मनसुन कमजाेर, तराईमा‘तातो लहर’को सम्भावना

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपालमा मनसुन भित्रिए पनि सक्रिय  नभएका कारण देशका विभिन्न स्थानमा गर्मी बढ्ने भएकाे छ । जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा ‘तातो हावाकाे लहर’ चल्ने सम्भावना  छ । बागमती र गण्डकी प्रदेशमा पनि ‘तातो दिन’ रहने प्रक्षेपण गरिएको छ ।

मनसुन कोशी प्रदेश हुँदै देशका अन्य भागमा विस्तार भए पनि कमजोर अवस्थामा रहेकाले तत्कालै ठूलो वर्षाको सम्भावना नरहेको मौसमविदहरुको भनाइ छ ।

मौसमविद् उज्वल उपाध्यायका अनुसार कम्तिमा बिहीबारसम्म देशका अधिकांश स्थानमा उल्लेख्य वर्षा हुने देखिँदैन । मध्ययम वर्षाकाे सम्भावना भने छ । ‘पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तराईका जिल्लाहरुमा वर्षाको सम्भावना न्यून छ, जसका कारण गर्मी अझै बढ्न सक्छ,’ उपाध्याय भन्छन्, ‘काठमाडौं उपत्यकामा समेत बुधबार र बिहीबार मौसम सुक्खा रहने देखिन्छ ।’

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सबै क्षेत्रका साथै गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी तराईमा मनसुनी वायुको प्रभाव छ । अन्य क्षेत्रमा भने अझै पनि पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायमै छ ।

मनसुन सक्रिय नहुँदा लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा अधिकतम तापक्रम बढ्ने र तातो हावा चल्ने जोखिम बढेको हो ।

यस वर्षको मनसुन सरदरभन्दा ६ दिन ढिलो गरी असार ५ गते कोशी प्रदेशबाट नेपाल भित्रिएको थियो ।

प्रकाशित मिति: बुधबार, १० असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.