स्वरोजगारी सिर्जना गर्दै जीवन विकास (भिडियो)

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको रङ्गेली नगरपालिका– ८ दर्बेसाका सुदना सरदारले लामो समय अरुकोमा मजदुरी गरे । धान कुट्ने मिलमा बोरा बोक्ने कामको आम्दानीले परिवार दुःखले चलेको थियो । पछिल्लो चार वर्ष यता उनी आफै स्वरोजगार बनेका छन् । जीवन विकास लघुवित्त वित्तीय संस्थाले सिटी सफारी उपलब्ध गराएपछि उनी स्वरोजगार बनेका हुन् ।

जीवन विकासले सफारी खरिद गरेर उनलाई दिएको थियो, त्यसको थोरै थोरै किस्ता उनले बुझाए, अहिले सफारी आफ्नै भइसकेको छ । ‘सफारीको ऋण तिरिसके, अहिले त आफ्नो छ,’ उनी भन्छन्,‘ सफारीको तिरेपछि फेरि अर्काे ऋण उठाए, त्यसको किस्ता यसैबाट (सफारीबाट) तिरिरहेको छु ।’ सफारी चलाउन थालेपछी परिवार चलाउन सजिलो भएको बताउँदै उनले भने, ‘म त सन्तुष्ट छु ।’

सुनवर्षी नगरपालिका– ५ टकुवाका राजेशकुमार मण्डलले लामो समय पेन्टरको काम गरे । उनको काम नियमित थिएन । अहिले उनी पनि सिटी सफारी चलाउँछन् । जीवन विकासले सिटी सफारी उपलब्ध गराएपछि उनी बेरोजगार भएर घरमा बस्नु परेको छैन । हरेक दिन काममा निस्कन्छन् । ‘पहिले महिनामा दश दिन काम हुन्थ्यो, अरुदिन बेरोजगार बस्नुपथ्र्याे,’उनी भन्छन्,‘अहिले सफारी छ, बेरोजगार बस्नु पर्दैन, पेन्टरको काम आउँदा त्यो पनि गर्छु’

सिटी सफारी खरिद गर्न जीवन विकासले उनलाई २ लाख ६० हजार रुपैयाँ दिएको थियो । विना धितो पाएको ऋणको किस्ता उनी सफारीबाट भएको आम्दानीले बुझाउँछन् । घरखर्च पनि सफारीकै आम्दानीले धानेको छ । बचत पनि गरिरहेका छन् ।

सुनवर्षी – ५ टकुवाकै सुनिलकुमार साहले पनि पेन्टरको काम गर्थे, खेतीपाती पनि गर्थे । सात महिनायता उनी सिटी सफारी चलाउँछन् । ज्यालामा पेन्टरको काम गर्दा आफ्नै काम गर्न पाए हुन्थ्यो भन्ने लागेको थियो, तर लगानी गर्ने पैसा थिएन, जीवन विकासले ऋण दिएपछि उनले सफारी खरिद गरे । सफारीको आम्दानीले उनलाई घर चलाउन सजिलो भएको छ । ‘अरुकोमा काम गर्नुभन्दा आफ्नै काम गर्नु राम्रो हो, घरको पनि काम हुन्छ भनेर सिटी लिए,’ उनी भन्छन्,‘ एक हजार भन्दा माथि भइहाल्छ दिनको आम्दानी ।’

रङ्गेली नगरपालिका –८ का धिरज सरदारले सिटी सफारी कुदाउन थालेको एक वर्ष भयो । त्यसअघि उनी इटहरीको चामल मिलमा मजदुरको काम गर्थे । जीवन विकासले ऋण दिएपछि आफ्नै सिटी सफारी कुदाउन थालेका हुन् । आफै स्वरोजगार भएका उनको आम्दानी पनि बढेको छ । मिलमा काम गर्दा उनी महिनामा १८ हजार आम्दानी गर्थे, सिटी सफारी चलाउन थालेपछी दिनको न्यूनतम एक हजार रुपैयाँ आम्दानी गर्छन् । ‘मिलमा त अर्काको काम थियो, जस्तो अवस्थामा नि गर्नै पथ्र्याे,’ उनी भन्छन्,‘सिटी आफ्नो भएपछि आफ्नो काम भयो, अरुको भन्दा आफ्नो काम धेरै ठिक छ ।’

