काेशीमा काठकाे घर गाउँबाट शहरमा सार्न ६ महिना छुट

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश मन्त्रीपरिषद् बैठकले गाउँबाट पुराना काठकाे घर बजारमा सार्नका लागि ६ महिना छुट दिने निर्णय गरेको छ ।

बिहीबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले पुराना काठका घरहरु गाउँबाट शहरबजारमा स्थानान्तरणका लागि ६ महिनासम्म कर छुट दिने निर्णय गरेको हो ।

यसअघि गाउँका पुराना घरका काठ स्थानान्तरणका लागि कर तिर्नुपर्ने बाध्यता थियो । सरकारले ६ महिनाभित्रमा स्थानान्तरण गरेमा कर छुट दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिलामन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए ।

अब ६ महिनासम्म पूराना घरकाे काठ दाउरा स्थानान्तरण गर्दा शुल्क नलाग्ने उनले बताए ।

लेखा अधिकृतको माग सम्बोधन गर्न तयार

मन्त्रिपरिषद् बैठकले प्रदेश लेखा अधिकृतहरुको आन्दोलन सम्बोधनका लागि प्रदेश निजामती सेवा ऐन २०७९ लाई दोस्रो पटक संशोधन गर्ने निर्णय पनि गरेको छ ।

निजामती ऐनले विभेद गरेको भन्दै लेखा समूहका कर्मचारी आन्दोलनमा छन् । असार ६ गतेदेखि १४ गतेसम्म उनीहरुले पेन डाउन गरेर आन्दोलन गरेका थिए । बिहीबारको मन्त्रीपरिषद् बैठकले लेखा समूहको माग सम्बोधन गर्नेगरी संशोभन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

बिहीबारकाे बैठकले कोशी प्रदेश बीउबिजन सम्बन्धमा कानूनी व्यवस्था गर्न बनेको विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिने र कोशी प्रदेश जीवनाशक बिषादी व्यवस्थापनको सम्बन्धमा कानूनी व्यवस्था गर्न विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: बिहिबार, २० असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.