मकै बेचेर चल्छ परिवार

Satya Sanchar सत्य सञ्चार

सुनसरी । इटहरी उपमहानगरपालिका–६ काफुलमति राजवंशीको दैनिकी मकै पोलेर बित्छ छ । उनले मकै पोलेर बेच्न थालेको २० वर्ष भयो ।

दिनभर अरुको मजदुरी गर्नुभन्दा मकै पोलेर बिक्री गर्दा मनग्य आम्दानी हुने गरेको उनले बताइन् । राजवंशी मोरङ र झापाको विभिन्न ठाउँबाट मकैबारी नै ठेक्का हालेर खरिद गरेर ल्याई बिक्री गर्छिन् ।

दिनभर इटहरीस्थित राधा कृष्ण मन्दिर नजिकैको सडकपेटीमा मकै पोल्दै बेच्छिन् । उनले पोलेको सानो मकै घोगा २० देखि ४० रुपैयाँ सम्ममा बिक्री गर्छिन् ।

‘२० वर्षदेखि मकै पोलेर बेच्दै आएकी छु, बाँकी अरु केही गरेर खानलाई सीप छैन,’ उनले भनिन्,‘ धेरै पढ्न पनि सकिएन आफ्नै खेतीपाती गर्न जग्गा छैन, यसरी नै अरुको बारीबाट मकै खरिद गर्दै बेच्ने गरेकी छु ।”

दिनमा मकै बेचेर एक हजार पाँच सयदेखि दुई हजारसम्म कमाई हुने गरेको राजवंशीले बताइन् ।

इटहरी–२ की पार्वती चौधरी पनि तीन वर्षदेखि मकै पोलेर बिक्री गर्दै आएकी छन् । “बेमौसममा भने काचो मकै खरिद गर्न अलिक समस्या पर्छ, बारीमै ठेक्का हान्न सकियो भने धेरै नाफा हुन्छ । तर म ठेक्का हाल्दिनँ, घोगाकै हिसाबले खरिद गरेर बिक्री गर्ने गरेकी छु ।” उनले भनिन् ।

मकै प्रतिघोगा १५ रुपैयाँसम्म खरिद गरेर २० देखि ३५ रुपैयाँ सम्म बिक्री गर्ने गरेको चौधरीले बताइन् । उनी महिनामा ३० हजारसम्म आम्दानी गर्छिन् ।

इटहरी–६ की सङ्गीता मण्डलले दिदीले मकै बेच्ने गरेको देखेर मकै बेच्न सुरु गरेकी छन् । दिनभर इटहरीका मुख्य बजार छेउको गल्लीमा मकै पोलेर राम्रै आम्दानी गरिरहेकी छन् । ‘अरु व्यापार गर्नुभन्दा यही राम्रो र सहज छ ।” उनले भनिन्,‘ महिनामा २० हजार जति आम्दानी हुन्छ ।’

इटहरी बजारको विभिन्न ठाउँ र गल्लीमा बसेर मकै पोलेर जीविका निर्वाह गर्नेहरु धेरै भेटिन्छन् । पुरुषभन्दा मकै पोलेर बिक्री गर्ने महिला बढी छन् । उनीहरुको घर व्यवहार मकै बेचेको आम्दानीले चल्ने गरेको छ ।

प्रकाशित मिति: आइतबार, ०४ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.