विराटनगर । कोशी प्रदेश सरकारले आयोजना गर्न लागेको पहिलो लगानी सम्मेलनलाई लिएर उद्योगी व्यवसायी विभाजित बनेका छन् । विराटनगरमा गर्ने तयारी भएकाे लगानी सम्मेलनका विषयलाई लिएर निजी क्षेत्र दुई धारमा विभाजित भएका हुन् ।
लगानी सम्मेलनका लागि स्थानीय व्यवस्थापनको जिम्मा उद्योग संगठन मोरङलाई दिने तयारी भएपछि निजी क्षेत्रमा एकमत हुन नसकेको हो । एउटा पक्ष लगानी सम्मेलन गर्नुपर्ने अडानमा छ । अर्को पक्ष स्थानीय व्यवस्थापक परिवर्तन गर्ने दौडमा छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माघ ११, १२ र १३ गते लगानी सम्मेलन गर्ने जिम्मा उद्योग संगठनलाई दिने मौखिक बचन दिएका छन् । संगठनले माघ ११ गतेदेखि २० गतेसम्म विराट ‘एक्स्पो’ पनि गर्दैछ । मुख्यमन्त्रीले बचन दिएपछि संगठनले विराट ‘एक्स्पो’स्थलमै लगानी सम्मेलनका लागि छुट्टै स्टल राख्ने तयारी गरेको छ ।
तर, नेपाल उद्योग परिसंघ कोशी प्रदेश मुख्यमन्त्रीले जिल्ला तहको संस्थालाई जिम्मेवारी दिएको भन्दै विरोधमा उत्रिएको छ । उद्योग वाणिज्य महासंघले भने उद्योग संगठनलाई व्यवस्थापन गर्ने जिम्मा दिने तयारीको स्वागत गरेको छ ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवनकु्मार सारडा मेलामा लगानी सम्मेलन गर्दा गलत सन्देश जाने बताउँछन् । उनले सम्मेलन आयोजना गर्ने जिम्मेवारी पनि प्रदेशस्तरीय संस्थाले पाउनु पर्ने अडान राखे । उद्योग संगठन मोरङ जिल्ला तहको उद्योगीहरुको संस्था हो ।
‘टम्बुभित्र त्यो मेलामा विदेशीलाई त के नेपाली उद्योगीलाई बोलाउँदा पनि लाजमर्दाे स्थिति बन्छ । त्यो टेन्टमा बोलायो भने अपमान गरे जस्तो हुन्छ कि हुँदैन ?’ उनले प्रश्न गर्दै भने, ‘मेलामा नाचगान, स्टल र होहल्ला हुन्छ । त्यस्तो ठाउँमा लगानी सम्मेलन गर्ने कि पाँच तारे होटलमा गर्ने ?’
