रमा तिवारी हत्या प्रकरण : अनुसन्धानमा अलमलियो प्रहरी

Satya Sanchar सत्य सञ्चार

विराटनगर । झापाको दमक नगरपालिका ८ की २१ वर्षीया रोमा भनिने रमा तिवारीको हत्या अनुसन्धानमा प्रहरी अलमलिएको छ । गत जेठ १६ गते शनिबार रतुवा खोलामा बोरामा प्याक गरेर फालिएको अवस्थामा शव फेला परेपछि अनुसन्धान सुरु गरेको प्रहरी निष्कर्षमा पुग्न अलमलिएको हो ।

प्रहरीका अनुसार रमा गत बुधबार राति घरबाट निस्किएकी थिइन् । शनिबार बिहान करिब ११ बजे सेतुमाडी स्थित रतुवा खोलाको पुलमुनि सेतो प्लास्टिकको बोरामा पोको पारिएको अवस्थामा शव भेटिएको थियो ।

इलाका प्रहरी कार्यालय दमकका डिएसपी हरि बस्नेतका अनुसार शव भेटिएको स्थानमा हत्या भएको हाेइन् । बाहिर हत्या गरी उनको शव रतुवाको पुलमाथिबाट खाेलामा फालेको देखिन्छ ।

मृतक परिवारका सदस्यले गत बुधबार राति ८ बजेपछि उनी घरबाट साथी भेट्न निस्किएको बताएका थिए । उनलाई भेट्न बोलाउने साथी सोही दिन सुधार केन्द्रबाट छुटेका थिए । प्रहरीले ति युवकमाथि साेधपुछ गरेकाे छ । तर, उनकाे संलग्नता पुष्टि भइसकेकाे छैन । कहाँ र कसरी हत्या भयो भन्ने निष्कर्षमा प्रहरी पुग्न सकेकाे छैन । ‘शव भेटिएको स्थान प्राइमरी लोकेशन होइन्, सेकेन्डरी लाेकेशन मात्रै हो, प्राइमरी लाेकेशन भेटिएपछि धेरै विषय खुल्छ,’ प्रहरी स्राेतले भन्याे ।’

प्रहरीका अनुसार रमाको मोबाइलको अन्तिम लोकेशन दमक बजारमा देखिन्छ । राति करिब ११ बजेको आसपासमा दमक बजारमा उनको मोबाइल अफ भएको थियाे ।

डिएसपी बस्नेत घटनास्थल, मोबाइल सम्पर्क र प्रमाणका आधारमा घटनाको श्रृंखला पत्ता लगाउने प्रयास भइरहेको बताउँछन् । उनले शंकास्पद व्यक्तिमाथि सोधपुछ भइरहेपनि प्रहरी कसैलाई पक्राउ गर्ने अवस्थामा पुगिनसकेको बताए ।

प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा एक जना व्यक्तिकाे मात्रै संलग्न देखिदैन । तर अनुसन्धान चलिरहेका बेला घटनासँग जोडिएर भिडियो अन्तरवार्ता र कन्टेन्ट सार्वजनिक भएपछि अनुसन्धानमा प्रतिकुल असर परेकाे प्रहरीकाे गुनासाे छ । कन्टेन्ट क्रिएटरले अपुष्ट सूचना सम्प्रेषण गरेको भन्दै प्रहरीले अनुसन्धान जारी रहेका बेला अनुमानका भरमा सूचना सार्वजनिक नगर्न आग्रह गरेको छ । अनुसन्धानका संवेदनशील विवरण आधिकारिक स्रोतबाट पुष्टि नभई सार्वजनिक हुँदा न्याय सम्पादनमा प्रतिकूल असर गर्न सक्ने प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: बिहिबार, २१ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.