विराटनगर । प्रदेश १–०२–००२ ह ८६२१ नम्बरको अटो विराटनगर महानगरपालिका– १७, रानीका भगतलाल साहले चलाउँछन् । अटोभन्दा अगाडि विद्युतीय रिक्सा (सिटी सफारी) चलाए, सिटी सफारी बजारमा आउनुभन्दा अगाडि उनले पाइडल रिक्सा चलाए । पाइडल रिक्सा भने लामो समयसम्म चलाउन पर्याे ।
भगतलालले पाँच वर्ष दैनिक ५० रुपैयाँ भाडा तिरेर रिक्सा कुदाएका थिए । श्रीमती रामवतीदेवी साह जीवन विकास लघुवित्त वित्तीय संस्थाको सदस्य बनेपछि मात्रै उनले आफ्नै रिक्सा कुदाउन पाए । अहिले उनी अटोको मालिक बनेका छन् । साहलाई पाइडल रिक्सादेखि अटोको मालिक बनाउन जीवन विकास लघुवित्तको लगानी छ ।
२२ वर्षअघि २०५८ सालमा धनपालथान गाउँपालिका–२ बाट बजार विराटनगर आएको साह परिवारले रिक्सा किन्ने हैसियत नभएका कारण पाँच वर्ष भाडाको रिक्सा चलाएर गुजारा गरेको थियो ।
गाउँमा पनि जमिन थिएन, बनीबुतो गरेर गुजारा गर्नुपर्थ्यो । सहज जीवन जिउने आशमा विराटनगर आएका रामवती र भगतलालले सुरुका वर्ष झन् दुःख पाए । कमाएको पैसाले मुस्किलले खान पुग्थ्यो । सपना आफ्नै घरमा बस्ने भए पनि त्यसबेला कोठा भाडा तिर्न पनि धौधौ थियो ।
विराटनगरमा भगतलाल र रामवतीदेवीको परिवार मासिक ३५० रुपैयाँ भाडामा सानो कोठामा बस्यो । दैनिक ५० रुपैयाँ भाडामा रिक्सा कुदाउने श्रीमानले दिनमा ४–५ सय रुपैयाँ कमाउँथे । कहिले खाली हात घर फर्कन पर्थ्यो । २०६३ सालमा रामवतीदेवी साह जीवन विकासमा जोडिएपछि उनीहरुको दैनिकी फेरियो । भगतलालले आफ्नै रिक्सा चलाउन पाए ।
रामवतीदेवी पनि निजी स्कुलमा दिनको २० रुपैयाँ पाउने गरी कार्यालय सहयोगीको काम गर्थिन् । कष्टपूर्ण रुपमा दैनिकी गुजारेकी साह जीवन विकासको सदस्य बनेपछि आफ्ना दुःखका दिन बिस्तारै हराएको बताउँछिन् ।
जीवन विकासको सदस्य बनेकी रामवतीदेवीले पहिलो पटक पाँच हजार रुपैयाँ ऋण लिएर श्रीमान भगतलाललाई सेकेन्डह्यान्ड रिक्सा किनिदिइन् । रिक्सा किनेपछि साहुलाई भाडा बुझाउन परेन, श्रीमानको मेहनतको कमाई आफ्नै भयो । नपढेका कारण दुःख पाएकी रामवतीदेवीले राम्रो शिक्षा दिन दुई छोरालाई गौतमबुद्ध बोर्डिङ स्कुलमा भर्ना गरिन् ।
श्रीमानले कमाएको पैसा जोगाइन्, आफ्नो कमाइले घरखर्च चलाइन् ।
गाउँ छाडेर बजार आएकी रामवतीलाई आफ्नै घर बनाएर बस्ने रहर थियो । तर जग्गा किन्ने पैसा थिएन । रिक्सा कुदाएर श्रीमानले केही पैसा बचाएका थिए, जीवन विकासबाट ५० हजार ऋण र आफन्तसँग सरसापट गरेर दुई लाख भेला पारिन् । त्यो पैसाले उनले ११ धुर घडेरी किनिन् ।
घडेरी किन्दा लिएको ऋणको नियमित किस्ता तिरिन् । जग्गा किन्ने सपना पूरा भएपछि उनले टिनको छानो हालेर सानो घर बनाएर भाडाको कोठा छाडिन्, त्यसपछि विराटनगर आउँदै गर्दा देखेको सपना पूरा भयो ।
रामवतीदेवीले स्कुलको काम छाडेर दाउरा बिक्रीको काम थालिन् । यसमा पनि जीवन विकासले सहयोग गरयो । बाहिरबाट दाउरा ल्याएर बजारमा बिक्री गर्दा राम्रै आम्दानी भयो । रिक्सा चलाएर श्रीमानले पनि पैसा कमाए । त्यसपछि उनले पक्की घर बनाउन सुरु गरिन् । उनको एक तले पक्की घर निर्माणको अन्तिम चरणमा छ ।
‘एकै पटक बनाउने पैसा थिएन, बर्सेनि कमाउँदै घरमा लगाउँदै छु,’ उनी भन्छिन्, ‘अझै पनि बनाइरहेको छु, यो वर्ष सक्ने विचार छ ।’ पक्की घर बनाउन उनले जीवन विकास लघुवित्तबाट पाँच लाख रुपैयाँ ऋण लिएकी छन् ।
१७ वर्षदेखि जीवन विकासको सदस्य रहेकी रामवती जीवन विकाससँग जोडिएपछि आफ्नो प्रगति भएको सुनाउँछिन् । गाउँबाट एकसरो लुगामा बजार पसेकी उनले दुःखको आम्दानी बचत गर्दै अघि बढेकी हुन् । ‘गाउँबाट खुट्टा टेकेरमात्रै आएको थिएँ, ट्वाइलेट जस्तो सानो कोठामा भाडा बस्यौँ,’ उनी भन्छिन्, ‘हिजो दुःख थियो, दुःखपछि सुख आउँदैछ ।’
निम्तस्तरबाट आर्थिक हैसियत माथि उठेपछि उनलाई छरछिमेकीले भन्ने गरेका छन्,‘ पहिले यिनीहरूको परिवार जिरो थियो, अहिले हिरो बन्दैछ ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,540)
जीवन विकासले बोलायो साधारणसभा (1,488)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,453)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,407)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,357)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,266)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (708)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (676)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (667)