‘गर्भमा बच्चा उल्टो बसे प्रसूति गराउँदा जोखिम बढ्छ’

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सामान्यतया प्रसूति गराउँदा सुरुमा बच्चाको टाउको र त्यसपछि खुट्टा बाहिर निस्कने गर्छ । गर्भमा पनि टाउकोमुनि रहेको अवस्थामा बसेको हुनुपर्छ । यस्तो स्थितिलाई बच्चा सुल्टो रहेको भन्ने गरिन्छ । तर त्यस विपरीत बच्चाको टाउको माथि छ र खुट्टा तलतिर छ भने ‘बच्चा उल्टो बसेको’ भन्ने गरिन्छ । यस्तो अवस्थामा के हुन्छ भन्ने जिज्ञासा उठ्नु स्वभाविक हो ।

बच्चा सुल्टो बसेको छ भने नर्मल डेलिभरी हुँदा टाउको निस्कन्छ र त्यसपछि सहज रुपमा शरीर निस्कन्छ । तर बच्चा उल्टो बसेको छ भने खुट्टा, शरीर निस्के पनि टाउको निस्कने बेला गाह्रो हुन्छ । अड्किने जोखिम हुनसक्छ । त्यसैले यस स्थितिमा सजग हुनुपर्छ । तर सबै अवस्थामा उल्टो बच्चा जन्माउन कठिन हुन्छ भन्ने छैन । कति पटकको गर्भ हो, कस्तो अवस्थामा बच्चा रहेको छ र प्रसव गराउने जनशक्ति कस्ता छन् भन्ने कुरामा पनि यो निर्भर गर्छ ।

बच्चाको तौल बढी वा कम भए ?

सामान्यतया गर्भको बच्चा जन्मने बेलामा २.५ देखि ३ किलोग्रामसम्म हुन्छ । बच्चा निकै कम तौलको वा बढी तौलको भए आमा र बच्चा दुवैलाई अप्ठ्यारो हुनसक्छ । कम तौलको बच्चा भए कमजोर हुन्छ । चाँडै कठ्यांग्रिने तथा संक्रमण हुने भय रहन्छ । बढी तौल छ भने रगतमा ग्लुकोजको कमी हुने तथा आमालाई जन्माउन कठिन हुने गर्छ ।

समय नपुग्दै बच्चा जन्माउनु परेमा ?

गर्भको अवधि ४० हप्ताको हुन्छ । तर ३७ हप्ता पूरा भएपछि बच्चा जन्मिए महिना पूरा भएको मानिन्छ । कहिलेकाहीं ३७ हप्ता नपुग्दै पनि बच्चा जन्मिन सक्छ र कुनै बेला गर्भका जटिलताका कारण पनि ३७ हप्ता पनि नपुगी प्रसव गराउनुपर्ने हुनसक्छ ।

उच्च रक्तचापको जटिल अवस्था आएमा, रक्तश्राव सुरु भएमा, कुनै संक्रमणको खतरा बढेमा, कुनै गम्भीर जटिलता थपिएमा आमा र बच्चाको ज्यान जोगाउन पनि अगाडि नै प्रसव गराउनुपर्ने हुनसक्छ । ३७ हप्ता पनि नपुगी बच्चा जन्माउँदा बच्चाको मुख्यरुपमा फोक्सो र खाद्यनलीको विकास र परिपक्वता नभई सकेको हुनसक्छ । त्यस्तै छालामुनिको राम्रो बोसोको पनि कमी हुनसक्छ । यस अवस्थामा बच्चालाई चाँडै चिसो लाग्ने, श्वासप्रश्वासमा समस्या आउने तथा दूध खुवाउन र पाचनमा समस्या आउन सक्छ ।

सुत्केरी अवस्थाको जोखिम ?

सुत्केरी गराउँदा रक्तस्राव त हुने नै भयो । तर कहिलेकाहीं अस्वभाविक रक्तस्राव हुनसक्छ । त्यसबेला अतिरिक्त रगत दिनुपर्ने हुन्छ । यदि रगतको जोहो गर्न सकिएन वा सुत्केरीलाई रगत दिन सकिएन भने त्यसले निकै जटिल अवस्था ल्याउन सक्छ । अत्यधिक रक्तस्राव हुनु अहिलेसम्मको मातृ मृत्युको प्रमुख कारणका रुपमा रहेको छ । यस अवस्थामा रक्तस्राव बढी हुने कारण धेरै छन् । त्यस्तै गर्भावस्थामा यति उच्च रक्तचाप छ भने पनि सुत्केरी गराउँदा समस्या हुने गर्छ ।

सुत्केरी अवस्था पूर्ण रुपमा सुरक्षित भइसकेको छैन हामीकहाँ । अझै पनि नेपालमा मातृ मृत्युदर १५१ प्रति लाख छ, जब कि यो युरोपेली देशहरुमा ३–४ सम्म आइसकेको छ । यसमा पनि अधिकांश मृत्यु सुत्केरी अवस्थामा वा प्रसवको समयमा हुन्छ । यसरी सुत्केरी आमाले ज्यान गुमाउने घटना नरोकिनुमा अनेक कारण छन् ।

कतिले प्रसव प्रक्रियालाई सामान्य र एउटा प्राकृतिक प्रक्रियाका रुपमा लिन्छन् र यसका लागि तयारी गर्दैनन् । तर कति सचेत भए पनि उपयुक्त प्रसूति सेवाको अभावमा ज्यान गुमाउन पुग्छन् । किनभने सबैतिर सहज र सुविधायुक्त अस्पताल छैन । प्रसूति सेवा नहुनु, अस्पतालसम्म पुग्न लामो यात्रा गर्ने बाध्यता हुनु, घरमै सुत्केरी गराउन खोज्नु, दक्ष स्वास्थ्यकर्मी तथा उपकरण अभाव हुनु, घरपरिवारले पूर्वतयारी नगर्नु जस्ता कारणले सुत्केरी अवस्थामा जटिलता आउन सक्छ ।

डा. बालकृष्ण साह, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

प्रकाशित मिति: बुधबार, ०२ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.