नेपालमा बिहीबारदेखि ‘अर्नब’काे असर, आइतबारबाट मात्रै माैसम खुल्ने

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को असर नेपालमा बिहीबारदेखि देखिएकाे छ । यसको प्रभावले शुक्रबार र शनिबार देशका विभिन्न क्षेत्रमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना छ । मौसममा भने आइतबारदेखि क्रमिक सुधार आउने पूर्वानुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार (आज) कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्छ । कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका अधिकांश तथा अन्य भू–भागका धेरै स्थानमा पनि वर्षा र हिमपातको सम्भावना छ ।

विशेषगरी कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ । उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपातसँगै हिमआँधी र हिमपहिरोको जोखिमसमेत औँल्याइएको छ । मधेश, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने सम्भावना छ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार शुक्रबार अपराह्नदेखि रातिसम्म कोशी र बागमतीका धेरै स्थानमा भारी वर्षा हुन सक्छ । शनिबारदेखि प्रणालीको प्रभाव कमजोर हुँदै जाने र आइतबारदेखि मौसममा सुधार देखिने सम्भावना रहेको उनले बताए ।

शनिबार पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना छ । यी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि वर्षा र हिमपात हुन सक्छ । शनिबार रातिदेखि भने वर्षा हुने क्षेत्र क्रमशः घट्दै जानेछ ।

आइतबार र सोमबार देशभर आंशिक बदली रहने तथा हिमाली र पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने विभागले जनाएको छ । तराई, उपत्यका र खोँचका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।

बुधबार बिहान भारतको आन्ध्रप्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको चक्रवात उत्तर–उत्तरपश्चिमतर्फ अघि बढ्ने क्रममा कमजोर भएर गहिरो न्यूनचापीय प्रणालीमा परिणत भएको थियो । यही प्रणालीको प्रभावले बिहीबारदेखि नेपालका विभिन्न क्षेत्रमा बदली र वर्षाको अवस्था सिर्जना भएको हो ।

चक्रवात कमजोर भए पनि त्यसको प्रभाव तत्काल समाप्त नहुने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । विभागका प्रवक्ता विभूति पोखरेलले वर्षा, हिमपात र हावाहुरीको जोखिम कायमै रहेकाले आवश्यक सावधानी अपनाउनुपर्ने बताइन् ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै सरकारले सुरक्षा निकायलाई उच्च सतर्कतामा राखेको छ । विपद् प्रतिकार्य कमाण्ड पोष्टको बिहीबार बसेको बैठकले जोखिमयुक्त जिल्लाको अवस्थाका बारेमा निरन्तर जानकारी लिन, नागरिकलाई सचेत गराउन र आवश्यक परे तत्काल उद्धार तथा प्रतिकार्यमा खटिन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्वतारोहण र पदयात्रा नगर्न आग्रह गरेको छ । यात्रामा निस्किसकेकालाई सुरक्षित स्थानमा बस्न र जोखिमपूर्ण यात्रा नगर्न सुझाव दिइएको छ । किसानलाई समेत कात्तिक १४ गतेसम्म धान नकाट्न भनिएको छ ।

वर्षाका कारण पहिरो जाने, सडक अवरुद्ध हुने तथा हवाई यातायात प्रभावित हुन सक्ने जोखिम छ । त्यसैले यात्राअघि सडकको अवस्था बुझ्न र सम्बन्धित जिल्ला प्रहरी तथा प्रशासनसँग समन्वय गरेर मात्रै सवारी सञ्चालन गर्न यातायात व्यवसायीलाई आग्रह गरिएको छ । मौसम प्रतिकूल रहने अवधिमा नदी तथा खोलानाला आसपासका बासिन्दा, पहिरोको जोखिममा रहेका बस्ती र हिमाली क्षेत्रमा रहेका नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, १४ कार्तिक, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
विराटनगरमा प्रशासनले हाेटल सञ्चालनकाे समय ताेकिदिएपछि मुख्यमन्त्रीकाे असन्तुष्टि
केन्द्र र प्रदेशमा सत्ता र समीकरण फेरिदा पनि नफेरिएका परशुराम खापुङ
नेपालमा बिहीबारदेखि ‘अर्नब’काे असर, आइतबारबाट मात्रै माैसम खुल्ने
मोरङमा आधा किलाे ब्राउन सुगर समात्न प्रहरीले गोली चलायो, दुई जना घाइते, पस्तोलसहित तीन पक्राउ
काजकिरिया सकेकाे छाेरा टुप्लुक्क घरमा पुगेपछि…
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
© 2024 Satyasanchar. All Rights Reserved.