विराटनगर । आगामी असार १ गते बजेट ल्याउने तयारीमा रहेको कोशी प्रदेश सरकारले सांसदहरूका लागि बजेटको छुट्टाछुट्टै सीमा (सिलिङ) ताेकेकाे छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा समेटिने योजनाका लागि प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदहरूलाई फरक–फरक बजेट सीमा तोकेको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार प्रत्यक्ष निर्वाचित सांसदका लागि ४ करोड रुपैयाँ र समानुपातिक सांसदका लागि २ करोड रुपैयाँसम्मका योजना बुझाउने सिलिङ दिइएको छ ।
गत वर्ष प्रत्यक्ष निर्वाचित सांसदलाई २ करोड ५० लाख र समानुपातिकलाई १ करोड ५० लाख रुपैयाँ बराबरको बजेट सिलिङ दिइएको थियो । यसपटक सिलिङ बढाइए पनि सांसदहरू भने पूर्ण सन्तुष्ट छैनन् । नेपाली कांग्रेसका एक सांसदले भने,’हाम्रो माग न्यूनतम ५ करोडको थियो, तर सरकारले ४ करोडको मात्र सीमा दियो ।’
समानुपातिक सांसदहरूले भने आफूहरूमाथि विभेद भएको गुनासो गरेका छन् । प्रत्यक्ष र समानुपातिक सांसदको हैसियत समान हुने भन्दै उनीहरूले बजेट सिलिङ पनि बराबर हुनुपर्ने माग गरिरहेका छन् । नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारबाट आएको सीमा अनुसार ४ कराेडकाे सीमामा रहेर याेजना बुझाएकाे बताए ।
विगतमा राजनीतिक पहुँचका आधारमा योजना छनोट हुने गरेको आलोचना खेप्दै आएको सरकारले यसपटक भने प्रणालीगत सुधारको प्रयास गरेको छ । बजेटलाई व्यवस्थित बनाउन सरकारले ‘आयोजना बैंक’ (प्रोजेक्ट बैंक) मा सूचीकृत योजनाहरूलाई मात्र बजेटमा समावेश गर्ने नीति लिएको छ ।
सांसदहरूलाई पनि आयोजना बैंकमा दर्ता भई पहिचान नम्बर प्राप्त गरेका योजनाहरूको सूची मात्र बुझाउन भनेकाे छ । सरकार मातहतका १० वटा प्रमुख निकाय र मन्त्रालयहरूबाट ३३ हजार ४१५ वटा योजना प्रस्ताव गरिएका छन्, संसद सचिवालयबाट मात्रै ७ हजार बढी याेजना पेश भएकाे छ । आगामी वर्ष करिब ५ हजार योजना कार्यान्वयनमा लैजाने सरकारको लक्ष्य छ ।
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करिब ३६ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षका लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट विनियोजन गरिएको भए पनि अर्धवार्षिक समीक्षामार्फत त्यसलाई घटाएर ३२ अर्ब ४५ करोड ६४ लाखमा झारिएको थियो ।
सांसदले आफ्ना क्षेत्रका लागि बजेट माग गर्दा पेश गर्ने योजना आयोजना बैंकमा दर्ता भई पहिचान नम्बर पाएको हुनुपर्छ । आयोजना बैंकमा इन्ट्री नभएको योजना बजेटमा समावेश नहुने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता सुशील बास्तोलाका अनुसार बजेट समावेश गर्नका लागि आयोजना बैंकमा सूचीकृत भएका योजना अनिवार्य गरिएको छ । ‘मान्यज्यूहरुले मन्त्रालयमा पेश गर्ने योजना आयोजना बैंकमा सूचिकृत भएको हुनुपर्छ, उनले भने,‘ सूचीकृत भएको छैन भने मन्त्रालयहरुले इन्ट्री गर्न सक्दैनन ।’ उनका अनुसार बजेटका लागि योजना इन्ट्रीको काम भइरहेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,847)
जीवन विकासले बोलायो साधारणसभा (1,821)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,775)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,735)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,672)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,570)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,029)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (999)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (806)