ठगीमा परेका पवन कार्की विराटनगर । झापा र मोरङका गाउँबस्तीबाट विदेश जाने सपना बोकेका सयौं युवा आर्थिक संकट र मानसिक तनावमा परेका छन् । रोमानिया पठाउने प्रलोभनमा ठगिएपछि आर्थिक संकटमा परेका हुन् ।
झापाको कमल गाउँपालिका–१ का पवन कार्की केही समयदेखि विदेश जाने तयारीमा थिए । रोमानिया जानका लागि उनले म्यानपावर सञ्चालकलाई साढे ७ लाख रुपैयाँभन्दा बढी रकम बुझाइसकेका थिए ।
भिसा र टिकट सबै तयार भएको आश्वासन पाएपछि उनी नेपालमा फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनसमेत छाडेर भारतको नयाँ दिल्ली पुगे । तर, त्यहाँ पुग्दा आफ्नो हातमा परेको हवाई टिकट नक्कली भएको खुलेपछि उनको सपना एकाएक भत्कियो ।
विमानस्थलबाट फर्काइएपछि एजेन्टले पुनः काठमाडौंबाट उडाउने भन्दै आश्वासन दिएका थिए । तर, त्यही आश्वासनमै समय बित्दै गयो । अन्ततः पवनसँगै रहेका मोरङका जीवन लिम्बू र झापाका उमेश खत्री पनि काठमाडौं फर्किए । झण्डै २२ दिनको अनिश्चितता र मानसिक तनावपछि घर फर्किन बाध्य भए ।
पवन अहिले मोरङको इलाका प्रहरी कार्यालय सिजुवा पुगेर आफ्नो पीडा सुनाइरहेका छन् । घरमा गरगहना धितो राखेर, ऋण काढेर विदेश पठाउन जुटाइएको पैसा यसरी ठगिएपछि परिवार नै संकटमा परेको उनी बताउँछन् । ‘घरबाट बिदा भएको महिना दिन पनि नबित्दै फर्किनु पर्यो,’ उनले भने, ‘लगेज घरमै जस्ताको तस्तै छ । सबै सपना चकनाचुर भयो ।’
यस्तै, पीडा मोरङ उर्लाबारी–३ का आशिष कार्कीको पनि छ । उनले चार वर्षअघि नै रोमानिया जान भन्दै म्यानपावर सञ्चालकलाई दुई लाख रुपैयाँ बुझाएका थिए । तर, न विदेश जान पाए, न त पैसा नै फिर्ता पाए । चार वर्षदेखि उनी विभिन्न सरकारी निकाय धाउँदै आफ्नो पैसा फिर्ताको माग गरिरहेका छन् । तर, कुनै समाधान भएको छैन ।
यो ठगी प्रकरण व्यक्तिगत घटना मात्र नभएर एउटा संगठित संरचनाको हिस्सा भएको खुलेको छ । मोरङको रतुवामाई नगरपालिका–८ का ३७ वर्षीय उद्धव पाठकले सञ्चालन गरेको म्यानपावरमार्फत रोमानिया पठाउने नाममा सयौं व्यक्तिबाट करोडौं रुपैयाँ असुली गरिएको तथ्य बाहिर आएको छ ।
पाठकको रतुवामाई–८ दाम्राभिट्टामा ‘के एस ए’ नामक म्यानपावर छ । प्रहरीका अनुसार पाठक र उनको म्यानपावरका लेखापाल अभि भण्डारी पक्राउ परेपछि इलाका प्रहरी कार्यालय सिजुवामा पीडितहरूको भिड बढेको छ । ‘हालसम्म १५० भन्दा बढी व्यक्तिले औपचारिक उजुरी दिएका छन्,’ मोरङ प्रहरीका सूचना अधिकारी, डीएसपी मकेन्द्रकुमार मिश्रले भने, ‘ठगी गरिएको रकम ३ करोड ५० लाख रुपैयाँभन्दा बढी पुगेको छ ।’
प्रहरी कार्यालयमा परेको किटानी जाहेरीका आधारमा ठगी भएको रकम ३ करोड ५० लाख बढी पुगेको हो । ‘अझै पनि जाहेरी दिन पीडितहरु आउने क्रम जारी छ । पीडितको संख्या र पाठकले सर्वसाधारणसँग ठगी गरेको रकम बढ्न सक्छ,’ मिश्रले भने । उनले वास्तविक ठगी रकम अझै बढी हुन सक्ने बताए । अर्कोतर्फ धेरै पीडितसँग बैंक ट्रान्सफरको प्रमाण छैन । कतिपयले नगदमै कारोबार गरेका छन् ।
पाठक र उनका लेखापाल भण्डारीलाई नगद नै दिएकाहरु प्रमाण जुटाउन नसकेको तनावमा परिरहेका छन् । पीडितमध्ये अधिकांश निम्न र मध्यम वर्गीय परिवारका युवा छन् । उनीहरुले विदेश जाने आशामा मिटरब्याजमा ऋण लिएर, जग्गा धितो राखेर वा परिवारका गरगहना बेचेर रकम जुटाएका थिए । अहिले उनीहरू न विदेश जान सकेका छन्, न त ऋण तिर्ने अवस्थामा नै ।
