विराटनगर । वि.सं. १९९३ मा स्थापना भएको नेपालको पहिलो उद्योग विराटनगर जुट मिल्स २०७० सालदेखि पूर्ण रूपमा बन्द छ । जुट मिल्सकाे प्रवेशद्वारमा एउटा ठूलो फलामे घण्टी अझै छ । कुनै बेला यो घण्टीको आवाजले हजारौँ मजदुरहरूको सिफ्ट बदल्थ्यो, उनीहरूको जीवनको गति तय गर्थ्यो । आज मिलका मेसिन बन्द छन्, तर यो घण्टी भने हरेक घण्टा बजिरहन्छ । सुरक्षागार्डहरूले हरेक घण्टाको अन्तरालमा घण्टी बजाइरहन्छन् ।
कुनै समय यो मिल्समा ८ हजार हाराहारी मजदुरको पसिना बग्थ्यो । ८–८ घण्टाको तीनवटा सिफ्टमा मिल चल्दा विराटनगरको अर्थतन्त्र नै यहीँबाट डोहोरिन्थ्यो । तर आज, आज उद्याेग ९ जना कर्मचारीको जिम्मामा छ, जसमा ५ जना सुरक्षागार्ड छन् ।

९० वर्षको इतिहास बोकेको उद्योगको भवन अहिले आफैँमा एउटा ‘संग्रहालय’ जस्तो देखिन्छ । कतै छानो भत्किएको छ, कतै पर्खाल ढलेका छन् । मेसिनका मोटरबाट तामाका क्वाइलहरू गायब भइसकेका छन् । ठूला–ठूला मेसिनहरूमा माकुराले जालो बुनेका छन् भने कतै बन्दाबन्दै छाडिएका जुटको धागो सडेका छन् । आकाशबाट पानी पर्दा मेसिनमा चुहिन्छ । ओस र पानीले गर्दा बहुमूल्य मेसिनहरूमा खिया लागेकाे छ ।
मिलकाे भित्रका राता भित्तामा अझै पनि सेता अक्षरले लेखिएका नाराहरू देखिन्छन्,‘उत्पादन बढाऔँ, मिल जोगाऔँ, वेष्टेज घटाऔँ, नोक्सानी बचाऔँ।’ यी नाराहरूले हिजोको उत्साहलाई झल्काउँछन् ।

उद्याेग खण्डहर भएपनि सुपरभाइजर मनाेज खड्काको मनमा एउटा आशा अझै मरेको छैन । उनी भन्छन्, ‘बाहिरबाट हेर्दा खण्डहर देखिए पनि भित्री संरचना अझै बलियो छ । राज्यले चाहेमा धेरै ठूलो लगानी बिना नै यसलाई पुनः सञ्चालन गर्न सकिन्छ ।’
विराटनगर जुट मिल्स यो नेपालको राजनीतिक र आर्थिक परिवर्तनको उद्गम स्थल पनि हो । यो उद्योग स्थापना भएसँगै मोरङ–सुनसरी औद्योगिक करिडोरसँगै देशभर उद्योग स्थापनाको लहर चलेको थियो । नेपालमा औद्योगिक क्रान्तिसँगै प्रजातान्त्रीक आन्दोलन पनि यही मिल्सबाट सुरु भएकाे थियाे ।

याे उद्याेग २०४६ को दशकसम्म सरकारले सञ्चालन गरेको थियो । निजीकरण गर्ने भन्दै गोल्छा अर्गनाइजेशनलाई जिम्मेवारी दिएपनि उसले सञ्चालन गर्न सकेन । २०५८ सालमा सरकारले दुई हजार कर्मचारीलाई ५५ करोड रुपैयाँ भुक्तानी गरेर उद्योग बन्द गरेको थियो । त्यसपछि २०६९ मा विनसोम इन्टरनेसनल कोलकत्तालाई सञ्चालनको जिम्मेवारी दिइएको थियो । तर, सरकारले ३३ केभिए विद्युत नदिएपछि सो कम्पनी पनि फिर्ता भयो । त्यसपछि आन्तरिक रुपमा सञ्चालन गर्ने प्रयास भएपनि सफल हुन सकेन् ।

सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)