सडक पेटीको अतिक्रमण हटाउन सर्वोच्चकाे परमादेश

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । सडक पेटीको अतिक्रमण हटाउन सरकारका नाममा सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । अधिवक्ता सुधिज्ञ पन्तले दायर गरेको रिटमा न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नृपध्वज निरौलाको संयुक्त इजलासले सडक पेटीको अतिक्रमण हटाउन सरकारका नाममा परमादेश जारी गरेको हो ।

२०८१ मङ्सिर १७ मा भएको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सडक पेटी प्रयोग गर्न पाउने पैदल यात्रुको अधिकार सम्बन्धमा परमादेश जारी गरेको हो ।

निर्माण सामग्री, प्लाटफर्म, भर्‍याङ वा अन्य कुनै प्रकारका सामग्री राखी वा संरचना निर्माण गरी निजी व्यक्ति, कम्पनी एवम् गैरसरकारी संस्थाहरूबाट सडक पेटी अतिक्रमण गरिएको स्थानहरूमा सो अतिक्रमण हटाउन प्रत्यर्थी काठमाडौँ महानगरपालिका र प्रत्यर्थी मन्त्रालयहरूले आपसी समन्वय गरी सडक पेटीमा रहेको अतिक्रमण हटाउन सार्वजनिक सूचना जारी गरी उपयुक्त समय तोकी निर्देशन दिन आदेशमा भनिएको छ ।

आफ्नो अधिकार क्षेत्र अन्तर्गत पर्ने सडकहरूका सडक पेटी बिग्री नासिई ढल खुला भएको स्थानहरूमा सोको रेखदेख, सम्भार गरी भविष्यमा ढलमा खसी कसैले ज्यान गुमाउने वा ज्यान धनको क्षति व्यहोर्नुपर्ने अवस्थाहरूको न्यूनीकरण एवम् निवारण गर्नेतर्फ सम्बन्धित सबै सङ्घीय इकाई एवम् मातहतमा पर्ने प्रत्यर्थी समेतका निकायहरूले आवश्यक निर्देशन दिई सबै काम कारबाही गर्न भनेको छ ।

प्रकाशित मिति: सोमबार, ०१ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.