हटताली हाट’काे उकुसमुकुस : ‘बालेनसँग विकासकाे आस थियो, बास खोस्न आए’

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपालकाे पहिलाे उद्याेग विराटनगर जुट मिल्सका मजदुरका लागि बनाइएको ‘हटताली हाट’ प्रजातान्त्रीक आन्दोलनको विगुल फुक्ने चोक हो । गिरिजाप्रसाद काेइराला, मनमाेन अधिकारीसहितका नेताले यहीँ चाेकमा रहेकाे बरपिपलकाे फेदबाट प्रजातन्त्रका जनतालाई सडकमा आउन उत्प्रेरित गरे । तर, आज इतिहासको साक्षी रहेको चौतारी वरिपरीका बासिन्दा आफ्नै भविष्यलाई लिएर त्रसित र उकुसमुकुस छन् । स्थानीय प्रशासन मार्फत मिल्सकाे मजदुर क्वाटर खाली गर्ने सूचना जारी भएपछि स्थानीयमा खटपटी सुरु भएकाे हाे ।

दैनिक मजदुरी गर्ने फिराेज शेख आज काममा नगइ हटताली हाटमा आएका थिए । बिहीबार दिउँसो भेटिएका उनले बास उठ्ने चिन्ता रहेकाे बताए । ‘मेरो त जन्म यहीँ हो, बुबाले जुट मिल्समा काम गर्नुभएको थियो,’ उनले भने,‘ हटायो भने कहाँ जानू ?’

बिहीबार दिउँसो चाैताराेमा भेटिएकी जयरा खातुन पनि चिन्ताले चाेकमा आएकी थिइन् । ६२ वर्षीय उनले आफै पनि मिल्समा काम गरिन् । उनका श्रीमानले पनि मिल्समा काम गरे । बस्ती हटाउने सूचनाले उनी त्रासमा छिन् । कहाँ जाने भन्ने चिन्ता उनलाई छ । बिहीबार दिउँसाे चाेकमा बालबालिकासहित महिलापूरुष र वृद्धवृद्धा भेला भएका थिए । उनीहरुको एउटै गुनासो थियो,‘ हामीले भोट दिएर बनाएको सरकारले हाम्रै छानो उजाड बनाउँदैछ ।’

स्थानीय कमला मगर हाटताली हाटमा एक्लै बस्छिन् । जुट मिल्समा काम गर्ने श्रीमान र एउटा छोराको मृत्यु भइसकेको छ । जेठा छोरा बेपत्ता छन् । पसल गरेर गुजारा चलाउँदै आएकी उनले डोजर चलाउनुअघि जहर( विष) दिन आग्रह गरिन् । ‘ बालेन सरकारले हामीलाई हटाउनु भन्दा अगाडि जहर दिनुपर्यो, हामी खाएर मर्न तयार छु,’ उनले भनिन्,‘ मेरो श्रीमान यहीँ विते छाडेर कहाँ जानु ? हामी घरदेखि बेघर भएर बस्न सक्दैनौं ।’

विकासकाे आश गरेका नेताबाट बास खाेस्ने प्रयास भएकाे उनकाे गुनासाे छ । ‘युवा सरकार आउछ, हामीले राेजगार पाउँछाै‌ भनेर नाती नातिनाले भनेपछि बालेन सरकारलाई भाेट दिएकाे हाे,’ उनले भनिन्,’ छाेरा नाती सम्झेर भाेट दियाैं । आज हाम्रै घर उजाड्न आउँदा के गर्ने कहाँ जाने ?’

जुट मिल्स २०७० सालदेखि पूर्णरुपमा बन्द छ । मिल्स बन्द हुनुअघि मजदुरकाे बक्याैता भुक्तानी गरेकाे थियाे । तर, मजदुर क्वाटरले क्वाटर छाडेनन् ।

स्थानीय बादल चन्द मजदुर क्वाटर खाली गराउने भए बसाेबास गर्नेहरुलाई बैकल्पिक व्यवस्थापन गर्नुपर्ने बताए । ‘हामीलाई बसोबास गर्ने अर्काे ठाउँ दियो भने हुन्छ, जान्छौ.,’ उनले भने,‘ हामीलाई बस्ने र रोजगारीको ठाउँ दिने हो भने हट्छौं ।’ ७० वर्षीय वृद्ध कृष्णबहादुर क्षेत्रीले पनि विकल्प बिना छाड्ने पक्षमा छैनन् ।

विराटनगर जुट मिल्सका सुपरभाइजर मनोज खड्काका अनुसार हटताली हाटसहित मिलको मजदुर क्वाटर क्षेत्रमा ४०० बढी परिवार बसिरहेका छन् । ‘सरकारले सबै मजदुरको हिसाब फरफराक गरेपछि केहीले मजदुर क्वाटर छाडे, केही बसिरहे, क्वाटर क्षेत्रमा अरु मानिस आएर पनि बसे,’ उनले भने,‘ हाटताली हाट क्षेत्रमा केही बास्तविक सुकुम्बासी छन्, केही चाहिँ भाडा लगाएर खानेहरु पनि छन् ।’

उनका अनुसार ६९ बिघा क्षेत्रमा फैलिएको विराटनगर जुटमिल्सको जग्गा मध्ये उद्योग भएको क्षेत्रमा ४६ विघा छ । हरिनगर भट्टा, हाटताली हाट, दक्षिण गेट र दरैयाबस्तीमा १४ विघा भन्दा बढी जग्गा छ । उद्योग क्षेत्र बाहेकको जग्गामा सकुम्बासी बसेका छन् । मिल्स संरचनामा ८० वटा साना ठूला ठहरा पनि छन् । वर्षाै पहिले मजदुरका लागि व्यापार गर्न दिइएको ति टहरामा बसेकाहरुले भाडा तिरेका छैनन । भाडा तिर्न ताकेता गर्दा पनि अटेर गरिरहेको उनले बताए । सरकारले संरचना अतिक्रमण गरेर बसेकाहरुलाई हटाउनका लागि मिल्स व्यवस्थापनले सहजीकरण गर्ने उनले बताए ।

माेरङका सहायक प्रमुख जिल्ला अधिकारी सराेज काेइराला जुट मिल्सकाे संरचनामा बसाेबास गर्नेहरुकाे विवरण संकलन भइरहेकाे बताउँछन् । तत्काल बस्ती खाली नगर्ने बताउँदै उनले विवरण संकलनपछि प्रक्रियागत रुपमा अघि बढ्ने बताए । ‘त्यहाँ बसाेबास गर्नेहरु सुकुम्बासी रहे नरहेकाे विवरण माग गरेका छाै‌,’ उनले भने,’ बस्ती हटाउने हुँदा स्थानीय प्रशासन र मिल्स प्रशासनबाट प्रक्रिया अघि बढ्छ्, हामीले सपाेर्ट गर्ने हाे ।’

प्रकाशित मिति: बिहिबार, १७ बैशाख, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.