विराटनगर । कर्णाली प्रदेशका जङ्गलहरूमा फिरन्ते जीवन बिताउने लोपोन्मुख राउटे समुदाय पहिलो पटक औपचारिक कार्यक्रमका लागि पूर्वी नेपाल आइपुगेका छन् । मोरङको मिक्लाजुङ गाउँपालिकास्थित ‘निशेलुङ पार्क’ मा आयोजना गरिएको ‘एक घुमन्ते सभ्यता, लोपोन्मुख राउटे जाति मेला’ मा आएका हुन् । याे मेलाले एकातिर पर्यटकीय चहलपहल बढाएको छ भने अर्कोतिर सामाजिक संवेदनशीलता र मानवीय मर्यादाको विषयमा गम्भीर प्रश्न सृजना गरेकाे छ ।
याक्थुङ भिलेजले आयोजना गरेको यस मेलामा राउटे समुदायका ८ महिला र ११ पुरुष गरी १९ जना सहभागी छन् । उनीहरूलाई जेठ १० गतेसम्मका लागि दैनिक १ हजार ५ सय रुपैयाँ भत्ता दिने सर्तमा ल्याइएको याक्थुङ भिलेजका सञ्चालक अशोक चेम्जोङले बताए । मेला अवलोकनका लागि प्रतिव्यक्ति २०० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ, जुन रकम राउटेहरूको व्यवस्थापन र बसोबास खर्चमा प्रयोग गरिने उनले बताए ।
राउटेहरूलाई राखिएको दृश्य र उनीहरूलाई हेर्न लाग्ने शुल्कले कतिपय सामाजिक अगुवाहरूलाई झस्काएको छ । उनीहरूले यसलाई ‘मानवीय प्रदर्शनी’ को संज्ञा दिँदै आलोचना गरिरहेका छन् । राउटेहरू पूर्व आइपुगेसँगै टिकटक र युट्युब बनाउनेहरूको ठुलो भिड लागेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका केही भिडियोहरूमा राउटे समुदायको गोपनीयता र मर्यादामाथि प्रहार भएको देखिन्छ ।
एक भिडियोमा बुम बोकेका युवकले एक वृद्ध राउटे पुरुषलाई उनीहरूको समुदायकी महिलाप्रति लक्षित गर्दै असभ्य प्रश्न सोधेको देखिन्छ । ‘एउटी चाहिँ मन परिसक्यो रे उहाँलाई, यतै राख्ने’ जस्ता टिप्पणी र राउटेहरूको टहराभित्रै पसेर व्यक्तिगत प्रश्न सोध्ने कार्यले उनीहरूको गोपनीयताको हनन भएको छ ।
राउटेहरूको आगमनले मिक्लाजुङको पहाडी क्षेत्रमा भने उल्लेख्य आर्थिक चहलपहल बढेको छ । आयोजकका अनुसार दैनिक ४ देखि ५ हजार मानिस मेला हेर्न पुग्ने गरेका छन् । मिक्लाजुङको रमिते र धोबेनी क्षेत्रका होटल र पसलहरूमा दैनिक लाखौँको कारोबार भइरहेको छ । राउटेहरूले आफूले बनाएका काठका सामग्रीहरू बिक्री गरेर पनि अतिरिक्त आम्दानी गरिरहेका छन् ।
लामो समयदेखि राउटेको क्षेत्रमा काम गर्दै आएका पत्रकार नगेन्द्र उपाध्यायका अनुसार यो उनीहरूको पहिलो औपचारिक पूर्व यात्रा हो । ‘मेला महोत्सवमा राउटेहरू जानु नयाँ कुरा होइन, तर पूर्वमा यो पहिलो हो,’उनले भने,’ यसअघि चितवनसम्म पुगेका छन् ।’
मेलाकै क्रममा राउटेहरूमा आधुनिक जीवनशैलीको प्रभाव पनि देखिन थालेको छ । राउटे महिलाहरूले पर्फ्युम (सुगन्ध) प्रयोग गर्न रुचि देखाएका छन् भने उनीहरूलाई आधुनिक तरिकाले खाना पकाउन समेत सिकाइएको छ ।
नेपालमा मात्र १३३ जनाको संख्यामा रहेका राउटे समुदायको आफ्नै मौलिक नियम र संस्कार छ । आयोजकले आचारसंहिता जारी गरे पनि भिडियो बनाउनेहरूको अराजकताले राउटेको सामाजिक पहिचानमा प्रहार भइरहेको छ ।
लोपोन्मुख जातिको पहिचान र संस्कृतिलाई चिनाउने नाममा उनीहरूको मानवीय संवेदनालाई व्यापारिक वस्तु बनाइनु हुँदैन भन्ने तर्क सामाजिक सञ्जालमा छ । ‘अहिले मोरङको मिक्लाजुङमा राउटे समुदायको प्रदर्शनी चलिरहेको छ । यो कुनै हालतमा उचित होइन,’ शिक्षक विश्वसिंह मेवाहाङले सामाजिक सञ्जालमा लेखेका छन्,’ कुनै पनि समुदायको आफ्नो निजी सँस्कार र परम्परा हुन्छ । यसलाई प्रदर्शनी गर्नु र सस्तो प्रचारबाजी गर्नु गैरकानुनी हो ।’
माेरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल मानवीय संवेदनमाथि खेलवाड गर्न नहुने बताउँछन् । शुल्क लिएर मेला आयाेजना गरिएकाे विषयमा उनले स्विकृत गरे वा नगरेकाे भन्ने बुझेर प्रक्रिया अघि बढाउने बताए ।’ यसरी मेला आयाेजना गर्दा प्रवेश शुल्क स्वीकृत हुनुपर्छ,’ उनले भने,’ व्यक्ति(राउटे) समुदायकाे स्विकृतमा आयआर्जनका लागि गरिएकाे कुरा भएकाे हाे फरक कुरा हाे, तर, त्यसरी गर्दा लिने फि का बारेमा स्वीकृति लिनुपर्छ ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,670)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)