देवानगञ्ज घटनामा मृत्यु हुनेकाे संख्या तीन पुग्याे

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहको झडपमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या तीन पुगेको छ । १० साउन राति प्रहरीले चलाएको गोली लागेर घाइते भएका देवानगञ्ज-३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार मंगलबार बिहान मेहताको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले मेहताको मृत्यु भएकाे बताए । ‘हामीले पनि भर्खरै थाहा पायौं’, उनले भने,‘ टिचिङ अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।’ उनकाे मृत्यु भएपछि परिवारले शव बुझ्न मानेका छैनन । सहिद घाेषणाकाे माग गर्दै आफन्तले शव बुझ्न नमानेका हुन् ।

१० साउनमा दुई समुदायबीचको झडपमा प्रहरीले चलाएको गोली लागेर १० जना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये देवानगञ्ज-४ का २५ वर्षीय ओमप्रकाश मेहताको सोही दिन मृत्यु भएको थियो । देवानगञ्ज-३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार दिउँसो न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको थियो ।

शुक्रबार बिहान सरकारसँगको सातबुँदे सहमति पछि दुवै जनाको शव गोली लागेकै स्थानमा अन्त्येष्टि गरिएको थियो । यही घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रहरी गोली चलाउँदा गणेश यादवको पनि मृत्यु भएको थियो ।

बायाँ तिघ्रामा गोली लागेर गम्भीर घाइते रवीन्द्रकुमार मेहतालाई विराट नर्सिङ होमबाट थप उपचारका लागि शुक्रबार काठमाडौंको टिचिङ अस्पताल लगिएको थियो । टिचिङमा उपचारका क्रममा रवीन्द्रको बायाँ खुट्टा काटिएको थियो ।

देवानगञ्ज गोली काण्डका अर्का घाइते देवानगञ्ज-३ का १८ वर्षीय अमित यादवको काठमाडौंकै ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनलाई हात र कोखमा गोली लागेको थियो । नोबेल शिक्षण अस्पतालबाट उनलाई नेपाली सेनाको स्काई ट्रकमार्फत बिहीबार काठमाडौं लगिएको थियो ।

सो घटनामा गोली लागेर गम्भीर घाइते भएका देवानगन्ज–४ का १८ वर्षीय मिथिलेश मेहता, २२ वर्षीय हरेराम यादव र देवानगन्ज–३ का १८ वर्षीय अमलेश मेहताको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । मिथिलेशको पेटमा गोली लाग्दा आन्द्रा बाहिर निस्किएको थियो । उनको शल्यक्रिया गरेर गोली निकालिएको छ ।

हरेरामको तिघ्राको माथिल्लो भागमा गोली लागेको थियो । अमलेशको बायाँ पिठ्युँमा गोली लागेको थियो । देवानगन्ज–३ का २५ वर्षीय सुनील मेहता, देवानगन्ज–४ का १८ वर्षीय अमितकुमार यादव र २६ वर्षीय सुनील मेहताको विराट नर्सिङ होममा उपचार भइरहेको छ । अमितकुमारको कम्मरमा गोली लागेको थियो । २६ वर्षीय सुनीलको बायाँ हातको कुहिनामा गोली लागेको थियो । २५ वर्षीय सुनिलको खुट्टामा गोली लागेको थियो ।

प्रकाशित मिति: मङ्गलबार, १९ साउन, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.