काजकिरिया सकेकाे छाेरा टुप्लुक्क घरमा पुगेपछि…

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जुन छोराको सडक दुर्घटनामा मृत्यु भएको खबरले परिवारलाई स्तब्ध बनायो, जसको शव चिसाङ खोलामा दाहसंस्कार गरियो र जसकै जुठोका कारण परिवारले यसपालिको दसैँमा टीकासमेत लगाएन, तिनै छोरा दसैँको पूर्णिमाका दिन साँझ टुप्लुक्क घर आइपुगेका छन् ।

घटना मोरङको लेटाङ नगरपालिका–५ खेरुवाका ३६ वर्षीय पदमबहादुर राय क्षेत्रीको हो । मानसिक स्वास्थ्य केही कमजोर रहेका पदमबहादुर बेलाबेला घरबाट हिँड्ने र केही समयपछि आफैँ फर्कने वा परिवारले खोजेर ल्याउने गर्थे । तर, गत माघ महिनामा घरबाट निस्किएपछि उनी लामो समयसम्म सम्पर्कविहीन बनेका थिए ।

कसरी भयो पहिचानमा भूल ?

गत जेठ २६ गते सुनसरीको बराहक्षेत्र नगरपालिका–४ स्थित चतरा–पकली सडकखण्डमा जेम्स चौधरीले चलाएको प्र.१–०४–००१ प ३६०४ नम्बरको मोटरसाइकलको ठक्करबाट एक पुरुष गम्भीर घाइते भएका थिए ।  घाइतेको विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचारका क्रममा जेठ २७ गते दिउँसो मृत्यु भयो ।

पहिचान खुल्न नसकेपछि शवलाई कोशी अस्पतालको शवगृहमा राखियो र प्रहरीले हुलियासहित आफन्तको खोजीका लागि सार्वजनिक सूचना जारी गर्‍यो । लामो समयदेखि हराइरहेका पदमबहादुरको हुलियासँग मिल्दोजुल्दो देखेपछि उनकी आमाले अस्पताल पुगेर उक्त शव आफ्नै छोराको भएको भन्दै सनाखत गरिन् । त्यसपछि जेठ २९ गते बुवा नारायण राय क्षेत्रीले शव बुझेर धार्मिक परम्पराअनुसार स्थानीय चिसाङ खोलामा अन्त्येष्टि गरे । परिवारले उनको काजकिरियासमेत पूरा गर्‍यो ।

दसैँको पूर्णिमामा अनौठो ‘पुनरागमन’

छोरा गुमाएको गहिरो शोकका कारण परिवारले यसपालिको दसैँमा घरमा टीका-जमरा केही पनि गरेन । तर, कोजाग्रत पूर्णिमा (कात्तिक ९ गते) को साँझ पदमबहादुर जीवितै हिँडेर घरको आँगनमा आइपुगे ।

मृत्यु भइसकेको ठानेका छोरालाई अगाडि देख्दा परिवारका सदस्य सुरुमा त आफ्नै आँखालाई विश्वास गर्न नसकेर स्तब्ध भए । उनी जीवितै फर्केपछि परिवारमा हर्षको सीमा रहेन, तर सँगसँगै “त्यसो भए हामीले कसको शव जलायौँ त?” भन्ने भय र अन्योल पनि सुरु भयो ।

मृत्यु संस्कार सम्पन्न भइसकेका व्यक्ति जीवितै फर्केपछि परिवारले धार्मिक विधिअनुसार उनको ‘पुनर्जन्म’को संस्कार गराएको छ ।

छोरा फर्किँदा परिवारमा खुसी छाए पनि अर्काको शव दाहसंस्कार गरिएको विषयले गाउँमा त्रास र संशय पैदा गरेको स्थानीय पत्रकार तथा छिमेकी प्रशान्त निरौला बताउँछन् ।

“मृत्यु संस्कार गरिसकेको छोरो सकुशल फर्किँदा परिवार अत्यन्त खुसी छ,” निरौलाले भने, “तर, जेठमा दुर्घटनामा ज्यान गुमाएका ती व्यक्ति को थिए र अब कानुनी रूपमा के होला भन्ने चिन्ता र डर पनि छ । प्रहरीले सुरुमै शव पहिचानका लागि वैज्ञानिक विधि (डीएनए परीक्षण) अपनाएको भए यस्तो अवस्था आउने थिएन ।”

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर साहको टोली पदमबहादुरको घर पुगेर वस्तुस्थिति बुझेको थियो। पदमबहादुरको मानसिक अवस्था अझै कमजोर रहेका कारण उनी यतिका महिना कहाँ र कसरी बसे भन्ने यकिन हुन सकेको छैन ।

अब के गर्छ प्रहरी ?

जेठको दुर्घटनापछि पदमबहादुरको मृत्यु भएको भन्दै परिवारले सवारी दुर्घटना बिमाबापतको क्षतिपूर्ति रकमसमेत बुझिसकेको थियो। तर, उनी जीवितै भेटिएपछि अब अनुसन्धानलाई कसरी अगाडि बढाउने भन्ने विषयमा प्रहरी पनि नयाँ मोडमा पुगेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार अब कानुनी र प्राविधिक प्रक्रिया सच्याइनेछ।

“परिवारले बिमाबापत प्राप्त गरेको रकम फिर्ता गर्ने कानुनी प्रक्रिया अघि बढाइनेछ,” डीएसपी मिश्रले भने, “सरकारी अभिलेखमा उक्त शवलाई पुनः ‘बेवारिसे’को रूपमा दर्ता गरी सच्याइनेछ र जेठ महिनाको दुर्घटनामा ज्यान गुमाउने वास्तविक मृतकको पहिचानका लागि नयाँ शिराबाट अनुसन्धान सुरु गरिनेछ।”

प्रकाशित मिति: बिहिबार, १३ कार्तिक, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
काजकिरिया सकेकाे छाेरा टुप्लुक्क घरमा पुगेपछि…
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.