यस घटनाको अर्को पीडादायी पक्ष रतुवामाई–८ का दिलिप खड्काको परिवारसँग जोडिएको छ । दिलिप पाठककै माध्यमबाट रोमानिया पुगे । दिलिपले गाउँका अन्य युवाहरूलाई पनि पाठकसँग जोडिदिएका थिए । उनी साक्षी बसेर नै पैसा संकलन प्रक्रिया अघि बढेको थियो । तर, पछि ती युवाहरू विदेश नपठाइएपछि गाउँमै ठूलो विवाद भयो ।
गाउँको दबाबपछि दिलिपले आफ्नै कमाइ र सम्पत्ति बेचेर ३३ लाख रुपैयाँभन्दा बढी रकम साथीहरूलाई फिर्ता गर्नुपरेको थियो । यसले उनको परिवार आर्थिक रूपमा पूर्ण रूपमा कमजोर बनेको छ । आमा विष्णुमाया खड्काले भनिन्, ‘छोराले विश्वास गरेर साक्षी बसेको थियो । तर, पछि सबै ठगिएपछि घरको सम्पत्ति बेच्नुपर्यो ।’
प्रहरी अनुसन्धान अनुसार पाठकले रोमानियामा समेत आफ्नो सञ्जाल विस्तार गरेका थिए । त्यहाँ उनले ‘नेपाली होस्टल’ सञ्चालन गरेर नेपाली कामदारहरूलाई राख्ने र अतिरिक्त शुल्क असुल्ने गरेको आरोप छ । केही पीडितका अनुसार रोमानियामा उनले विलासी जीवन बिताउने गरेका थिए । दैनिक क्यासिनो जाने, मदिरामा ठूलो रकम खर्च गर्ने र ठगीको पैसा व्यक्तिगत सुख–सुविधामा प्रयोग गर्ने गरेको आरोप उनीमाथि लागेको छ ।
त्यहाँ काम गर्न गएका युवाहरूले भने अपेक्षित काम, तलब र सुरक्षाको अभाव भएपछि विरोध समेत गरेका थिए । असुरक्षा बढेपछि उद्धव केही समयअघि नेपाल फर्किएको बताइन्छ । उनकी श्रीमती लेखामाया पाण्डे भने अझै रोमानियामै रहेको प्रहरी स्रोतले बतायो ।
नेपाल फर्किएपछि उद्धव लुकीछिपी बस्दै आएका थिए । केही समय काठमाडौंमा बसेर एक साताअघि मात्रै गाउँ फर्किएका थिए । पीडितहरूले नै उनलाई फेला पारेर प्रहरीलाई बुझाएपछि हाल पाठक र उनको म्यानपावरका लेखापाल हिरासतमा छन् । ठगी मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ । पाठकविरुद्ध मोरङ र काठमाडौंमा उजुरी परेको प्रहरीले जनाएको छ ।
हिरासतमा रहेका पाठकले सम्पत्ति बेचेर रकम फिर्ता गर्ने आश्वासन दिएका छन् । तर, पीडितहरू भने उनीमाथि विश्वास गर्न नसक्ने अवस्थामा छन् । ‘पहिले पनि आश्वासन दिएर ठगी गरिएको हो । अहिले पनि त्यही दोहोरिन सक्छ,’ पीतिडहरु भन्छन् । म्यानपावर सञ्चालन गर्दै पाठकले रोमानियाको सपना बेचेर ठगीको साम्राज्य चलाएको उनीहरुको भनाइ छ ।
यस घटनाले वैदेशिक रोजगारीको नाममा देशभर फैलिएको म्यानपावरको सञ्जाल कति गहिरो र संगठित छ भन्ने प्रस्ट पारेको छ । विशेषगरी गाउँगाउँमा फैलिएको विदेश मोह र आर्थिक अभावको फाइदा उठाउँदै केही व्यक्तिहरूले ठूलो मात्रामा ठगी गर्दै आएको देखिन्छ ।
अहिले पवन र आशिष कार्की जस्ता सयौं युवाहरूलाई विदेशको सपनामा बोक्नु परेको ऋणको बोझले थिचिरहेको छ । उनीहरलाई अब ऋण पासोबाट कसरी मुक्त हुने भन्ने तनावले सताएको छ । कतिपयले त ऋणसँग जुध्ने आर्थिक क्षमता नभएको गुनासो गरिरहेका छन् । प्रहरीले यस प्रकरणमा संलग्न थप व्यक्तिहरूको खोजी जारी राखिएको जनाएको छ । पीडितहरू भने आफ्नो पैसा फिर्ता हुने आशा क्रमशः कमजोर हुँदै गएको बताइरहेका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,853)
जीवन विकासले बोलायो साधारणसभा (1,823)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,777)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,737)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,678)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,572)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,031)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,001)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (808)