प्रमुख प्रशासकीय अधिकृत बिदा बस्दा विराटनगर महानगरपालिकाकाे भुक्तानी राेकियाे

Satya Sanchar सत्य सञ्चार

विराटनगर । प्रमुख प्रशासकीय अधिकृत बिदामा बस्दा विराटनगर महानगरपालिकामा ठेकेदारकाे भुक्तानी राेकिएकाे छ । आर्थिक वर्ष सकिएको दुई महिना बितिसक्दा पनि विराटनगर महानगरपालिकामा काम सम्पन्न गरेका निर्माण व्यवसायी, उपभोक्ता समिति र परामर्शदाताले करोडौँ रुपैयाँ भुक्तानी नपाएका हुन् ।

महानगरको अभिलेखअनुसार अघिल्लो आर्थिक वर्षबाट दायित्व सरेका तथा बहुवर्षीय योजनासहित करिब ६० करोड रुपैयाँभन्दा बढी भुक्तानी चालु आर्थिक वर्षमा धकेलिएको छ । भुक्तानीको चाप बढिरहेका बेला महानगरका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मा भने कार्यालयमा नियमित उपस्थित नभएको जनप्रतिनिधि तथा महानगर स्रोतको भनाइ छ । शर्मा असार २ गते प्रमुख प्रशासकीय अधिकृतका रूपमा महानगरमा हाजिर भएका थिए । त्यसयता साउन र भदौका ६२ दिनमा उनी २६ दिनमात्रै कार्यालयमा उपस्थित भएको महानगर स्राेत बताउँछ ।

प्रमुख प्रशासकीय अधिकृतको नियमित अनुपस्थितिले भुक्तानी प्रक्रिया, प्रशासनिक समन्वय र सेवा प्रवाहमा असर परेको जनप्रतिनिधिहरू बताउँछन् । विराटनगर–७ का वडाध्यक्ष मधुबाबु तिवारीका अनुसार निर्माण व्यवसायीले काम सम्पन्न गरे पनि भुक्तानी नपाउँदा वडाध्यक्षहरूसमेत दबाबमा परिरहेका छन् ।

‘उहाँ कार्यालयमा नबस्दा हामीलाई समस्या भएको छ । निर्माण व्यवसायीको भुक्तानी नदिएको कारण घर घेर्न आउने समय भइसक्यो,’ तिवारीले भने, ‘केही न केही समस्या परेको छ । सेवाग्राहीहरूले गुनासो पनि गर्न थाल्नु भयो । सार्वजनिक बिदा नभएको दिनचाहिँ उहाँ कार्यालयमा बसिदिए हुन्थ्यो ।’

आर्थिक वर्षको अन्तिम समयमा पुरानो प्रमुख प्रशासकीय अधिकृतबाट नयाँ अधिकृतमा जिम्मेवारी हस्तान्तरण भएको र नयाँ आर्थिक वर्षको बजेट आउनुभन्दा करिब १५ दिनअघि नयाँ प्रमुख प्रशासकीय अधिकृत आएको अवस्थाले पनि प्रशासनिक तालमेलमा समस्या भएको एक जनप्रतिनिधिले बताए ।

शर्मा बिदामा रहँदा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रामप्रसाद ढुंगेलले सम्हाल्दै आएका छन् । प्रमुख प्रशासकीय अधिकृतको फोन शर्मासँगै भए पनि अधिकांश फोन ढुंगेलतर्फ फरवार्ड हुने गरेको स्रोतले जनाएको छ । शर्मासँग प्रतिक्रिया लिन फोन गर्दा पनि ढुंगेलले नै फोन उठाएका थिए ।

बुधबार बसेको कार्यपालिका बैठकमा समेत शर्मा उपस्थित भएनन् । बैठकमा आउने बताएका शर्मा अन्तिम समयमा बिरामी भएको जानकारी गराएर अनुपस्थित भएको स्रोतले बताएको छ ।

प्रकाशित मिति: बिहिबार, ०१ असोज, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
© 2024 Satyasanchar. All Rights Reserved.