चटपटेले फेर्याे जीवन (भिडियाे)

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका– ४ गैरीगाउँकी झुमा दासको बाल्यकाल कष्टकर रुपमा वित्यो । माइतमा उनका बुबा–आमा चटपटे व्यापार गर्थे । १० वर्षकाे उमेरमै उनी बुबाआमाको व्यापारको पछि लागिन् ।उनकाे पढाइ भने छुट्याे ।

१४ वर्षको कलिलो उमेरमा विवाह बन्धनमा बाँधिएकी झुमाको जीवन चलाउने आधार चटपटे बन्यो । विवाह पछि उनका श्रीमानले चटपटे व्यापार गर्थे ।  उनले भनिन् “नानीहरू ठूला भएपछि मैले पनि चटपटे बेच्न थालें।”

उनी सटर भाडामा लिटर चटपटे व्यापार गर्छिन्, श्रीमान ठेलामा व्यापार गर्छन् ।

हरेक दिन दिउँसो १०–११ बजेबाट सुरु हुने व्यापार बेलुका ८–९ बजेसम्म चल्छ । घरमा हुँदा पनि उनीहरुको समय चटपटे व्यापारका लागि चाहिने सामान तयार गर्दै बित्छ । ‘चटपटे बनाउन पनि कला चाहिन्छ,’ उनी भन्छिन्,’ स्कुल जान पाइन् पहिलेदेखि नै चटपटे बेच्थे ।’

उनकाे प्रगतिकाे यात्रामा जीवन विकास लघुवित्त वित्तीय संस्थाले सहयाेग गरिरहेकाे छ । जीवन विकासकाे सहयाेगमा  व्यापार विस्तार गरेकाे उनले बताइन् ।

उनले चटपटे व्यापार सुरु गर्दा एक साेलीकाे २ रुपैयाँ थियाे । अहिले एक प्लेटकाे ५० रुपैयाँ पर्छ ।‘हिजो सबै सस्तो थियो, अहिले सामान पनि महंगो छ,’ उनले भनिन्,’ मेहनत पनि निकै गर्नुपर्छ ।’

चटपटे व्यापारबाटै उनले घरजग्गा जाेडेकी छन्, त्याे भन्दा ठूलाे उपलब्धि झुमाले छोरीलाई बचाएकी छन् । २०७१ सालमा उनकी छोरी आगलागीमा परिन् । ७ वर्षकी छोरी आगलागीमा परेपछि उपचार खर्च २० लाख भन्दा बढी खर्च भयो । यो खर्च मध्ये केही रकम चन्दा संकलन भयो । बाँकी खर्च चटपटे व्यापारले जुटायो ।

अथक परिश्रम र मिहिनेतले झुमाको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याएको छ। ‘पहिले त्रिपाल टागेर बसेको थिए,छत भएको घर बनाउने रहर थियो, त्यो पनि पूरा भयो,’ उनी भन्छिन्,‘ एउटा म्याजिक किनेर भाडामा लगाउने मन छ ।’

दु:खमा सुरु गरेकाे चटपटे व्यवसायलाई भने छाड्ने पक्षमा उनी छैनन् । ‘हामी बुढाबुढै सकुन्जेल चटपटे बेचिरहने हाे,’ उनले भनिन् ।

प्रकाशित मिति: बुधबार, २४ बैशाख, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.