मोहम्मद युनुसः लघुवित्तकाे प्रवर्तकदेखि बंगलादेशको प्रधानमन्त्रीसम्म

थ्री जिराे क्लबकाे पनि प्रवर्तक हुन्

Satya Sanchar सत्य सञ्चार संवाददाता

विराटनगर । कोटा विरोधी आन्दोलनका कारण प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेपछि नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुस अन्तरिम सरकारकाे  प्रधानमन्त्री नियुक्त भएका छन् । आज उनको शपथ गर्ने तयारी छ । विद्यार्थी आन्दोलनका क्रममा नै युनुसलाई प्रधानमन्त्री बनाउने आवाज उठेको थियो । राजीनामा दिएर हसिनाले देश छाडेपछि युनुसलाई अन्तरिम सरकार गठनको नेतृत्व गर्न प्रस्ताव गरिएको थियो । उनले त्यो प्रस्ताव स्वीकार गरे ।

नोबेल शान्ति पुरस्कार विजेता युनुस लघुवित्त वित्तीय संस्थाका प्रवर्तक हुन् । शून्य गरिबीशून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जन गर्ने उद्देश्यसहित गठन भएको थ्री जिरो क्लबको पनि प्रवर्तक हुन् । थ्री जिरो क्लबकाे सञ्जाल विश्वव्यापी छ । उनले सुरु गरेको लघुवित्त मोडलको पनि विश्वव्यापी सञ्जाल छ ।

मोहम्मद युनुसले सन् १९७० को दशकमा लघुवित्तको थालनी गर्ने व्यक्तिको परिचय बनाए । उनले आरम्भ गरेको लघुवित्तको अवधारणाले बंगलादेशका लाखौं मानिसहरूलाई गरिबीको चरम अवस्थाबाट माथि उठाएको छ ।

चटगाउँ विश्वविद्यालय नजिकैको गरिब गाउँमा घुम्न गएको समयमा उनी लघुवित्तको अवधारणाबाट प्रेरित भएका थिए । उनले केही दर्जन गाउँलेहरूलाई थोरैथोरै पैसा दिएर लघु व्यवसायको उद्यमी बन्न प्रस्ताव गरे । उनले एक पटकमा १०० डलरभन्दा कम मात्र पैसा दिए जुन परम्परागत  बैंकहरूले दिने गरेका थिएनन् ।

उनको सहयोगमा सुरु गरिएका स्थानीय लघु उद्यमहरू निकै छिटो फस्टाए । सन् १९८० को दशकमा त्यसमा दशौँ हजार मानिसहरू सदस्य भए र त्यो ग्रामीण बैंक बन्यो । युनुसको सक्रियतामा गठन भएको बैंकले बाङ्ग्लादेश भरि कार्यक्रम सञ्चालन गर्याे । त्यसमध्ये केही नाफामुखी र केही गैर नाफामुखी थिए । 

लघुवित्तको मोडल सफल भएपछि सन् २००६ मा उनले नोबेल शान्ति पुरस्कार पाए । उनले चर्चामा ल्याएको उक्त अवधारणा अरू विकासोन्मुख देशहरूका लागि पनि नमुना परियोजना बनेका थिए । विकासोन्मुख धेरै देशहरुले लघुवित्तको अवधारण सञ्चालन गरिरहेका छन् । नेपालमा पनि लघुवित्त मोडल चर्चित छ । घरदैलो सेवा मार्फत वित्तीय सेवा प्रवाह गरिरहेका लघुवित्तको गरिबी निवारणमा ठूलो योगदान छ ।

उनी प्रवर्तक रहेको थ्री जिरो क्लबमा १२ वर्षदेखि ३५ वर्ष उमेर समूहका युवाले सहभागिता जनाउन पाउँछन् । एउटा क्लबमा पाँच जना सदस्य हुन्छन् । यसरी गठन भएको क्लब सामाजिक कार्यमा खटिन्छन् । यो क्लबको सञ्जाल विश्वका ५६ वटा देशमा फैलिएको छ ।

नोबेल पुरस्कार पाएपछि युनुसले राजनीतिमा सक्रियता देखाएका थिए । तर सफल भएनन् ।  सन् २००७ मा उनले नागरिक शक्ति नाम दिइएको राजनीतिक अभियानमा काम गर्न सुरु गरेका थिए । शक्ति सङ्घर्ष र प्रतिद्वन्द्वीताका कारण विचलित भएपछि उनले आफ्नो राजनीतिक यात्रा बीचैमा छाडेका थिए । “म राजनीतिक व्यक्ति होइन। यो मैले पार लगाउने काम होइन,” उनले एएफपी समाचारसंस्थासँग भनेका थिए। “त्यसैले मैले तत्कालै आफूले राजनीतिक पार्टी नबनाउने घोषणा गरेँ।”

पूर्व प्रधानमन्त्री शेख हसिना भने युनुसको आलोचक हुन् । उनले युनुसमाथि शृङ्खलाबद्ध अनुसन्धानहरू पनि गरिन् । युनुस र उनका समर्थकहरूले त्यसलाई राजनीतिक प्रतिशोध भन्ने गरेका थिए । राजनीतिक प्रतिस्पर्धीलाई गरेको व्यवहारका कारण गत वर्ष संयुक्त राष्ट्रसङ्घले बाङ्ग्लादेशको सरकारलाई सचेत गराएको थियो । गत वर्ष विश्वका १७० भन्दा बढी नेतृत्वदायी व्यक्तित्वले नोबेल पुरस्कार विजेता मोहम्मद युनुसमाथि भइरहेको उत्पीडन रोक्न बाङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनासँग आग्रह गरेका थिए । ८४ वर्षीय युनुसले गरिबका लागि ब्याङ्करको उपनाम पाएका थिए । उनी अर्थशास्त्री र सामाजिक अभियानेता हुन् ।

उनले बुधबार एक विज्ञप्ति जारी गर्दै बंगलादेशवासीलाई शान्त रहन र देश बनाउन एकजुट हुन अपिल गरेका छन् ।

‘म सबैलाई शान्त रहन अपिल गर्दुछ । कृपया सबै प्रकारका हिंसाबाट टाढै रहनुहोला’ युनुस सेन्टरबाट जारी विज्ञप्तिमा लेखिएको छ, ‘सबै विद्यार्थी, सबै राजनीतिक दलका सदस्य र गैरराजनीतिक सबै व्यक्तिलाई शान्त रहन आह्वान गर्दछु । यो हाम्रो सुन्दर देशमा धेरै राम्रा सम्भावनाहरु छन्, हामीले यसको रक्षा गर्नुपर्छ । हाम्रो लागि र हाम्रो नयाँ पिंढीका लागि एक अद्भुत देश बनाउनुपर्दछ ।’ बीबीसीकाे सहयाेगमा 

प्रकाशित मिति: बिहिबार, २४ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.