विराटनगर । बन्द अवस्थामा रहेकाे विराटनगर जुट मिल्सको स्वामित्वमा रहेको जग्गा खाली गराउने सूचनापछि स्थानीय बासिन्दामा त्रास र आक्रोश पैदा गरेको छ ।
संघीय सरकारको नीतिअनुसार अनधिकृत बसोबास हटाउने प्रक्रिया अघि बढेपछि दशकौँदेखि त्यहाँ बस्दै आएका ६०० बढी परिवार आन्दोलित भएका हुन् । बुधबार विराटनगरको हाटताली हाटमा भेला भएका स्थानीयले उचित विकल्प र व्यवस्थापन नगरी आफूहरूलाई विस्थापित गर्न नमिल्ने बताए ।
पुस्तौँदेखि सोही स्थानमा जीविकोपार्जन गर्दै आएका परिवारहरूले सरकारको यो कदमले आफूहरू घरबारविहीन हुने चिन्ता व्यक्त गरेका छन् । स्थानीय बासिन्दा रुस्तम अलीले सरकारले मानवीय संवेदना नहेरी एक्कासि हटाउन खोजेको आरोप लगाए ।
मिल्स प्रशासनका अनुसार उद्योगको स्वामित्वमा रहेको करिब १४ बिघा क्षेत्रफलमा लामो समयदेखि अनधिकृत बसोबास रहँदै आएको छ । मिल्सको दक्षिण गेट, हाटताली हाट र हरिनगरा भट्टा क्षेत्रमा करिब ६०० परिवार बसोबास गरिरहेका छन् । बस्तीसँगै सडक किनारामा सञ्चालित ३० वटा पसल र व्यावसायिक संरचनाहरू पनि हटाउने सरकारको तयारी छ ।
विराटनगर जुट मिल्स सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कार्कीले सरकारी सम्पत्तिको संरक्षण गर्नु व्यवस्थापनको दायित्व भएको बताए ।
वि.स. १९९३ सालमा स्थापित विराटनगर जुट मिल्स नेपालकै पहिलो आधुनिक उद्योग मात्र नभई मुलुकको औद्योगिकीकरणको जननी पनि हो । यहीँ उद्योगबाट मोरङ–सुनसरी औद्योगिक करिडोरको जग बसेको थियो । वि.स. २००७ सालको प्रजातान्त्रिक आन्दोलनको राँको यहीँबाट बलेको थियो । तर, राजनीतिक हस्तक्षेप र व्यवस्थापकीय कमजोरीका कारण यो ऐतिहासिक धरोहर थला पर्दै गयो । २०७० सालदेखि पूर्ण रूपमा बन्द भएपछि मिलको जग्गा र संरचनाहरू बेवारिसे जस्तै बनेको छ ।
बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं कोषाध्यक्ष लिमा अधिकारी जुट मिल्स परिसर पुग्दा स्थानीयले उनलाई घेरेर आफ्ना समस्या सुनाए । स्थानीयले मिलमा काम गर्ने मजदुरका परिवारहरू नै त्यहाँ बसिरहेको दाबी गर्दै मिल सञ्चालन गर्न र आफूहरूलाई नहटाउन माग गरे । स्थानीयको चर्को विरोध र गुनासो सुनिरहँदा सांसद अधिकारीले भने कुनै ठोस प्रतिक्रिया दिइनन् । उनले स्थानीयको मागका विषयमा आफू जानकार रहेको संकेत गरे पनि ठोस आश्वासन नदिई फर्किएकी थिइन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,537)
जीवन विकासले बोलायो साधारणसभा (1,483)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,453)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,403)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,357)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,265)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (708)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (676)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (667)