मधेशकाे पराकम्प काेशीमा,डराएका छन् मुख्यमन्त्री

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मधेश प्रदेश सरकारको सत्ता समीकरण फेरिएसँगै त्यसको पराकम्प कोशी प्रदेशमा पनि आइपुगेको छ । नेपाली कांग्रेस र एमालेकाे सत्ता टिकाउने र भत्काउने भित्री गृहकार्यका कारण प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की रक्षात्मक अवस्थामा पुगेका छन् ।

जेठ ७ गते मधेश प्रदेशमा जनता समाजवादी पार्टीका मन्त्रीहरूलाई हटाएर कांग्रेस नेतृत्वको सरकारमा नेकपा एमाले सहभागी भएका थिए । गत मंसिर १९ गते मात्रै एमालेलाई बाहिर राख्न जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीकाे समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री बनेका थिए । ६ महिना नबित्दै मधेश सत्तामा एमाले सहभागी भयाे ।

काेशीमा अहिले कोशीमा कांग्रेस एमालेको सरकार छ । जसकाे नेतृत्व एमाले सचिवसमेत रहेका प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले गरिरहेका छन् ।

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुनसरीको लौकहीमा शुक्रबार आयोजित प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशमा सत्ता परिवर्तन हुने बताए । अब बन्ने नयाँ सरकारको नेतृत्व कांग्रेसले गर्ने उनको भनाइ थियो । तर, केपी एमाले कांग्रेसलाई नेतृत्व दिन तयार छैन । मुख्यमन्त्री फेर्ने पक्षमा भने एमले अध्यक्ष केपी शर्मा अाेली छन् ।

शीर्ष नेतृत्वमा सरकार परिवर्तनको गृहकार्य भइरहदा प्रदेशका मुख्यमन्त्री कार्की पनि डराएका छन् । सत्ता जाने डरले उनले हतार–हतार प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक गरे । जेठ ६ गते प्रदेशसभाको बजेट अधिवेशन सुरु भएको थियो । ७ गते नै उनले नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

विगतमा भने नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नुअघि सरकारले प्रतिपक्षी दलसँग राय माग्थ्यो । संसदीय समितिसँग पनि सुझाव मागेको थियो । यो पटक नीति तथा कार्यक्रम तयार गर्ने विषयमा सरकारले कुनै सरोकारवाला पक्षसँग छलफल नै गरेन ।

‘कांग्रेसको चाहाना बजेट अघि नै सरकार फेर्नुपर्छ भन्ने छ, त्यहीँ भएर उहाँले हतारहतार नीति तथा कार्यक्रम ल्याउनु भयो,’ सत्तापरिवर्तनका लागि गृहकार्य गरिरहेका कांग्रेसका एक नेताले भने,‘ असार १ गते भन्दाअघि बजेट ल्याउन मिलेन, उहाँले नीति तथा कार्यक्रमचाहिँ चाडै ल्याउनु भयो ।’

प्रमुख प्रतिपक्षी दल नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो पनि नीति तथा कार्यक्रम ल्याउन सरकारले हतार गरेको देख्छन् । ‘प्रतिपक्षी दल र संसदीय समितिसँग राय माग्ने परम्परा हो, तर सरकारले यस पटक राय मागेन,’ उनले भने ।

उनका अनुसार कांग्रेस एमालेले बनाएको सरकारमा नेकपा सहभागी हुने विषयमा कुनै छलफल भएको छैन । आफ्नो दल प्रतिपक्षी भूमिकामा रहने उनले बताए ।

नेकपा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो सरकार पुनर्गठनको विषयमा केन्द्रमा सामान्य छलफल भएपनि कुनै निष्कर्षमा नपुगेको बताउँछन् ।

‘केन्द्रीय नेतृत्वमा छलफल चलिरहेको छ, कुनै निर्णय भइसकेको छैन,’ उनले भने,‘ पहिले सहमति गर्दा कोशीको पूर्णकार्यकाल एमालेले नै नेतृत्व गर्ने सहमति थियो ।’ तर, पछिल्लो समय नेपाली कांग्रेसले पनि दाबी गरिरहेको उनले बताए ।

मुख्यमन्त्री मात्रै फेर्ने पक्षमा ओली

प्रतिनिधिसभा निर्वाचनको मतपरिणामपछि एमाले अध्यक्ष केपी शर्मा ओली कोशीको नेतृत्व एमालेले नै गर्ने तर पात्र मात्रै फेर्ने पक्षमा छन् । एमाले सचिव हिक्मतकुमार कार्की कुनै समय अध्यक्ष ओलीको विश्वास पात्र हुन् । दुई पटक २०७४ र २०७९ मा उनले आफ्ने क्षेत्रबाट प्रदेश सभामा उठाएका थिए । तर, फागुन २१ काे प्रतिनिधिसभा निर्वाचनमा कार्कीले गरेको व्यवहारका कारण पनि ओली रुष्ट छन् ।

निर्वाचनका लागि घरदैलोमा जाँदा अध्यक्ष ओलीसँग हिक्मतकुमार कार्की र उनका दाजु दीपक कार्कीको विपक्षमा मतदाता र कार्यकर्ताले खुलेर कुरा राखे । हिक्मत एमाले सचिव र प्रदेशको मुख्यमन्त्री हुन् । उनका दाइ दीपक केन्द्रीय कमिटी सदस्य हुन् ।

‘आफ्नै गृह क्षेत्रबाट अध्यक्ष हार्दा मुख्यमन्त्रीले नैतिकता देखाउनु पर्ने हो, तर त्यसो गर्नु भएन्,’ एमालेका एक सांसदले भने,‘झपा-५ अध्यक्ष ओलीको पराजयको कारण मध्ये एउटा उहाँ पनि हो ।’

चुनावमा लज्जास्पद हारपछि ओली-कार्की सम्बन्ध चिसिएकाे छ । पछिल्लाे समय कार्की आफ्नाे विपक्षमा उभिएकाे थाहा पाएपछि ओली झन रिसाएका छन् । अब मुख्यमन्त्रीमा कार्कीकाे विकल्पमा उनले तिलकुमार मेन्याङ्बोलाई अघि सार्न खाेजेका छन् । मेन्याङ्बो एमाले संसदीय दलका उपनेता हुन् । तर,कांग्रेसले संसदीय दलका नेता उद्धव थापालाई अघि सारेकाे छ । बजेट अघि नै सरकार फेर्नुपर्ने पक्षमा नेपाली कांग्रेस छ । तर, एमाले संसदीय दलका उपनेता मेन्याङ्बो बजेटपछि नै सरकार परिवर्तनको सम्भावना रहेको बताउँछन् ।

प्रकाशित मिति: आइतबार, १० जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.