प्रतिनिधि सभामा सरकारको चर्को आलोचना, सत्ता पक्षाकाे प्रतिवाद

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाउँदै चर्को आलोचना गरेका छन् । राष्ट्रियता, जनजीविका, मानव अधिकार र पछिल्ला केही शंकास्पद घटनालाई लिएर प्रतिपक्षी सांसदहरूले सरकारमाथि प्रश्न गरेका हुन् ।

सोमबार राजधानीका केही सञ्चारमाध्यम र राजनीतिक नेताहरूको घर अगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको घटनालाई लिएर सदनमा सरकारको विरोध भयो । प्रतिपक्षी सांसदहरूले यो कार्य सरकारकै इशारामा भएको दाबी गर्दै यसलाई ‘राज्य आतंक’को संज्ञा दिएका छन्  ।

बैठकमा बोल्दै नेकपा एमालेका सांसद गणेश सिंह ठगुन्नाले नेपालको भौगोलिक अखण्डता र स्वाभिमानको रक्षा गर्ने दायित्वबाट सरकार विमुख भएको आरोप लगाए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्रबहादुर शाहीले सरकारले प्रश्न सोध्ने नागरिकमाथि दमन गरेको आरोप लगाए । राज्य संरक्षित व्यक्तिहरू परिचालन गरी सञ्चार गृह र विपक्षी नेताहरूको गेटमा गाडी राखेर तर्साउन खोजिएको उनको दाबी थियो । ‘प्रधानमन्त्री र गृहमन्त्रीले नै ट्राफिक नियम उल्लंघन गरिरहनुभएको छ, तर आम नागरिकलाई भने सास्ती दिइन्छ । कानुन सबैका लागि बराबर हुनुपर्छ ।’ उनले भने ।

आत्मदाह गरेका गणेश नेपालीको उपचारमा सरकारले लापरबाही गरेको र उनलाई अपराधीजस्तो व्यवहार गरिएको उनकाे आराेप छ ।

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीको विगतको अभिव्यक्तिको स्मरण गराउँदै अहिलेको कार्यशैलीको आलोचना गरे । ‘हिजो काठमाडौंको मेयर हुँदा सिंहदरबार जलाइदिने धम्की दिने व्यक्ति आज देशको सर्वोच्च पदमा बसेर राष्ट्रियताको सवालमा गैरजिम्मेवार बन्नुभएको छ,’ राईले  भने,’रोस्टममा उभिएर सीमा मिचिएको कुरालाई हलुका रूपमा टिप्पणी गर्दा छिमेकीले झनै मिच्ने डर पैदा भएको छ ।’

नेपाली कांग्रेसका सांसद निश्कल राईले सरकार १८२ सिटको बहुमतको अहंकारमा चलेको र यसले संविधान र कानुन मिच्ने ‘लाइसेन्स’ नदिने बताए । सरकारले नागरिकको मुख थुन्ने र अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउने प्रयास गरेको उनको आरोप थियो ।

प्रतिपक्षको चर्को आलोचनापछि सत्ता पक्षका सांसदहरूले ती आरोपहरूको खण्डन गरेका छन् । सांसद टीका संग्रौलाले राज्यले नै गाडी पार्किङ गराएको भन्ने आरोप निराधार रहेको भन्दै त्यसको प्रमाण पेश गर्न चुनौती दिइन् । एउटा व्यक्तिको निजी क्रियाकलापलाई लिएर सिङ्गो राज्यलाई दोषी देखाउनु गलत भएको उनकाे भनाइ थियाे ।  रास्वपाका सांसदहरूले प्रतिपक्षी नेताहरूले प्रयोग गरेको ‘लासको सिँढी’ जस्ता शब्दहरू संसद्को रेकर्डबाट हटाउन माग गरे ।

बैठकमा सांसद अमरेशकुमार सिंहले देशमा व्याप्त युवा निराशा र आर्थिक संकटप्रति चिन्ता व्यक्त गरे । उनले दोषारोपण भन्दा पनि सबै राजनीतिक दल मिलेर साझा राष्ट्रिय मुद्दाहरू तय गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: मङ्गलबार, ३० असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.