सुनसरी झडपपछि सीडीओ र सुरक्षा निकायका प्रमुख फेरिए

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सुनसरीको देवानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु र २४ जना घाइते भएपछि गृह मन्त्रालयले जिल्लाका सुरक्षा प्रमुखहरूलाई फिर्ता बोलाएको छ ।

मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेलाई फिर्ता बाेलाएर उनकाे ठाउँमा ईश्वरीप्रसाद अर्याललाई पठाएको छ ।

कोशी प्रदेश प्रहरी प्रमुख (डीआईजी) मा शेखर खनाल र सुनसरीको प्रहरी प्रमुख (एसपी) मा पुष्पराज मल्ललाई जिम्मेवारी दिइएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिएको छ । प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाइएकाे छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खटाइएको छ । थेवेको स्थानमा उक्त विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई खटाइएकाे छ ।

घटनाको छानबिन गर्न सहसचिव भुपेन्द्र थापाको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ, जसले एक साताभित्र प्रतिवेदन बुझाउनेछ । थप हिंसा हुन नदिन प्रशासनले देवानगञ्ज र हरिनगरका केही क्षेत्रमा आज बिहानदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ ।

प्रकाशित मिति: सोमबार, ११ साउन, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.