सीमा क्षेत्रबाट लागुऔषध सेवन गरी सवारी चलाउने १३ जना पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । लागुऔषध सेवन (लापसे) गरेर सवारी साधन चलाइरहेको अवस्थामा प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीले सञ्चालन गरिरहेको ‘लागुऔषध विरुद्धको महाअभियान’अन्तर्गत विराटनगरको सीमावर्ती क्षेत्र रानीबाट १३ जना चालकलाई नियन्त्रणमा लिएकाे हाे ।

जेठ २५ गते दिउँसो विराटनगर महानगरपालिका–१६ स्थित सीमा क्षेत्रमा जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले विशेष चेकिङ सञ्चालन गरेको थियो । सो क्रममा शंका लागेर परीक्षण गर्दा १२ जना सिटी सफारी चालक र १ जना अटो टेम्पो चालकले लागुऔषध सेवन गरेको पुष्टि भएको हो ।

प्रहरीले सवारी चालकसँगै शंकास्पद अवस्थामा फेला परेका एक जना पैदलयात्रीलाई पनि लापसे गरेको पाइएपछि नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्रकुमार मिश्रका अनुसार, लागुऔषध सेवन गरी लापरबाहीपूर्ण तरिकाले सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च हुने भएकाले उनीहरूलाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया अगाडि बढाइएको हो । पक्राउ परेका सबै चालक र पैदलयात्रीविरुद्ध लागुऔषध सेवनमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको डीएसपी मिश्रले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ पर्ने चालकहरूमा विराटनगरका विवेक महतो, राहुल सहनी, सुनिलप्रसाद नेपाली, प्रदिप खड्का, सुमनसा सुनार, श्रवण सहनी, अनिराज बासफोर, बिरु खत्वे, बासुदेव उराव, कालुराम पासवान र संजय पासवान रहेका छन् । त्यस्तै, बुढीगंगा गाउँपालिका–२ का सन्तोष साह र बेलबारी–११ का सुकुम लिम्बु पनि लापसे गरेको अवस्थामा सवारी चलाउँदै गर्दा पक्राउ परेका हुन् । पैदलयात्रीको रूपमा पक्राउ पर्नेमा इटहरी–५ का ईश्वर डाँगी रहेका छन् ।

प्रकाशित मिति: मङ्गलबार, २६ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.