केन्द्र र प्रदेशमा सत्ता र समीकरण फेरिदा पनि नफेरिएका परशुराम खापुङ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । २३ कात्तिक २०७८ मा तत्कालीन १ नम्बर (हाल कोशी) प्रदेशको प्रमुखमा नियुक्त हुँदै गर्दा परशुराम खापुङले आफ्नो पाँच वर्षे कार्यकाल पूरा होला भन्ने सायदै सोचेका थिए । तर, पाँच वर्षे कार्यकाल पुरा गरेर उनी बिदा हुँदैछन् ।

केन्द्रमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले उनलाई जनता समाजवादी पार्टी नेपालको कोटाबाट प्रदेश प्रमुख बनाएको थियो । राजनीतिक अस्थिरता, पटक–पटक फेरिने सत्ता समीकरण र संघीय सरकार फेरिनासाथ प्रदेश प्रमुख फेर्ने प्रवृत्तिका कारण खापुङले विराटनगर आउँदा निकटस्थहरूसँग भन्ने गर्थे, ‘फिर्ता नबोलाएसम्म त काम गर्ने हो ।’ तर, सबै आशंका र राजनीतिक उथलपुथललाई चिर्दै खापुङले पाँच वर्षे संवैधानिक कार्यकाल सफलतापूर्वक पूरा गरेका छन् ।

नेपालमा संघीयता कार्यान्वयन र संविधान जारी भएयता पाँच वर्षको पूर्ण कार्यकाल काम गर्ने उनी पहिलो प्रदेश प्रमुख बनेका छन् । उनी कात्तिक २४ गते आफ्नो जिम्मेवारी पूरा गरी बिदा हुँदैछन् । उनलाई आइतबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिदाइ भेट गरेका छन् । भेटका क्रममा कार्कीले पाँच वर्षे सेवाका लागि धन्यवाद ज्ञापन गरेका थिए ।

उथलपुथलमा पनि अडिग

खापुङ कोशीको प्रदेश प्रमुख बनेयता देशको राजनीतिमा अनपेक्षित उथलपुथल भएका छन् । केन्द्रमा पटक–पटक सत्ता समीकरण र गठबन्धन फेरिए । शेरबहादुर देउवापछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओली प्रधानमन्त्री बने । तर, केन्द्रमा सत्ताको नेतृत्व जसको हातमा पुगे पनि कोशीमा खापुङको पद संकटमा परेन ।

प्रदेशको अवस्था झन् अस्थिर थियो । खापुङकै कार्यकालमा कोशी प्रदेशले पाँच पटक सरकार फेरिएको देख्यो । उनले २०७९ सालको दोस्रो प्रदेशसभाको निर्वाचन पछि हिक्मतकुमार कार्की, उद्धव थापा र केदार कार्की नेतृत्वको फरक–फरक राजनीतिक विचारका सरकारहरूसँग काम गरे ।

कोशी प्रदेश नामकरणको आन्दोलन, संसद्को अंकगणितीय जटिलता र पटक–पटक बनेका अल्पमत र बहुमतका सरकारको खिचातानीमा पनि उनी ठूलो संवैधानिक विवादमा तानिएनन् । तर, उनले सरकार गठनका लागि गरेको दुई वटा निर्णयविरुद्ध सर्वाेच्च अदालतमा रिट परेको थियो ।

तत्कालीन सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग गरी बहुमत जुटाएर उद्धव थापा नेतृत्वमा गठन गरेको सरकार सर्वाेच्च अदालतले भङ्ग गरिदियो । एमाले दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटको सुनुवाइ गर्दै सर्वाेच्च अदालतले २०८० साउन ११ गते सरकार गठन प्रक्रिया नमिलेको भन्दै उल्टाइदिएको थियो ।

त्यसपछि खापुङले संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीलाई पदमुक्त गर्दै एमालेका हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । यो निर्णयविरुद्ध केदार कार्की सर्वाेच्च अदालत पुगेका थिए । सर्वाेच्च अदालतले २०८१ असार १७ गते केदार कार्कीको रिट खारेज गरिदियो ।

त्यसबाहेक ठूला राजनीतिक विवादमा उनी परेनन् । तर पछिल्लो समय दशैंमा घरमा सुरक्षाकर्मीबाट पिर्के सलामी लिएपछि भने उनको आलोचना भयो ।

सरल, भद्र स्वभावका कारण खापुङले सत्ता र प्रतिपक्ष दुवै पक्षसँग सन्तुलित सम्बन्ध कायम राखेको नेताहरु बताउँछन् ।‍ ‘दलगत रुपमा केही असन्तुष्टि रहेपनि उहाँले संवैधानिक दायित्व कुशलतापूर्वक निर्वाह गर्नुभयो,’ नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो भन्छन्,’ प्रदेश र संघीय सरकारसँग पनि उहाँले सन्तुलित सम्बन्ध राख्नुभयो ।’ प्रदेशमा आएका तीन प्रदेश प्रमुख मध्ये खापुङ उत्कृष्ट रहेको उनले बताए । उनी भन्छन्, ‘संवैधानिक दायित्व भन्दा बाहिर जानुभएन ।’

