किसानकाे छाेराे बुद्ध एयरकाे ककपीटमा (भिडियाे)

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको कटहरी गाउँपालिका– ५ भौडाहाका प्रमोद उराउ बुद्ध एयरको जहाज उडाउँछन् । प्रमोद झाँगड समुदायको पहिलो पाइलट हुन् ।

बाल्यकालदेखि नै आकाशमा उड्ने उनको सपना सहजै पुरा भएको भने होइन् । किसान परिवारमा जन्मिएका उनलाई पाइलट बनाउन उनको बुबा र आमाले अनेकौं संघर्ष गरे ।

स्कुलमा पढ्दा प्रमोद साथीहरुसँग पछि आफू पाइलट बन्ने बताउँथे । तर उनको परिवारको आर्थिक अवस्था उनलाई पाइलट बनाउन सक्ने थिएन् ।

कृषि कर्म गर्ने विष्णुका लागि छोरा प्रमोदलाई पाइलट बनाउनु ‘उडेर चन्द्रमा छुनु जस्तै’ थियो । तर उनले हार मानेनन् ।
‘मसँग पैसा थिएन, ऋण गरेर साउथ अफ्रिका पठाएँ ट्रेनिङको लागि,’ विष्णु भन्छन्,‘ छोरा पाइलट भएर फर्कियो, यो भन्दा ठूलो खुसी अरु के हुन्छ ।’

विष्णुले सुरुमा छोराको चाहनालाई टार्न खोजेका थिए । तर प्रमोदले उड्ने सपना त्याग्न मानेनन्, त्यसपछि विष्णुले आँट गरेर उनलाई पाइलट पढ्न पठाएका थिए ।

उनले छोराको शिक्षाका लागि ६०– ६५ लाख रुपैयाँ खर्च गरे। यो रकम जुटाउन उनले गाउँमा ऋण काढे, आफ्नो जग्गा बिक्री गरे । आकाशमा उड्ने छोराको सपना पूरा हुँदा गाउँमा बुबाआमालाई सन्तुष्टी मिलेको छ ।

प्रमाेदलाई पाइलट बनाउने विष्णु र लालसरीकाे सपना पुरा गर्नका लागि जीवन विकास लघुवित्त वित्तीय संस्थाले पनि सहयाेग गरेकाे छ । लालसरी जीवन विकासकाे सदस्य हुन् । पहिले देखि नै उनलाई कृषि का लागि जीवन विकासले ऋण सहयाेग गरेकाे थियाे ।
छाेरालाई पाइलट पढाउने बेलामा पनि जीवन विकासले ऋण सहयाेग गरेकाे लालसरीले बताइन् ।

‘त्यो दुःख सम्झिँने भन्दा पनि छोरा ठाउँमा पुगिसकेपछि खुसियाली नै खुसियाली हुन्छ,’ विष्णु भन्छन्, ‘ मैले पनि आँट नगरेको र हिम्मत नगरेको भए सायद त्यो ठाउँमा मेरो छोरा पुग्न सक्ने थिएन ।’

छोरोले इच्छा पुरा गर्दै गर्दा विष्णुले श्रीमती लालसरीलाई भनेका थिए, ‘१–२ बिघा जग्गा छ, म सुकुमवासी भए पनि छोरोको इच्छा पूरा गर्छु ।’

विष्णु र लालसरी

‘मैले पनि अलिकति आँट गर्दिएँ । आँट गर्ने कुरा मेरो क्षमता थिएन,’ विष्णु भन्छन्, ‘मसँग पैसा थिएन, ऋण गरेर साउथ अफ्रिका पठाएँ ट्रेनिङको लागि ।’

अफ्रिकाबाट पाइलट पास गरेको खबर छोराले सुनाएपछि घरमा खुसीको सीमा रहेन । छोराको सपना पूरा हुँदा लालसरीका आँखा रसाए । नेपाल फर्किएपछि उनले बुद्ध एयरमा काम पाए । त्यो परिवारका लागि दोस्रो खुसीको क्षण थियो ।

विष्णु बुद्ध एयरका सञ्चालक वीरेन्द्र बस्नेतसँग खुसी छन् । उनी भन्छन्, ‘हामी जस्तो तल्लो वर्गका मानिसका सन्तानलाई उहाँले अवसर दिनुभयो ।’

विष्णुले धेरै पढेका छैनन् । तर पढाइको महत्व बुझेका कारण छोराछोरीले रोजेको विषष पढाए ।
‘संघर्ष र दुःख गरे ठाउँमा पुगिँदो रहेछ,’ विष्णु भन्छन्, ‘मैले नपढे पनि छोराछोरीलाई पढाएँ, हामीले दुःख गर्यौ, हाम्रो जस्तो दुःख छोराछोरीलाई नहोस् ।’

विष्णु उराउले तीन सन्तानमध्ये दुईलाई आफूले रोजेको पेसामा लगाइसके । छोरा पाइलट छन् । छोरी नर्स हुन् । कान्छो छोरा स्कुल पढ्दै छन् । कान्छो छोरालाई पनि रोजेकै विषय पढाउने उनको चाहना छ ।

प्रकाशित मिति: बिहिबार, २६ असार, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.