देशभर मौसममा बदली: हावाहुरी र वर्षाको सम्भावना

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपालको मौसममा पश्चिमी र स्थानीय वायुको साथै न्यूनचापीय क्षेत्रको प्रभाव छ । जसले गर्दा देशभर वर्षा, हावाहुरी र असिना पानीको सम्भावना रहेकाे जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस, लुम्बिनी र सुदूरपश्चिमको तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायतका पहाडी क्षेत्रमा मौसम बदली रहनेछ । यी प्रदेशका केही स्थानहरू तथा लुम्बिनी र कर्णालीको पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने देखिएको छ ।

मौसमविद् विनोद पोखरेलका अनुसार अबको एक साता मौसम स्थिर रहने देखिएको छैन। ‘अबको एकसाता हरेक दिन वर्षा हुने सम्भावना छ । केही ठाउँमा मेघगर्जन र भारी वर्षा हुने पूर्वानुमान छ,’ मौसमविद् पोखरेलले भनेका छन्, ‘अहिले वर्षा रोकिने कुनै संकेत देखिएको छैन ।’
हावाहुरी, चट्याङ र असिनाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन र मौसमको पछिल्लो अवस्थाबारे अपडेट रहन विभागले सबैमा आग्रह गरेको छ।

प्रकाशित मिति: शनिबार, १९ बैशाख, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.