विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले थ्रि जिरो क्लब प्रवर्द्धन गरे बापत अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । शनिबार फिलिपिन्सको राजधानी मनिलामा आयोजित थ्री जिरो क्लब कन्भेन्सनमा विश्वभरका सहयोगी संस्थाहरु मध्ये नेपालको जीवन विकास लघुवित्त वित्तीय संस्थाले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको हो ।
शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जनको लक्ष्यसहित नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसले थ्री जिरो क्लबको -तीन शून्य क्लब_ अवधारणा अघि सारेका थिए ।
बङ्गलादेशबाट सुरु भएको थ्री जिरो क्लब ५६ देशमा फैलिएको छ । विश्वभर थ्री जिरो क्लबको संख्या ३ हजार ८ सय बढी छन् । ती मध्ये सबैभन्दा धेरै नेपालमा २ हजार पाँच सय थ्री जिरो क्लब छन् । नेपालमा रहेका मध्ये आधा भन्दाबढी १ हजार ४१८ वटा थ्री जिरो क्लब जीवन विकास लघुवित्त वित्तीय संस्थाले गठन गरेको छ । सन् २०२१ डिसेम्बर ११ बाट जीवन विकासले थ्री जिरो क्लब गठन सुरु गरेको थियो ।
जीवन विकासले सामाजिक कार्य गर्दा थ्री जिरो क्लबसँग सहकार्य गर्छ । वातावरण संरक्षण र अतिविपन्न परिवारको सहयोगमा थ्री जिरो क्लब बढी सक्रिय छन् ।
थ्री जिरो क्लब गठन र सहयोगमा उत्कृष्ट कार्य गर्दै आएको जीवन विकासलाई थ्री जिरो क्लब कन्भेन्सनमा प्रवर्द्धक मोहम्मद युनुसले अवार्ड प्रदान गरेका थिए भने सो अवार्ड प्राप्त गर्दा संस्थाको तर्फबाट जीवन विकास लघुवित्त वित्तीय संस्थाका सञ्चालक सदस्य प्रकाशकुमार श्रेष्ठ, जीवन विकासका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डल, नायब प्रमुख कार्यकारी अधिकृत दामोदार रेग्मी उपस्थित भएका थिए ।
अवार्ड ग्रहणका क्रममा नायब प्रमुख कार्यकारी अधिकृत दामोदार रेग्मीले थ्री जिरो क्लब सपोर्ट बापत जीवन विकासले तेस्रो पटक पुरस्कार प्राप्त गरेको बताए । यसअघि २०२२ र २०२३ को थ्री जिरो क्लब कन्भेन्सनमा पनि जीवन विकासले क्लब सपाेर्ट अवार्ड प्राप्त गरेको थियो । अर्को सम्मेलनमा पनि अवार्ड पाउनेगरी जीवन विकासले काम गर्ने उनले बताए । कन्भेन्सनमा थ्री जिरो क्लब सपोर्ट तर्फ जीवन विकासले अवार्ड प्राप्त गर्दा मेक्सीकोका सहभागीले थ्री जिरो क्लब सपोर्ट पर्सन अवार्ड र उत्कृष्ट थ्री जिरो क्लबको अवार्ड मलेसियाको क्लबले प्राप्त गरेको थियो ।
पुरस्कार ग्रहण गर्दै जीवन विकासका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले अवार्ड अन्तर्राष्ट्रिय मञ्चमा जीवन विकासले प्राप्त गरेको पुरस्कार नेपालका लागि गौरवको विषय भएको बताए । ‘जीवन विकासले अवार्ड प्राप्त गर्नु हाम्रा लागि मात्रै होइन नेपालका लागि पनि गौरवको कुरा हो,’उनले भने,‘यो अवार्डले फिल्डमा काम गर्नका लागि उर्जा मिलेको छ ।’
थ्री जिरो क्लबमा १२ वर्षदेखि ३५ वर्ष उमेर समूहका युवाले सहभागिता जनाउन पाउँछन् । एउटा क्लबमा पाँच जना सदस्य हुन्छन् । यसरी गठन भएको क्लब सामाजिक कार्यमा खटिन्छन् । युवाहरूलाई सामाजिक कार्यमा सक्रिय बनाउनका लागि जीवन विकासले क्लब गठन गर्ने र सामाजिक कार्यलाई प्रभावकारी बनाउनमा क्लबसँग सहकार्य गरिरहेको छ ।
‘थ्री जिरो क्लबलाई लघुवित्तसँग जोडेर गरिने सामाजिक कार्य दिगो र प्रभावकारी हुन्छ, समाजले अपनत्व ग्रहण गर्छ, युवालाई अघि बढाउँदा धेरै सिक्न पाउँछन्, नेतृत्व विकास पनि हुन्छ, उनले भने, हामीले क्लब मार्फत युवालाई समाजप्रतिको उत्तरदायित्व सिकाइरहेका छौं । हाम्रा हरेक कार्यमा थ्री जिरो क्लबका युवाहरू जोडिएका छन् ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,534)
जीवन विकासले बोलायो साधारणसभा (1,480)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,449)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,401)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,351)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,262)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (700)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (670)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (665)