पहाडभन्दा अग्लो आत्मविश्वास (भिडियाेसहित)

Satya Sanchar सत्य सञ्चार

इलाम । ६ महिनाको हुँदा लागेको आगोले शर्मिला लिम्बुको एउटा हात खायो । तर, नियतिले एउटा हात खोसे पनि उनको साहस र अठोट भने खोस्न सकेन । आज शर्मिला इलामको बिब्ल्याटे बजारमा एक सफल उद्यमीका रूपमा चिनिन्छिन् ।

शारीरिक रूपमा एउटा हात नहुँदाका अप्ठ्यारा त छँदैछन्, तर शर्मिलालाई कहिल्यै आफू अरूभन्दा कमजोर छु भन्ने लागेन । ‘अरूले देख्दा गाह्रो मान्छन्, तर मलाई त्यस्तो गाह्रो लाग्दैन,’ उनी मुसुक्क हाँस्दै भन्छिन्, ‘हात छैन भनेर हिम्मत हारेर बसेको भए केही हुँदैनथ्यो, गर्छु भनेर आँट गरेपछि गरिँदोरहेछ ।’

शर्मिलाको व्यावसायिक यात्रा सजिलो थिएन । सुरुमा उनले गाउँ-गाउँ डुलेर अम्बा, सुन्तला र केरा बटुलेर ल्याउँथिन् र सडकको किनारमा बसेर बेच्थिन् । सडकको त्यो सानो व्यापारबाट सुरु भएको उनको यात्रा अहिले एउटा व्यवस्थित किराना र फलफूल पसलसम्म आइपुगेको छ ।

उनको यो सफलताको सारथि जीवन विकास लघुवित्त वित्तीय संस्था बनेकाे छ । १८ वर्षअघि ५-६ हजार रुपैयाँ ऋण लिएर सुरु गरेको सानो व्यवसायले अहिले व्यावसायिक रूप लिएको छ । पसल मात्र होइन, उनले घरमा व्यावसायिक रूपमा खसी पालन र खेतीपाती पनि गरिरहेकी छिन् । उनको बारीमा अहिले अदुवा, अलैँची र बेसार खेती गरेकी छन् ।

शर्मिलालाई आफ्नो काममा श्रीमान् मङ्गल बहादुर लिम्बुको दह्रो साथ छ । मङ्गलबहादुर आफैँ पनि लघुवित्तबाटै ऋण लिएर अटो चलाउँछन् । ‘दिनमा ६-७ पटकसम्म इलाम बजार र आसपासका क्षेत्रमा रिजर्भमा जान्छु,’ मङ्गल बहादुर भन्छन्, ‘खर्च कटाएर दिनको एक-डेढ हजार बचत हुन्छ ।’

दम्पतीको यो संयुक्त मेहेनतले परिवारको आर्थिक अवस्था मात्र सुधारेको छैन, छोराछोरीको शिक्षा र घरको गर्जो पनि राम्ररी टारेको छ । महिनाको १० देखि १५ हजार बचत गर्न उनीहरू सफल छन् ।

सफलताको सिंढी उक्लिरहँदा कहिलेकाहीँ प्राकृतिक विपत्तिले पनि उनीहरूलाई सताउने गर्छ । केही समयअघि ४-५ आना जग्गा किनेर घर बनाउँदै गर्दा ठूलो पहिरो आयो र बनाउँदै गरेको घरमा क्षति पुर्यायो ।

शर्मिला संघर्ष गरिरहेका धेरै महिलाहरूका लागि प्रेरणाको स्रोत बनेकी छिन् । उनी भन्छिन्, ‘अल्छी चाहिँ गर्नु भएन । मनमा जोस र जाँगर लिएर हिम्मत कसेपछि काम सफल हुन्छ ।’

प्रकाशित मिति: बुधबार, ०६ साउन, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.