चेक बाउन्समा सर्वाेच्चकाे नयाँ व्याख्या : ‘बिगाे र ब्याज भराउनू’

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । सर्वोच्च अदालतले चेक अनादर (चेक बाउन्स) मुद्दामा चेकमा लेखिएको रकम (बिगो) र सो को ब्याज पीडितलाई भराउनुपर्ने फैसला गरेकाे छ । न्यायाधीशद्वय कुमार रेग्मी र बालकृष्ण ढकालको संयुक्त इजलासले उच्च अदालत पाटनको फैसला उल्टी गर्दै बिगाे र ब्याज भराउने फैसला गरेकाे हाे ।

सर्वोच्च अदालतले विनिमय अधिकार पत्र ऐन, २०३४ को दफा १०७ (क) को व्याख्या गर्दै भनेको छ‘चेक काट्ने व्यक्तिको खातामा पर्याप्त रकम नभएको जानीजानी चेक काट्नु र त्यो अनादर हुनु आफैँमा कसुर हो । यस्तो अवस्थामा धारक (चेक पाउने व्यक्ति) ले ड्रयर (चेक काट्ने व्यक्ति) बाट चेकमा उल्लेखित रकम र ब्याज भराई लिन पाउने कुरा कानुनले सुनिश्चित गरेको छ ।’

सर्वोच्च अदालतले निवेदक काठमाडौ‌ महानगरपालिका–३२ बस्ने शकुन्तला खड्कालाई प्रतिवादी संगीता थापाको नाममा रहेको जेथा देखाई ९ लाख रुपैयाँ र सोको वार्षिक १० प्रतिशतका दरले हुने ब्याजसमेत शकुन्तला खड्कालाई भराई दिनु भनी आदेश जारी गरेको छ । अदालतले थप व्याख्या गर्दै भनेको छ– ‘प्रतिवादीले ‘मैले जर्बजस्ती चेक काट्न लगाइएको हो’ वा ‘यो तमसुकको आधारमा होइन’ भनी जिकिर गरे तापनि सर्वोच्चले चेकमा भएको हस्ताक्षर र मितिलाई मुख्य प्रमाण मानेको छ। चेक काट्नु भनेको दायित्व स्वीकार गर्नु हो भन्ने सिद्धान्तलाई यसले पुनः पुष्टि गरेको छ ।’

चेक अनादर मुद्दामा बैंकिङ कसुर तथा सजाय ऐन आकर्षित गरिन्छ, तर यो मुद्दा विनिमय अधिकार पत्र ऐन अन्तर्गत चलेको थियो । यस ऐनको दफा १०७ (क) ले चेकको रकम भराउने र जरिवाना गर्ने दुवै सुविधा दिएको छ । सर्वोच्चको यो फैसलाले पीडितलाई ‘बिगो’ (चेकको रकम) प्राप्त गर्ने बाटो सरल बनाइदिएको हाे ।

प्रकाशित मिति: बिहिबार, २१ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.