विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहको झडपमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या तीन पुगेको छ । १० साउन राति प्रहरीले चलाएको गोली लागेर घाइते भएका देवानगञ्ज-३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार मंगलबार बिहान मेहताको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले मेहताको मृत्यु भएकाे बताए । ‘हामीले पनि भर्खरै थाहा पायौं’, उनले भने,‘ टिचिङ अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।’ उनकाे मृत्यु भएपछि परिवारले शव बुझ्न मानेका छैनन । सहिद घाेषणाकाे माग गर्दै आफन्तले शव बुझ्न नमानेका हुन् ।
१० साउनमा दुई समुदायबीचको झडपमा प्रहरीले चलाएको गोली लागेर १० जना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये देवानगञ्ज-४ का २५ वर्षीय ओमप्रकाश मेहताको सोही दिन मृत्यु भएको थियो । देवानगञ्ज-३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार दिउँसो न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको थियो ।
शुक्रबार बिहान सरकारसँगको सातबुँदे सहमति पछि दुवै जनाको शव गोली लागेकै स्थानमा अन्त्येष्टि गरिएको थियो । यही घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रहरी गोली चलाउँदा गणेश यादवको पनि मृत्यु भएको थियो ।
बायाँ तिघ्रामा गोली लागेर गम्भीर घाइते रवीन्द्रकुमार मेहतालाई विराट नर्सिङ होमबाट थप उपचारका लागि शुक्रबार काठमाडौंको टिचिङ अस्पताल लगिएको थियो । टिचिङमा उपचारका क्रममा रवीन्द्रको बायाँ खुट्टा काटिएको थियो ।
देवानगञ्ज गोली काण्डका अर्का घाइते देवानगञ्ज-३ का १८ वर्षीय अमित यादवको काठमाडौंकै ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनलाई हात र कोखमा गोली लागेको थियो । नोबेल शिक्षण अस्पतालबाट उनलाई नेपाली सेनाको स्काई ट्रकमार्फत बिहीबार काठमाडौं लगिएको थियो ।
सो घटनामा गोली लागेर गम्भीर घाइते भएका देवानगन्ज–४ का १८ वर्षीय मिथिलेश मेहता, २२ वर्षीय हरेराम यादव र देवानगन्ज–३ का १८ वर्षीय अमलेश मेहताको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । मिथिलेशको पेटमा गोली लाग्दा आन्द्रा बाहिर निस्किएको थियो । उनको शल्यक्रिया गरेर गोली निकालिएको छ ।
हरेरामको तिघ्राको माथिल्लो भागमा गोली लागेको थियो । अमलेशको बायाँ पिठ्युँमा गोली लागेको थियो । देवानगन्ज–३ का २५ वर्षीय सुनील मेहता, देवानगन्ज–४ का १८ वर्षीय अमितकुमार यादव र २६ वर्षीय सुनील मेहताको विराट नर्सिङ होममा उपचार भइरहेको छ । अमितकुमारको कम्मरमा गोली लागेको थियो । २६ वर्षीय सुनीलको बायाँ हातको कुहिनामा गोली लागेको थियो । २५ वर्षीय सुनिलको खुट्टामा गोली लागेको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,430)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,357)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,214)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,149)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,111)