बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह

Satya Sanchar सत्य सञ्चार

विराटनगर । बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले बुधबार रातिदेखि नेपालमा वर्षा र हिमपात हुने सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ। कात्तिक ११ गते बुधबारदेखि शनिबारसम्म देशका विभिन्न भूभागमा वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार बुधबार रातिदेखि हिमाली क्षेत्रका केही स्थानमा वर्षा र हिमपात हुन सक्छ। बिहीबारदेखि भने प्रणालीको प्रभाव थप बढ्दै देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ।

महाशाखाले सोमबार जारी गरेको पाँचदिने मौसम पूर्वानुमान बुलेटिनअनुसार बुधबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना छ।

बुधबार राति देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा वा हिमपात तथा कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

बिहीबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपात हुन सक्छ। त्यस दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

शुक्रबार वर्षाको प्रभाव अझ फैलिने महाशाखाको अनुमान छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा वर्षा वा हिमपात हुन सक्छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा वा हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

मौसमविद् लामिछानेका अनुसार वर्षाको प्रभाव पूर्वी नेपालमा बढी देखिन सक्छ। पश्चिमी लुम्बिनी, पश्चिमी तराई र सुदूरपश्चिममा भने तुलनात्मक रूपमा कम वर्षा हुने अनुमान छ। काठमाडौंमा बुधबार बादल लाग्ने र बिहीबार केही समय वर्षा हुन सक्ने उनले बताए। शुक्रबारसम्म मौसम बदली भइरहने भए पनि शनिबार रातिदेखि मौसम खुल्दै जाने र चक्रवातको प्रभाव कमजोर हुँदै जाने सम्भावना छ।

वर्षाको सम्भावनासँगै धानबाली भित्र्याउने तयारीमा रहेका किसानलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। खेतमा धान पाकेर पहेँलपुर भएको र कतिपय किसानले काटेर सुकाउन थालेका बेला वर्षा भए बालीमा क्षति पुग्न सक्छ। त्यसैले मौसमको पछिल्लो अवस्था हेरेर धान काट्ने कामको योजना बनाउन र काटिसकेको धान सुरक्षित राख्न आवश्यक छ। मौसमविद्हरूले वर्षा हुने सम्भावित अवधिमा धान नकाट्न सुझाव दिएका छन् ।

दसैँ मनाएर काठमाडौं फर्कने यात्रुको चाप बढिरहेका बेला मौसम बदली हुने पूर्वानुमान गरिएको छ। त्यस्तै, कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) का खेलमा पनि मौसमले असर पार्न सक्नेबारे चासो बढेको छ। यद्यपि, खेल प्रभावित हुने वा नहुनेबारे अहिले नै निश्चित भन्न सकिने अवस्था छैन ।

महाशाखाले भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्न सक्ने चेतावनी दिएको छ। यसले कृषि, सडक तथा हवाई यातायात र दैनिक जनजीवनमा असर पार्न सक्ने भएकाले पहाडी तथा हिमाली क्षेत्रमा पैदलयात्रा गर्ने र घुम्न जाने पर्यटकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

महाशाखाका अनुसार सोमबार देशका हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। मंगलबार रातिदेखि भने देशभर आंशिक बदली हुने सम्भावना छ ।

प्रकाशित मिति: सोमबार, १० कार्तिक, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
काेशीमा १४ भाषालाई सरकारी कामकाजको मान्यता, दलहरूद्वारा स्वागत
© 2024 Satyasanchar. All Rights Reserved.