नेकपा एमाले प्रदेश सांसद तथा पूर्वमन्त्री रेवतीरमण भण्डारी पनि खापुङले संवैधानिक दायित्व कुशलतापूर्वक पुरा गरेको बताउँछन् । ‘निर्णय गर्नुपर्दा उहाँले परिपक्कता देखाउनुभयो, कन्फ्युजन भएको विषयमा परामर्श गर्नुहुन्थ्यो,’ उनी भन्छन्, ‘उहाँले संघ र प्रदेशमा सन्तुलित र परिपक्क सम्बन्ध बनाउनु भयो ।’

प्रदेश प्रमुखको रुपमा पाँच वर्षे कार्यकाल पूरागर्दै गर्दा उनले संविधान कार्यान्यवनको पक्षमा सकारात्मक पहल गरेको उनले बताए ।

नेपालको संविधान २०७२ को धारा १६३ देखि १७४ सम्म प्रदेश प्रमुखको योग्यता, काम, कर्तव्य, अधिकार र पदावधिको व्यवस्था छ । संविधानले पाँच वर्षको पदावधि तोके पनि अधिकांश प्रदेश प्रमुखहरू राजनीतिक प्रतिशोधको सिकार बन्दै आएका बेला खापुङले भने संविधानको भावनाअनुसार नै पूर्ण कार्यकाल पूरा गरेर काठमाडौं फर्कने तयारी गरेका छन् ।

२००९ सालमा तेह्रथुमको मेन्छ्यायेम–५ मा जन्मिएका खापुङको राजनीति राजावादी लाइनबाट सुरु भएको थियो । पछि उनी वामपन्थी आन्दोलनमा जोडिएका थिए । २०४३ सालमा तेह्रथुमबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका खापुङ २०४६ सालको जनआन्दोलनका बखत खानेपानी सहायक मन्त्री बनेका थिए ।

प्रदेशमा अस्थिरताको शृङ्खला

कोशी प्रदेशमा खापुङले पाँच वर्ष बिताउँदा अन्य प्रदेशहरू भने प्रदेश प्रमुख फेरबदलको अखडा बने । संघीयता कार्यान्वयनको अवधिमा कोशीमा हालसम्म तीन जना मात्र प्रदेश प्रमुख फेरिएका छन् । कोशीको संस्थापक प्रदेश प्रमुख डाक्टर गोविन्दबहादुर तुम्बाहाङपछि सोमनाथ अधिकारी ‘प्यासी’ र त्यसपछि खापुङ आएका थिए । तर, मधेश प्रदेशमा भने यो अवधिमा ६ जना प्रदेश प्रमुख फेरिए ।

मधेशमा रत्नेश्वरलाल कायस्थ, तिलक परियार, डा. राजेश झा ‘अहिराज’, हरिशंकर मिश्र, सुमित्रा सुवेदी भण्डारी हुँदै हाल सुरेन्द्रलाभ कर्ण कार्यरत छन् ।

बागमती प्रदेशमा अनुराधा कोइराला, विष्णुप्रसाद प्रसाईं र यादवचन्द्र शर्मा हुँदै हाल दीपकप्रसाद देवकोटा प्रदेश प्रमुख छन् । गण्डकीमा बाबुराम कुँवर, अमिक शेरचन, सीताकुमारी पौडेल, पृथ्वीमान गुरुङ हुँदै हाल डिल्लीराज भट्ट छन् ।

लुम्बिनी प्रदेशमा उमाकान्त झा, धर्मनाथ यादव र अमिक शेरचनपछि हाल कृष्णबहादुर घर्तीमगर प्रदेश प्रमुख छन् । अमिक शेरचनले गण्डकी र लुम्बिनी दुवै प्रदेशमा प्रमुखको रूपमा काम गरेका थिए ।

कर्णाली प्रदेशमा दुर्गाकेशर खनाल, गोविन्दप्रसाद कलौनी र तिलक परियारपछि हाल यज्ञराज जोशी छन् । सुदूरपश्चिममा मोहनराज मल्ल, शर्मिलाकुमारी पन्त, गङ्गाप्रसाद यादव, देवराज जोशी हुँदै हाल नजिर मियाँ कार्यरत छन् ।

अन्य प्रदेशका अधिकांश प्रदेश प्रमुखहरूले राजनीतिक फेरबदलका कारण दुई वर्ष पनि पूरा काम गर्न नपाई बिदा हुनुपरेको इतिहास छ । कोशी प्रदेशबाट परशुराम खापुङले पाँच वर्षे कार्यकाल पूरा गर्नु संघीयता अभ्यासको सकारात्मक उदाहरण भएको नेताहरु बताउँछन् ।

प्रकाशित मिति: मङ्गलबार, १८ कार्तिक, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
विराटनगरमा प्रशासनले हाेटल सञ्चालनकाे समय ताेकिदिएपछि मुख्यमन्त्रीकाे असन्तुष्टि
केन्द्र र प्रदेशमा सत्ता र समीकरण फेरिदा पनि नफेरिएका परशुराम खापुङ
नेपालमा बिहीबारदेखि ‘अर्नब’काे असर, आइतबारबाट मात्रै माैसम खुल्ने
मोरङमा आधा किलाे ब्राउन सुगर समात्न प्रहरीले गोली चलायो, दुई जना घाइते, पस्तोलसहित तीन पक्राउ
काजकिरिया सकेकाे छाेरा टुप्लुक्क घरमा पुगेपछि…
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
© 2024 Satyasanchar. All Rights Reserved.