प्रदेश खेलकुद विकास बोर्ड : सात महिनादेखि सदस्यसचिवबिहीन

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्ड विगत करिब सात महिनादेखि सदस्यसचिवविहीन छ । प्रदेशले लामो समयदेखि सदस्यसचिव पाउन नसक्दा खेलकुदका प्रशासनिक तथा विकासात्मक गतिविधि ठप्पजस्तै अवस्थामा पुगेका छन् ।

खेलकुद क्षेत्रलाई सुदृढ, व्यवस्थित र गतिशील बनाउन नसकेको आरोप प्रदेश सरकारले खेपिरहेको छ । त्यहाँमाथि सामाजिक विकास मन्त्रालय र प्रदेश सरकार भने नेतृत्व चयनलाई थाती राखेर संरचनागत परिवर्तनमार्फत बोर्डलाई थप कमजोर बनाउने खेलमा लागिरहेको पाइएको छ ।

सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको आन्तरिक भागबन्डा मिल्न नसक्दा बोर्डले लामो समयदेखि पूर्ण नेतृत्व पाउन सकेको छैन । सदस्यसचिव नियुक्ति नहुँदा निर्णय प्रक्रिया, कार्यक्रम कार्यान्वयन र खेलकुद गतिविधिहरू सबै ठप्पजस्तै बनेका छन् । यस्तो अवस्थामा केही दिनअघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बोर्डको संरचना नै परिवर्तन गर्ने निर्णय गर्दै ‘प्रदेश खेलकुद पहिलो संशोधन अध्यादेश, २०८३’ जारी गरेको छ ।

नयाँ अध्यादेशमार्फत बोर्डको कार्यसञ्चालन र निर्णय प्रक्रियामा उल्लेख्य परिवर्तन गरिएको छ । पहिलेको ऐनअनुसार बोर्ड बैठक वर्षमा तीन पटक बस्नुपर्ने प्रावधान थियो । तर, अब उक्त व्यवस्था संशोधन गर्दै बैठक वर्षमा दुई पटक मात्र बस्ने बनाइएको छ । यसलाई प्रशासनिक सहजताका लागि गरिएको दाबी गरिए पनि खेलकुद क्षेत्रका सरोकारवालाहरूले यसले निर्णय प्रक्रिया झन् ढिलो र कमजोर बनाउने भन्दै आलोचना गरेका छन् ।

अध्यादेशमार्फत बोर्डको संरचनामा पनि ठूलो परिवर्तन गरिएको छ । पहिले १५ सदस्यीय रहेको बोर्डलाई बढाएर २६ सदस्यीय बनाइएको छ । उपाध्यक्षको संख्या पनि एकबाट बढाएर दुई पुर्‍याइएको छ । बोर्डको कार्यक्षमता बढाउनेभन्दा पनि पदाधिकारी व्यवस्थापनका लागि संरचना विस्तार गरिएको भन्दै प्रदेश सरकारको आलोचना भइरहेको छ ।

पूर्वसदस्यसचिव हंशराज वाग्लेले सरकार खेलकुद क्षेत्रलाई सुधार गर्ने नभई कमजोर बनाउने दिशामा अघि बढिरहेको आरोप लगाएका छन् । उनका अनुसार सात महिनादेखि नेतृत्वविहीन रहेको बोर्डमा सुधार ल्याउनुपर्नेमा उल्टै संरचना बढाएर दलीय भागबन्डा मिलाउने प्रयास गरिएको छ ।

प्रकाशित मिति: सोमबार, ०४ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.