लघुवित्तको सहयोगमा उद्यमी बनेकी गीताकुमारी (भिडियो)

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सँधै घरधन्दामा व्यस्त रहने विराटनगर महानगरपालिका– ६ गीताकुमारी मण्डल उद्यमी बनेकी छन् । घरमा गार्मेन्ट उद्योग खोलेकी उनी आफू स्वरोजगार भएकी छन् , अरुलाई पनि रोजगारी दिएकी छन् । आँगनमा खोलेको उद्योगबाट आम्दानी पनि राम्रो गरिरहेकी छन् ।

पहिले गीताकुमारीलाई उद्यमी बन्छु भन्ने लागेको थिएन् , गार्मेन्टको उद्योग खोल्छु भन्ने सोचेकी पनि थिइनन् । साहुको गार्मेन्ट उद्योगमा काम गर्ने उनका श्रीमानको कमाईले परिवार जसोतसो चलेको थियो । श्रीमानले घरमा कहिलेकाँही आफ्नै उद्योग खोल्न पाए हुने कुरा गर्थे । तर घरेलु उद्योग खोल्नलाई पैसा थिएन् , गार्मेन्ट उद्योगका लागि चाहिने मेसिन महँगो पर्थ्याे ।

लघुवित्तले ऋण दिने भएपछि गीताकुमारीले उद्योग खोल्ने आट गरिन् । करिब चार वर्षअघि उनले घरकै आँगनमा बार लगाएर गार्मेन्टको घरेलु उद्योग खोलिन् ।अहिले गीताकुमारीसँगै उनका श्रीमान पनि घरमै बसेर काम गर्छन्, सिजन अनुसार ४–५ जनालाई रोजगारी पनि दिएका छन् ।

साहुको काम गर्दा गीताकुमारीका श्रीमानले ३०–३५ हजार रुपैयाँ मासिक आम्दानी गर्थे । त्यो आम्दानी घरखर्च चलाउँदै सकिन्थ्यो । घरमै उद्योग खोलेपछि आम्दानी बढेको छ,घरखर्च राम्रोसँग चलेको छ, बचत पनि भइरहेको गीताकुमारीले बताइन् ।

गार्मेन्ट उद्योगकै आम्दानीबाट गीताकुमारीले पक्की घर बनाएकी छन् ।‘गार्मेन्टबाटै घर बनाएको छु,’ उनी भन्छिन्,‘ पहिले कच्ची घर थियो, अहिले छत ढलाई गरेर पक्की बनाएको छु ।’

गीताकुमारीलाई व्यवसाय विस्तारका लागि जीवन विकास लघुवित्र् वित्तीय संस्थाले सहयोग गरिरहेको छ । जीवन विकाससँग कारोबार गर्न थालेपछी उनी खुसी छन् । उनलाई आवश्यकता अनुसार व्यवसाय विस्तार गर्नका लागि जीवन विकासले ऋण सहयोग गर्छ । गीताकुमारी भन्छिन्,‘चाहिएको बेला ऋण लिएर व्यापार गर्छु ।’

लघुवित्तको सहयोगमा उद्यमी बनेकी गीताकुमारीले लघुवित्तबाटै आफ्नो नाम लेख्न पनि सिकेकी छन् । बाल्यकालमा स्कुल जान नपाएकी उनले जीवन विकासको सदस्य भएपछि आफ्नो नाम लेख्न जानेकी हुन् ।

समाजमा निर्धक्क रुपमा बोल्न सिकेकी उनले लघुवित्तबाट व्यवसायीक ज्ञान र सीप पनि सिकेकी छन् । घरको आँगनबाट सुरु गरेको गार्मेन्ट व्यवसायलाई विस्तार गरिरहेकी उनी गार्मेन्ट उद्योगलाई बढाउने योजनामा छिन् । ‘अहिले त घरमै छ, यसलाई बढाएर ठूलो बनाउँछु,’ उनी भन्छिन्,‘फाइदा पनि राम्रै भइरहेको छ ।’

प्रकाशित मिति: शुक्रबार, २८ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.