विराटनगर महानगरपालिका– १६ दरैयाका ह्याप्पीकुमार पासवानले १६ वर्ष अरुको रिक्सा भाडामा कुदाए । दैनिक १५ रुपैयाँका दरले रिक्सा भाडामा कुदाउन सुरु गरेका थिए । सिटी सफारी आएपछि रिक्सा चल्न छाड्यो, रिक्सा छाडेर ह्याप्पीले फेरि सिटी सफारी भाडामा लिए । दैनिक सात सय रुपैयाँ भाडा तिरेर उनले आठ वर्ष विराटनगरमा सिटी सफारी चलाए । सिटी धनीलाई दिनको सात सय रुपैयाँ भाडा तिरेर उनले दैनिक ६–७ सय रुपैयाँ आम्दानी गर्थे ।

अढाई वर्षयता उनले आफ्नै सफारी चलाइरहेका छन् । जीवन विकास मार्फत खरिद गरेर आफ्नै सफारी चलाउन थालेका हुन् । सिटी धनीलाई दिनुपर्ने मासिक २१ हजार जोगिएको छ । सिटी पनि आफ्नै भएको छ । पासवानलाई लघुवित्तले दुई लाख ६५ हजार ऋणमा रिक्सा उपलब्ध गराएको थियो । रिक्सा खरिद गरेको ऋणको किस्ता उनले मासिक रुपमा तिरिरहेका छन् ।

‘१६ वर्ष रिक्सा भाडामा चलाए,त्यसपछि सिटी सफारी चलाए,’ पासवान भन्छन्,‘जीवन विकासले मलाई सफारीको मालिक बनाइदियो,म खुसी छु, परिवार पनि खुसी छ ।’ भाडामा रिक्सा चलाउँदा उनले आफ्नो किन्ने आट गरेका थिएनन् । ‘हिजो साहुलाई पैसा बुझाउँथे, अहिले त्यो पैसा जोगियो, बचत गर्छु,’ उनले भने,‘ थोरै थोरै किस्ता तिरे,गाडी पनि आफ्नै भयो ।’सिटी सफारी कै कमाईले उनले छोरालाई इन्जिनियरिङ पढाइरहेका छन् ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले विपन्न परिवारलाई स्वरोजगार बनाउने अभियान अन्तरगत दुई हजार भन्दा बढी परिवारलाई सिटी सफारी उपलब्ध गराएको बताए । २४ जिल्लामा १६० शाखा कार्यालय मार्फत विपन्न परिवारको घरदैलोमा वित्तीय सेवा प्रवाह गरिरहेको जीवन विकासले उद्यमशीलता विकासका लागि छुट्टै विभाग नै स्थापना गरेको उनले जानकारी दिए ।

जीवन विकासको उद्यमशीलता विकास विभागका प्रमुख मनोज शर्माका अनुसार सदस्यको गार्जेनले (श्रीमान) दैनिक ६–७ सय रुपैयाँ किस्ता तिरेर भाडामा रिक्सा चलाउँथे । जीवन विकासमार्फत सफारी लिएपछि आफ्नै चलाउन थालेका छन् । ‘सदस्य दिदीबहिनीलाई सहज रुपमा सिटी रिक्सा उपलब्ध गराइरहेको छौं,’शर्मा भन्छन्,‘ जीवन विकासबाट सिटी लिएर दैनिक चार सय रुपैयाँ किस्ता तिर्दा दुई वर्षमा सफारी मालिक बन्नुहुन्छ, सदस्यलाई किस्ता तिर्न पनि समस्या हुँदैन ।’

उद्यमशीलता अभियान अन्तरगत अन्य व्यवसायमा पनि जीवन विकासले सहज रुपमा सहयोग गर्ने बताए ।

सेवाग्राहीलाई भुक्तानीका लागि सहज बनाउन र सदस्यको बचत वृद्धि गर्ने उदेश्यसहित सिटी सफारीमा क्युआर कोडको पनि व्यवस्थापन गरिएको शर्माले  जानकारी दिए । क्युआर कोडबाट भुक्तानी गर्दा पैसा सदस्यको खातामा जम्मा हुन्छ, जसको म्यासेज मोबाइलमा जान्छ । ‘यसले यात्रीलाई खुद्रा पैसा खोज्नुपर्ने झन्झट भएन,’ उनी भन्छन् ,‘सफारी धनीलाई पनि पैसा मासिने र हराउने डर हुँदैन आफ्नो खातामा बचत हुन्छ ।’

भिडियाे साैजन्य : जीवन विकास

प्रकाशित मिति: सोमबार, ३१ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.