बाँझो जग्गा भाडामा लिएर ड्रागन फ्रुटको खेती

Satya Sanchar राष्ट्रिय समाचार समिति

टक्सार । बाँझो रहेका जग्गाको सदुपयोग गर्दै भोजपुरका कृषक फलफूल खेतीमा गर्न थालेका छन् ।

भोजपुर नगरपालिका–१२ टक्सारको पिप्लेमा बाँझो रहेको एक सयभन्दा बढी रोपनी जग्गा भाडामा लिएर ड्रागन फ्रुट खेती गर्न थालेका हुन् । ‘भोजपुर ड्रागन फ्रुट कम्पनी’स्थापना गरी व्यावसायीकरुपमा खेती गरेका हुन् ।

ड्रागन फ्रुटका आठ हजार बिरुवा रोपिएको सञ्चालक एक्सन राईले बताए । यो वर्ष १० लाख आम्दानीको हुने उनको अपेक्षा छ ।

टेम्केमैयुङ गाउँपालिका–८ सल्लेनीमा ४२ रोपनी जग्गामा शम्भु नेपालले ड्रागन फ्रुट र कागती खेती गरिरहेका छन् । बाँझो जमीनमा चार वर्ष अघि ‘दानाबोटे फलपूmल तथा कृषि फर्म’ दर्ता गरी कृषि कर्म सुरु गरेको उनले बताए । नेपालले वार्षिक सात लाखसम्म आम्दानी गर्दै आएका छन् ।

सिँचाई अभाव, बसाइँसराईलगायत कारण बाँझिएका जमिनमा लगाइएको ड्रागन फ्रुट, एभोकाडो, कागती, टिमुर र किवीबाट वार्षिक मनग्य आम्दानी लिन थालेको कृषक कमल भुजेलले बताए ।

जिल्लाको पूर्वीपौवादुङ्मा गाउँपालिकाको छोकिमालामा विगत पाँच वर्षदेखि बाँझिएको ३० रोपनी जग्गामा तीन वर्ष अघि कृषक भुजेलले टिमुर, एभोकाडोलगायतको खेती गर्दै आएका छन् ।

गाउँघरमा रहेका बाँझो जग्गाको सही सदुपयोग गर्न सकिएमा यसले वैदेशिक रोजगारीमा जाने युवाको ध्यानसमेत तान्ने स्थानीय इन्द्र थापाले बताए । अर्का कृषक हरि गौतमले पछिल्लो समयमा देखिएको कृषकमा फलफूल मोहले बाँझिएको जग्गाको सदुपयोग मात्र नभएर आम्दानीसमेत भइरहेको बताए । रासस

प्रकाशित मिति: आइतबार, २० साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.