कोशी प्रदेशकाे बजेट पारित गर्न एमाले र कांग्रेसद्वारा ‘ह्वीप’ जारी

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश सरकारकाे आगामी आर्थिक वर्षको बजेट पारित गर्न सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई ‘ह्वीप’ जारी गरेका छन् ।

बुधबार बस्ने प्रदेशसभा बैठकबाट बजेट पारित गर्ने कार्यसूची रहेकाले दुवै दलले अनिवार्य उपस्थित भई पक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् ।

मुख्यमन्त्री र मन्त्रीका निर्वाचन क्षेत्रमा मात्र बजेट केन्द्रित गरिएको भन्दै सत्तापक्षकै सांसदहरूले विरोध र हस्ताक्षर अभियान चलाएपछि सरकार दबाबमा परेको थियो । सांसदहरूको असन्तुष्टिका कारण यसअघि पटक-पटक प्रदेशसभा बैठक स्थगित भएको थियो । अन्ततः सरकारले बजेटको असन्तुलन मिलाउन विभिन्न मन्त्रालयबाट १ अर्ब रुपैयाँ कटौती (सरेन्डर) गर्ने प्रतिबद्धता जनाएपछि विवाद साम्य भएको  थियाे ।

एमालेका प्रमुख सचेतक रमेशकुमार बस्नेत र कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले संसदीय विधान अनुसार नै बजेट पारित गर्न ह्वीप जारी गरिएको पुष्टि गरेका छन् ।

सरकारले असार १ गते ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । सत्तापक्षभित्रै तीव्र मतभेद देखिएपछि सम्भावित ‘फ्लोर क्रस’ र अनुपस्थितिलाई रोक्न दुवै दलले ह्वीपको सहारा लिएका हुन् ।

प्रकाशित मिति: बुधबार, २४ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.