विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३– ८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बिहीबारकाे प्रदेशसभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङ्गले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
सरकारकाे नीति तथा कार्यक्रममा पर्यटनलाई प्रदेशको अर्थतन्त्रको मुख्य आधार बनाउने उल्लेख छ । जसका लागि आर्थिक वर्ष २०८३ साल साउनदेखि २०८५ असारसम्मको दुई वर्षलाई कोशी प्रदेश भ्रमण वर्ष’का रूपमा मनाउने घोषणा गरेको छ । चालु आर्थिक वर्षलाई पनि प्रदेश सरकारले भ्रमण वर्ष घोषणा गरेको थियो । तर कार्यान्वयन पक्ष कमजोर छ ।
प्रदेश सरकारले सुनसरीको बराह क्षेत्र, पिण्डेश्वर, दन्तकाली र विष्णुपादुकालाई जोडेर चारधाम सर्किट बनाउने घोषणा गरेको छ ।
पूर्वाधार विकासमा कोशी प्रदेशले रेल र सुरुङमार्गको सम्भाव्यताको विषयलाई समेटेको छ । सुनसरीकाे चतरादेखि चौरीखर्कसम्म रेलमार्ग, बहुउद्देश्यीय तमोर–लेउती सुरुङमार्ग र केचना–सगरमाथा द्रुतमार्गको सम्भाव्यता अध्ययन गर्ने नीति लिएकाे छ । केचना नेपालकाे हाेचाे स्थान हाे । नेपालकाे हाेचाे स्थानबाट संसारकै अग्लाे स्थानसम्म सडक पूर्वाधार, रेल र सुरुङ मार्ग निर्माणकाे अध्ययन संघीय सरकारको समन्वयमा हुनेछ ।
प्रदेश सरकारले निर्माण गरेको पूर्वाधार संरचनाको पहिचान खुल्ने गरी सौन्दर्यकरण गर्ने योजना बनाएको सरकारले छुट्टै मानक रङ्ग, सङ्केत चिन्ह राख्ने भएकाे छ ।
सरकारले साक्षरता कम भएका समुदायका बालिकाहरूका लागि ‘सक्षम छोरी’ कार्यक्रम अघि बढाउने भएको छ । किशोरीका लागि ‘किशोरी सशक्तीकरण तथा आत्मरक्षा’ अभियानलाई स्थानीय तहमा विस्तार गर्ने नीति लिएको सरकारले साक्षरता दर न्यून भएका सीमान्तकृत समुदायका छोरीको शिक्षामा पहुँच बढाउँन ‘सक्षम छोरी’ कार्यक्रम अघि सारेको हो ।
प्राविधिक शिक्षामा विद्यार्थीलाई आकर्षण गर्न प्रयोगात्मक अभ्यासमा आधारित ‘पढ्दै कमाउँदै कार्यक्रम’ अघि बढाउने भएको छ ।
सरकारले भदौ २३ र २४ गतेको तोडफोड र आगजनीबाट क्षति भएका प्रदेश सभा र मन्त्रालयका भवनहरूको पुनर्निर्माणलाई प्राथमिकता दिएको छ ।
विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा विकास गर्न संघीय सरकारसँग समन्वय गर्ने नीति लिएको सरकारले कोशी प्रदेशबाट गण्डकी प्रदेशको पोखरा र लुम्बिनी प्रदेशको भैरहवाबीच अन्तरप्रदेश हवाई उडान सुचारू गर्ने लक्ष्य राखेको छ । कोशी प्रदेशभित्रको आन्तरिक उडान तथा पर्वतीय उडान सञ्चालनका लागि प्रोत्साहन गर्ने सरकारको योजना छ ।
प्रदेश मातहतको मनमोहन प्राविधिक विश्वविद्यालयलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने नीति लिएको सरकारले धनकुटामा चिकित्साशास्त्र तर्फको शैक्षिक कार्यक्रम सुरु गर्ने प्रक्रिया अघि बढाउने नीति लिएकाे छ ।
कोशी प्रदेशको पहिचान रहेको चिया र अलैँचीको निर्यात प्रवर्धनका लागि प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको चिया सम्मेलन आयोजना गर्ने घोषणा गरेको छ । युवालाई कृषिमा आकर्षित गर्ने नीति लिएकाे सरकारले प्याज, लसुन, आलु र टमाटर जस्ता आयातित तरकारीमा आत्मनिर्भर हुन स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने याेजना अघि सारेकाे छ ।
संघ, प्रदेश र स्थानीय तहबीचको अन्तर सम्बन्धलाई मजबुत बनाउन प्रदेश समन्वय परिषद् तथा प्रशासनिक समन्वय परिषद्लाई क्रियाशील बनाइने नीति लिएको सरकारले योजना र आयोजना कार्यान्वयनलाई नतिजामुखी बनाउन मुख्यमन्त्री ड्यासबोर्डलाई प्रभावकारी बनाउने भएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,670)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)