले गर्ने क्षति पनि कम भएकाे छ ।

कसरी सुरु भयाे खेती ?

पाँच वर्षअघि दसैंका बेला बारीका ३–४ वटा बोटमा रुख टमाटर लटरम्म फलेका थिए । तेह्रथुम छथर गाउँपालिका–२ की लक्ष्मीकुमारी थापा ठकुरीले ती फल टिपेर डोकोमा हालिन् र बजार लैजाने तरखर गरिन् । त्यो देखेर श्रीमानले भनेका थिए, ‘किन दु:ख गर्छौ, बिक्दैन !’

तर, डोको बोकेर नजिकैको शुक्रबारे बजार पुगिन् । नभन्दै, बजार पुर्‍याएको केही बेरमै त्यो एक डोको टमाटर बिक्री भयो र उनको हातमा झन्डै ३ हजार रुपैयाँ पर्‍यो ।

त्यही एक डोको टमाटर बिक्रीले लक्ष्मीको सोच नै बदलिदियो । उनले सोचिन् रुख टमाटरमा राम्रो सम्भावना पो रहेछ । त्यसपछि उनले घरकै बोटका पाकेका फलबाट बिउ (दल) राखिन् र बिरुवा उमारिन् । पहिले मकै, कोदो र आलु फल्ने सबै बारीमा अहिले रुख टमाटरका बोट छन् । १४–१५ रोपनी जग्गामा उनले करिब १ हजार ५ सय रुख टमाटरका बिरुवा रोपेकी छिन् । रुख टमाटर रोपेपछि आम्दानी मात्रै बढेको छैन, वन्यजन्तुको आतंक पनि रोकिएको छ ।

‘पहिले खेती सबै बाँदर, दुम्सी र मृगले खान्थे अहिले त्यस्तो छैन,’ उनी भन्छिन्, ‘आम्दानी पनि राम्रो हुन्छ ।’

बारीमा उनले ७–८ फिटको अन्तरमा रुख टमाटर रोपेकी छिन् । बारीभित्र घुसुवा बालीको रूपमा अकबरे खोर्सानी पनि रोपेकी छिन् । ठकुरीका अनुसार रुख टमाटर बाह्रै महिना फल्छ । अहिले सिजनमा भने अलिक बढी फल्छ । रुख टमाटर बोटबाट टिपेको लामो समयसम्म ताजै रहने भएकाले बिग्रिने डर नहुने उनी बताउँछिन् ।

‘एउटा सिजनमा साढे ४ लाखजतिको बिक्री हुन्छ, बजारको समस्या पनि छैन,’ उनी भन्छिन्, ‘विशेष यसको अचार नै हो, माग धेरै भएका कारण पुर्‍याउन सकेको छैन ।’

उनका अनुसार नियमित गोडमेल र स्याहारका कारण एउटै बोटबाट ४० देखि ५० किलोसम्म टमाटर उत्पादन हुन्छ । बाँदर, दुम्सी र मृगले मकैबाली नष्ट गरेपछि विकल्प खोज्दै सुरु गरेको रुख टमाटर देखेर गाउँमा अरू किसानले पनि खेती सुरु गरेका छन् ।

‘हामीले गर्दा हुने रहेछ, पहिले मान्छेलाई थाहा थिएन होला, १–२ बोट रोप्थे अचार खानलाई, यसो कोसेली ल्याइदिने, त्यहाँभन्दा बढी थिएन यसको,’ उनले भनिन्, ‘मैले गरेको देखेपछि गाउँमा अरूले पनि लगाउनुभएको छ, प्रेरणाको स्रोत चाहिँ म नै भन्नुपर्छ ।’

शुक्रबारे बजारका प्रकाश लिम्बूका अनुसार लक्ष्मीको मिहिनेत देखेर अन्य किसानले पनि व्यावसायिक रुख टमाटर खेती सुरु गरेका छन् । बजार राम्रो भएकाले आम्दानी पनि राम्रो भइरहेको छ ।

पहिलो वर्ष २२ क्विन्टल टमाटर प्रतिकिलो ८५ देखि ९० रुपैयाँका दरले बिक्री गरेकी थिइन् । गत वर्ष राम्रो भाउ पाइन् । प्रतिकिलो १ सय २५ रुपैयाँसम्ममा बिक्री गर्दा एकै सिजनमा साढे ४ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको उनले बताइन् । पहिलो वर्ष उत्पादित टमाटर हङकङसम्म समेत पुगेको थियो ।

रुख टमाटर वर्षैभरि फल्ने भएकाले नियमित आम्दानीको राम्रो माध्यम बनेको छ । अचार र तरकारी बनाउन हुने भएकाले बजारमा माग उच्च छ ।

उनले जीवन विकास लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिएर व्यवसाय सुरु गरेकी थिइन् । बीउ पुँजीका रूपमा लिएको ऋणलाई सही सदुपयोग गर्दै उनले व्यवसाय विस्तार गरेकी हुन् ।

स्थानीयस्तरमै मिहिनेत गरे विदेश जानु नपर्ने उनको सुझाव छ ।  ‘ऋण लिएर सही ठाउँमा लगानी गरी निरन्तर मेहनत गर्न सके विदेश नै धाइरहनु पर्दैन्,उनी भन्छिन्, ‘ऋण लिएर सही ठाउँमा लगानी गर्यो र निरन्तर मेहनत गरियो भने यहीँबाट मनग्ये कमाउन सकिन्छ ।’

भिडियाे 

प्रकाशित मिति: सोमबार, १० कार्तिक, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
काेशीमा १४ भाषालाई सरकारी कामकाजको मान्यता, दलहरूद्वारा स्वागत
© 2024 Satyasanchar. All Rights Reserved.