अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रो पटक विश्वविजेता

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । साविक विजेता अर्जेन्टिनालाई फाइनलमा पराजित गर्दै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्युयोर्क–न्यु जर्सी स्टेडियममा भएको प्रतिस्पर्धात्मक फाइनलमा अर्जेन्टिनालाई १-० गोलले हराउँदै स्पेन १६ वर्षपछि पुनः विश्व फुटबलको शिखरमा पुगेको हो ।

अतिरिक्त समयसम्म तन्किएको रोमाञ्चक खेलमा स्पेनले आफ्नो आक्रामक लयलाई कायम राख्दै जित सुनिश्चित गर्‍यो । सन् २०१० पछि पहिलो पटक विश्वकप उचालेको स्पेनले यसअघि सन् २०२४ मा युरोपेली च्याम्पियन (युरो कप) को उपाधि समेत जितेको थियो ।

नयाँ पुस्ताको उदय र स्वर्णिम सफलता

स्पेनका प्रशिक्षक लुइस डे ला फुन्तेको नेतृत्वमा रहेको स्पेनी टोलीले युवा र अनुभवी खेलाडीको उत्कृष्ट सन्तुलन प्रदर्शन गर्‍यो । कप्तान रोड्रीले प्रतियोगिताको ‘गोल्डेन बल’ (सर्वोत्कृष्ट खेलाडी) जित्दा, गोलकिपर उनाइ सिमोनले ‘गोल्डेन ग्लभ्स’ हात पारे । रक्षापङ्क्तिका  खेलाडी पाउ कुबार्सी प्रतियोगिताकै उत्कृष्ट युवा खेलाडी घोषित भए ।

समूह चरणमा केप भर्डेसँग बराबरीबाट यात्रा सुरु गरेको स्पेनले त्यसपछि साउदी अरेबिया र उरुग्वेलाई हराउँदै नकआउट चरण तय गरेको थियो ।

अस्ट्रिया, पोर्चुगल र बेल्जियम जस्ता बलिया टोलीलाई पाखा लगाउँदै स्पेनले सेमिफाइनलमा फ्रान्समाथि प्रभावशाली जित निकालेको थियो ।

लामिन यमाल, पाउ कुबार्सी र फेरान टोरेस जस्ता युवा प्रतिभाको साथ पाएको स्पेनले यो जितसँगै विश्व फुटबलमा पुनः आफ्नो आधिपत्य स्थापित गरेको छ । जाभी र इनिएस्टाको युगपछि नयाँ पुस्ताले स्पेनलाई दोस्रो पटक विश्व च्याम्पियन बनाएर नयाँ स्वर्णिम युगको सुरुवात गरेको छ ।

प्रकाशित मिति: सोमबार, ०४ साउन, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.