सन् २०३० मा विश्वकपको शतवार्षिकी, ६ देशमा प्रतियाेगिता

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । फिफा विश्वकप २०३० फरक ढाँचामा आयोजना हुने भएको छ । प्रतियोगिता पहिलो पटक तीन महादेशका छ देशमा सञ्चालन गरिने भएकाे हाे ।

मुख्य खेलहरू स्पेन, पोर्चुगल र मोरक्कोमा हुनेछन् । विश्वकपको शतवार्षिकीको अवसरमा उद्घाटन चरणका विशेष खेल उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा खेलाइनेछन् ।

फिफाको प्रस्तावित तालिकाअनुसार जुन ८ र ९ मा दक्षिण अमेरिकाका तीन देशमा शतवार्षिकी खेल हुनेछ । त्यसपछि जुन १३ र १४ मा मोरक्को, पोर्चुगल र स्पेनमा मुख्य उद्घाटन समारोह तथा बाँकी प्रतियोगिता सुरु हुनेछ । पूर्ण खेल तालिका सार्वजनिक नभए पनि फाइनल जुलाई २१ मा हुने अपेक्षा गरिएको छ ।

सन् १९३० मा पहिलो विश्वकप आयोजना गरेको सम्मानस्वरूप उरुग्वेले एक खेल आयोजना गर्नेछ । त्यतिबेला उपविजेता बनेको अर्जेन्टिनाले पनि एक खेल खेलाउन पाउनेछ भने दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबोल)को मुख्यालय रहेको पाराग्वेमा पनि एक खेल हुनेछ । त्यसपछि सम्पूर्ण प्रतियोगिता तीन मुख्य आयोजक राष्ट्रमा केन्द्रित हुनेछन् ।

आयोजक भएकै आधारमा स्पेन, पोर्चुगल, मोरक्को, उरुग्वे, अर्जेन्टिना र पाराग्वे विश्वकपमा स्वतः छनोट भइसकेका छन् । बाँकी ४२ टोली विभिन्न महादेशीय छनोट प्रतियोगितामार्फत तय हुनेछन् ।

२०२६ को संस्करणदेखि विश्वकपमा ४८ टोली सहभागी हुने व्यवस्था छ । तर, फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आगामी प्रतियाेगितामा ६४ टोलीसम्म विस्तार गर्ने प्रस्तावमाथि अध्ययन र छलफल गरिने बताएका छन् ।

विश्वकपको इतिहास सन् १९३० बाट सुरु भएको हो । उरुग्वेमा भएको पहिलो संस्करणमा १३ टोली सहभागी थिए । आयोजक उरुग्वेले फाइनलमा अर्जेन्टिनालाई ४–२ ले पराजित गर्दै पहिलो विश्व च्याम्पियन बनेको थियो ।

२०३० को विश्वकपले प्रतियोगिताको शतवार्षिकी मनाउने भएकाले यसलाई विशेष रूपमा तीन महादेश र छ देशमा आयोजना गर्न लागिएको हो । यसपछि सन् २०३४ को फिफा विश्वकप भने साउदी अरेबियामा आयोजना हुनेछ । फिफाले यसअघि नै साउदी अरेबियालाई आयोजक राष्ट्रका रूपमा स्वीकार गरिसकेको छ ।

प्रकाशित मिति: सोमबार, ०४ साउन, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.