विराटनगर । ‘अष्ट्रेलिया’ धेरै नेपाली युवालाई लोभ्याउने देशको नाम । धेरै युवाको गन्तब्यको देश पनि हो । मुलुकमा राम्रै ओहदामा रहेका चिकित्सकदेखि कामकाजीहरुले देश छाड्ने हुँदा सपना देख्ने देश हो अष्ट्रेलिया ।
बलियो सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य तथा रोजगारीको आकर्षक ग्यारेन्टी भएको मुलुक भएकै कारण हजारौं युवा अष्ट्रेलिया पुग्न मरिहत्ते गरिरहेका हुन्छन् । त्रिभुवन अन्तरराष्ट्रीय विमानस्थलमा दिनहुँ लाग्ने ठूलो लाइनले पनि यो तथ्य बताउँछ । तर, मुलुकका सबैजसो यु्वा अष्ट्रेलिया भन्ने बित्तिकै लोभिन्छन् भन्ने ठान्नु चाहिँ गलत नै हुन्छ । ३६ वर्षीय ओमप्रकाश चौधरी र ३१ वर्षीय मनिषा झा यस्ता दम्पत्ति छन्, जसले अष्ट्रेलियाको सुखसयल त्यागेर मातृभूमिमै उद्यम गर्ने साहसिक बाटो रोजे । उनीहरुको पुस्ता दिनहुँ विदेशिएका बेला यी दुई जना भने नेपाल फर्केर उद्यममा लाग्ने प्रण गरिरहेका थिए । सम्भवतः त्यही दृढ पै्रतिबद्धताकै परिणाम हुनुपर्छ, यो अष्ट्रेलिया रिटर्न जोडी यतिबेला नेपालकै मेहनत गरिरहेको छ ।
उनीहरुका लागि सफलताको यो स्वादमा आफ्नोपनको मिठास छ । मातृभूमिको सुवाष छ । त्यो भन्दा बढी केही छ भने आत्मसन्तोषको अवर्णनीय अनुभव ।
कुनै बेला अष्ट्रेलियामै बस्ने योजनासहित पुगेका उनीहरु नेपालमै केही गर्ने सोच बोकेर सन् २०१७ मा फर्किएका हुन् ।
अष्ट्रेलियाको पीआर(स्थायी बसोबास) त्यागेर फर्किएका ओमप्रकाश र मनिषा विराटनगर महानगरपालिका– १२ मा गार्मेन्ट उद्योग सञ्चालन गरिरहेका छन् । देशको मायाले अष्ट्रेलियामा खुसी हुन नसकेको जोडी गार्मेन्टको व्यापारमा रमाइरहेको छ ।
कपडा बनाउने आधुनिक मेसिन घरमै राखेका छन् । बजारको माग अनुसारका कपडा उत्पादन गर्न १२ जना कामदार छन् । तीन वर्षदेखि चलिरहेको उद्योगमा सिजन र डिजाइन अनुसारका कपडा उत्पादन गरी बजारमा पठाउँछन् । कमाई पनि रामैै भइरहेको छ ।
पुरानो घर जनकपुर भएका ओमप्रकाश कक्षा १२ को परीक्षा दिएपछि सन् २००६ मा अष्टेलिया पुगेका थिए । १८ वर्षको उमेरमै अष्ट्रेलिया पुगेका उनले अष्ट्रेलियाको सीपीए कोर्ष अध्ययन गरे । अध्ययनपछि राम्रो जागिर पनि पाए । अष्ट्रेलियाको बसाई र रोजगारी धेरै राम्रो थियो । देशको मायाले भने पिरोली रह्यो । पिआर पाएपछि सन् २०१४ मा श्रीमती मनिषालाई पनि अष्ट्रेलिया लगे । अष्ट्रेलियामा उनीहरुको छोरो जन्मियो । त्यसपछि देशको मायाले झन पिरोल्यो । नेपालमै केही गर्ने सोचसहित सन् २०१७ ओमप्रकाश र मनिषा घर फर्किने निर्णयमा पुगे । अष्ट्रेलियाको सुखसयल त्यागेर एक वर्षीय छोरो बोकेर घर फर्किए ।