प्रदेशस्तरीय लगानी सम्मेलनको जिम्मेवारी जिल्लास्तरीय संघलाई दिएका कारण विवाद बढेको सारडाले बताए । ‘एउटा संस्थालाई दिएर उसले गर्दिन्छ भन्ने ? यसको पछाडि के रहस्य र स्वास्र्थ छ ? बुझ्न सकिएन,’ उनले भने ,‘विराटनगरमा त्यो (उद्योग संगठन मोरङ) भन्दा ठुल्ठूला संस्था छन् ।’
लगानी सम्मेलन उद्योग संगठनलाई आयोजना गर्न दिने निर्णय सच्याउनु पर्ने उनको माग छ । ‘सबैलाई नाराज (निराश) गर्ने र एक जनालाई खुसी पार्ने काम गर्याे भने लिडरसीप देखिँदैन,’ सारडा भन्छन्, ‘यो कुनै पार्टीको कार्यक्रम होइन । राज्यको कार्यक्रम हो ।’
अर्काे संस्थाको स्वागत
विराटनगरमा निजी क्षेत्र दुई धारमा विभाजित छ । एउटा धार नेपाल उद्योग परिसंघमार्फत सक्रिय छ । यो धारमा भीम घिमिरे, पवन सारडा, महेश जाजूलगायतको समूह छ । अर्काे धार उद्योग वाणिज्य महासंघमार्फत सक्रिय छ । यो धारमा राजेन्द्र राउत, अभिनाष बोहरा, सुयश प्याकुरेललगायत छन् ।
परिसंघले सरकारको तयारीको विरोध गरेपनि उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले भने उद्योग संगठनले आयोजना गर्ने सम्मेलनको स्वागत गरेको छ । विराट ‘एक्स्पो’सँगै आयोजना हुने लगानी सम्मेलनले निजी क्षेत्रको प्रतिष्ठा बढ्ने महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले बताए ।
‘प्रदेश सरकारले विराट ‘एक्स्पो’कै आयोजनास्थलको परिसरमा माघ ११ देखि १३ सम्म पहिलो पटक लगानी सम्मेलन २०८१ को आयोजना गर्न गइरहेको छ । प्रदेश सरकारले सबै निजी क्षेत्रसँगको सहकार्यमा आयोजना गर्न लागेको उक्त सम्मेलनको व्यवस्थापनको जिम्मेवारी उद्योग संगठन मोरङले गर्नेगरी कार्य अघि बढाउनुलाई हामीले निजी क्षेत्रप्रतिको गौरव र प्रतिष्ठाका रुपमा लिएका छौं,’ राउतले भने ।
निजी क्षेत्रप्रति अटुट विश्वास राखी प्रदेश सरकारले सुम्पिएको उक्त जिम्मेवारीलाई वोध गर्दै भव्यताका साथ सम्पन्न गर्न अमूल्य साथ, सहयोग, समर्थन र समन्वयका लागि सबैलाई अनुरोध गरिएको उनको भनाइ छ ।
निजी क्षेत्र दुई धारमा विभाजित भएपछि मुख्यमन्त्री कार्की अप्ठेरोमा परेका छन् । उद्योग संगठनलाई आयोजना गर्ने जिम्मेवारी दिने वचन दिइसकेका उनले असन्तुष्ट बनेको उद्योग परिसंघलाई पनि समेटेर लैजाने आश्वासन दिइरहेका छन् । कार्कीले केही दिनअघि असन्तुष्ट बनेको उद्योग परिसंघको टोलीलाई बोलाएर सहयोग गर्न आग्रह गरेका थिए ।
१ खर्ब जुटाउने लक्ष्य
लगानी सम्मेलनबाट १ खर्ब लगानीको स्रोत सुनिश्चित गर्ने सरकारको लक्ष्य छ । कोशी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डाक्टर सरोज कोइरालाले ६० वटा योजनाहरुलाई सोकेसका रुपमा प्रस्तुत गरिने बताए । जसबाट २५ वटा आयोजनामा लगानी जुटाउने लक्ष्य राखिएको उनको भनाइ छ ।
कृषि, पर्यटन, उद्योग, ऊर्जा, आईटी र पूर्वाधार क्षेत्रका परियोजना सम्मेलनमा राखिने छ । ‘सम्मेलनमा देश–विदेशबाट लगानीकर्तालाई निम्ता गर्ने तयारी छ,’ कोइरालाले भने, ‘२०–२५ वटा योजनामा एक खर्ब लगानी जुट्ने अनुमान छ ।’
लगानी सम्मेलनका लागि ५ वटा समिति बनेको छ । मेलाका लागि मुख्यमन्त्री सहभागी रहेको मूल आयोजक समिति गठन भएको छ । समितिमा उद्योग, वाणिज्य क्षेत्रका १० वटा निजी संघसंस्थाहरू सहआयोजक छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,437)
जीवन विकासले बोलायो साधारणसभा (2,408)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,368)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,350)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,220)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,155)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)