बोटबिरुवाको भाषा बुझ्ने ज्ञानचन्द राजवंशी(भिडियो)

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सुन्दा अचम्म लाग्न सक्छ, झापाको शिवसताक्षी नगरपालिका– ७ का ज्ञानचन्द राजवंशी बोटबिरुवाको भाषा बुझ्छन्, बोटबिरुवाकाे आवश्यकता बुझेर काम गर्छन् ।

‘विरुवा बोल्छ भन्दा कसले पत्याउँछ ?तर हामीसँग बोल्छ,’ करेलोका फल देखाउँदै उनले भने,‘ यसले बजार जान्छु भन्दैछ, झोक्रिएकाले मेडिसिन खोजिरहेको हुन्छ, कुनैले पानी माग्छ ।’

ज्ञानचन्दले बोटबिरुवाको भाषा बुझेर तरकारी खेती गर्न थालेको सात वर्ष भयो । कनकाई नदीको किनारमा बोटबिरुवासँग गफ गर्दै उनी खेती गर्छन् । तरकारी खेती सुरु गरेपछि उनको दैनिकी पनि फेरिएको छ । परिवारको आर्थिक अवस्था सुधार भएको छ ।

पहिले धानखेती गर्ने ज्ञान चन्दको बारीमा सिजन अनुसारका तरकारी उत्पादन हुन्छ । बिहान बेलुका भान्साको आवश्यकता भएका कारण उत्पादन भएको तरकारीले बजार पाउन मुस्किल छैन । उनको बारीमा उत्पादन भएको तरकारी दमक बजारमा बिक्री हुन्छ ।

ज्ञानचन्दलाई तरकारी खेती आनन्दको पेसा लाग्छ । उनी हरेक दिन खेतीमा व्यस्त हुन्छन् । तरकारी खेतीमा समय बितेको उनलाई पत्तै हुँदैन । यो पेसामा उनको परिवारका चार जना नियमित खटिएका छन् । आवश्यकता अनुसार हरेक दिन ३–४ जनालाई रोजगारी दिन्छन् ।

तरकारी खेतीबाट उनले खर्च कटाएर वार्षिक पाँच लाख हाराहारी आम्दानी गर्छन् । ‘पहिले सानो थियो, त्यसपछि बढाउँदै लगे,’ उनले भने,‘ हाम्रोमा सिजन अनुसारको तरकारी हुन्छ ।’

साढे तीन बिघामा तरकारी खेती गर्नका लागि ज्ञानचन्दलाई जीवन विकास लघुवित्त वित्तिय संस्थाले सहयोग गरेको छ । जीवन विकासमा आवद्ध भएपछि उनले तरकारी खेती सुरु गरेका थिए । तरकारी खेतीबाट उनले जग्गा जोडेका छन्, घर पनि बनाएका छन् ।

‘साइकल थिएन, गाडी (बाइक)जोडे, जग्गा थिएन,जग्गा पनि भयो, घर पनि भयो, अहिले राम्रो छ,’ उनले भने,‘जीवन विकासले हात समायाे, मैले कोशिश गरे, मेरो जीवनस्तर बदलिएको छ ।’

कृषिमा लागेका उनलाई जागिरको मोह छैन । पढाई सकेका छोरालाई पनि कृषिमै लगाएका छन् । कृषि व्यवसायलाई विस्तार गर्दै लैजाने उनको योजना छ । ‘किसान भनेको इज्जतिलो पेसा हो,’ उनी भन्छन्, ‘जागिर र विदेश भन्दा पनि कृषि नै रोजेको छु ।’

प्रकाशित मिति: सोमबार, २१ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
काेशीमा १४ भाषालाई सरकारी कामकाजको मान्यता, दलहरूद्वारा स्वागत
© 2024 Satyasanchar. All Rights Reserved.