घर फर्कदा व्यापार गर्ने सोचमा थिएनन् ओमप्रकाश र मनिषा । अष्ट्रेलियामा सीपीए गरेका ओमप्रकाश नेपालमा ‘सीए’चार्टर एकाउन्टेन्टको लाइसेन्स लिएर काठमाडौँ बस्ने योजनामा थिए । तर सीपीए पढेका उनले नेपालको सीएको लाइसेन्स परीक्षा दिन पाएनन् । कानुनी उल्झन देखाउँदै उनलाई लाइसेन्स परीक्षामा रोकिएको थियो । यो प्रक्रियामा झण्डै दुई वर्ष बित्यो । ‘विदेशमा हुँदा राष्ट्रियताको भावना धेरै थियो, नेपालमै गएर केही गर्छु भनेर सबै छाडेर आइयो,’ उनले भने,‘ यताबाट(नेपालबाट) सीए चाहिँ सिपिएमा जान बाटो रहेछ, सिपिएबाट यता सिएमा आउने बाटो चाहिँ सम्झौतामा खोलेको छैन भन्ने जवाफ दिए, त्यतिकै दुई वर्ष भुलाई दिए ।’ सरकारी निकायले चाडै समस्या सामधान गर्ने बताएपछि दुई वर्षसम्म टुङ्गो लागेन् । त्यसपछि व्यापार गर्ने निर्णयमा पुगे ।
गार्मेन्टको कामका बारेमा ओमप्रकाशलाई थाहा थिएन् । मनिषाका बुबाले विराटनगरमा गार्मेन्टको काम गरेका थिए । ओमप्रकाश र मनिषा त्यहीँ व्यापारलाई अंगाल्ने निर्णय गरे । सन् २०१९ मा छोराको नाममा ‘ओमन्स गार्मेन्ट एण्ड स्वेटस’ उद्योग स्थापना गरे । गार्मेन्टको काम गर्दा सुरुमा उनीहरु पाइला पाइलामा ठगिए । व्यापार मन्दीले थलियो । तर पनि हरेस खाएनन्, आफ्नो कर्ममा लागिरहे । अहिले बजार राम्रो छ, कारखानामा नयाँ मेसिन र कामदार पनि थपेका छन् । उद्योगमा ६० लाख भन्दा बढी लगानी गरिसकेका छन् । मनिषा भन्छिन्,‘अहिले व्यापार राम्रो छ,फेरि विदेश जाने चाहाना छैन ।’ उनका अनुसार पछिल्लो ७–८ महिना व्यापारमा मन्दी थियो । जाडो सिजनपछि भने उद्योग राम्रोसँग चलिरहेको छ ।
गार्मेन्ट उद्योग सञ्चालनका लागि उनीहरुले जीवन विकास लघुवित्तबाट ऋण सहयोग लिइरहेका छन् । लघुवित्तमा जोडिएपछि व्यापार विस्तार र पूँजी परिचालनमा सजिलो भएको उनले बताइन् । वि.स. २०७७ साल चैत ३ गते मनिषा झा जीवन विकासको सदस्य बनेकी थिइन् । जीवन विकासको सहयोगले काम गर्न सहज भएको उनको अनुभव छ ।
लघुवित्तबाट मनिषाले सुरुमा ५० हजार ऋण लिएकी थिइन् । नियमित किस्ता तिरेकी उनले व्यापार बढाउन थप ऋण पाइन् । जसले उद्योगमा सामान थप गर्न र उत्पादनलाई बजारसम्म पुर्याउन सहज भयो । ‘जीवन विकासमा जोडिएपछि काम गर्न सहज भएको छ,’ मनिषा भन्छिन्,‘ सहज रुपमा ऋण पाएका छौं, घरबाटै किस्ता बुझाइरहेका छौं ।’
ओमप्रकाशका आनुसार सीएको लाइसन्स परीक्षा दिन पाएको भए उनीहरु गार्मेन्ट व्यवसायमा आउने थिएनन् ।‘लाइसेन्स परीक्षा दिन पाएको भए यहाँ आउने थिएन्,’ ओमप्रकाश भन्छन्,‘डाइरेक्सन नै अर्के हुन्थ्यो, काठमाडौमा बसाई हुन्थ्यो ।’ गार्मेन्ट उद्योग सञ्चालन गरिरहेका ओमप्रकाशलाई देशको अवस्था देखेर बेला बेला अष्ट्रेलिया नै फर्काै कि भन्ने झोक चल्छ । तर परिवार र देशको मायाले उनलाई नेपालमै कर्म गर्न उत्प्रेरित गर्छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,152)
जीवन विकासले बोलायो साधारणसभा (1,078)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,065)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (998)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (967)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (872)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (442)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (332)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (283)