उभौली, बुद्ध जयन्ती र मजदुर दिवस आज

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । प्रकृतिप्रति गहिरो आस्था र पुर्खाप्रति सम्मान व्यक्त गर्ने किराँत समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व उभौली आज (शुक्रबार) देशभर श्रद्धा, उत्साह र परम्परागत विधिअनुसार मनाइँदै छ । २५७०औँ बुद्ध जयन्ती र मजदुर दिवस पनि आज मनाइँदै छ ।

वैशाख शुक्ल पूर्णिमाका दिन विशेष रूपमा मनाइने उभाैली पर्व धार्मिक विश्वास मात्र नभएर जीवनशैली, कृषि चक्र र पर्यावरणीय सन्तुलनसँग गाँसिएको हुन्छ । किराँत राई समुदायले मनाउने उभौली पर्वको मूल भाव नै ‘उँभो लाग्ने’ अर्थात् तलतिरको भू–भाग (बेँसी)बाट माथिल्लो भू–भाग (लेक)तर्फ सर्ने परम्परासँग सम्बन्धित छ ।

उभौली धार्मिक अनुष्ठान मात्र नभई कृषि जीवनको प्रारम्भसँग प्रत्यक्ष रूपमा जोडिएको पर्व हो । बाली लगाउने समय सुरु हुनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा पूजा आराधना गरी राम्रो उत्पादन होस्, प्राकृतिक विपत्ति नआओस् र समृद्धि बढोस् भन्ने कामना गरिन्छ । ‘उँभो’ शब्दले उन्नति, प्रगति र समृद्धिको संकेत पनि गर्ने भएकाले यस पर्वलाई सकारात्मक आशा र भविष्यप्रतिको विश्वासको प्रतीकका रूपमा लिइन्छ ।

उभौली पर्वलाई ‘चण्डी पूर्णिमा’ पनि भन्ने गरिन्छ । किनकि यस अवसरमा चण्डी नाच पनि प्रस्तुत गरिन्छ । किराँत समुदायभित्रका विभिन्न सम्प्रदायहरूले आआफ्नै शैलीमा पर्व मनाउने गरे पनि यसको मूल भाव र उद्देश्य एउटै रहेको पाइन्छ । प्रकृतिसँग सन्तुलित सम्बन्ध कायम राख्ने र पुर्खाको सम्झनामा श्रद्धा अर्पण गर्ने यसको मूल उद्देश्य हो । काठमाडौं उपत्यका, तराईदेखि पूर्वी पहाडी जिल्लाहरुमा धुमधामसाथ यो पर्व मनाइन्छ । किराँत समुदायमा उभौली र उँधौली दुवै पर्वको विशेष महत्व छ ।

बुद्ध जयन्ती आज

गौतम बुद्धले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । आज बुद्ध जन्मस्थल लुम्बिनीमा आज विशेष कार्यक्रम आयोजना गरिएको छ । विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनीमा बुद्ध जयन्ती मनाउनका लागि लागि भव्य तयारी गरिएको छ ।

मजदुर दिवस मनाइदै

‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ देखि सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विविध कार्यक्रम गरी आज नेपालसहित विश्वभर १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ । दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता र श्रमिकलगायत सम्बन्धित अन्तर्राष्ट्रिय सङ्घसंस्थाका प्रतिनिधिको सहभागितामा देशैभर विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, १८ बैशाख, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.