‘मेयरकाे जग्गासम्म पुग्ने बाटाे बनाउँदा गरिबकाे टहराेमा डाेजर’

Satya Sanchar सत्य सञ्चार

इटहरी । सुनसरीकाे दुहबी नगरपालिका प्रमुखकाे जग्गासम्म पुग्ने बाटाे बनाउनका लागि विपन्न परिवारकाे घरमा डाेजर चलेकाे छ । घटना बैशाख २ गतेकाे हाे ।

पालिका प्रमुख वेदनारायण गच्छदारकाे जग्गासम्म पुग्ने बटाे बनाउन  दुहबी–१० सिमरियाकी रामकुमारी चौधरीको परिवारमाथि राज्यको शक्ति प्रयोग गरि अमानवीय व्यावहार भएकाे हाे।

आफ्नै घरको संरचना भत्काउन डोजर आएपछि रामकुमारीले रोक्न खोजिन् । दुहबी नगरपालिकाबाट नगरप्रहरी र डोजरसहित पुगेको टोलीले उनीमाथि धरपकड गर्यो । रामकुमारी मात्रै होइन, छोरी र श्रीमानमाथि पनि राज्यले अमानवीय व्यवहार गर्यो ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा रामकुमारीलाई प्रहरीले रुखमा चेपेर राखेको देखिन्छ । छोरी विनम चौधरीका अनुसार आमालाई रुखमा अठ्याएर राखेको प्रहरीले बुबालाई भ्यानमा राखेर लैजान खोजेको थियो । के आधारमा लैजाने भन्दै प्रश्न गरेपछि नगरपालिकाको टोली पछि हट्यो ।

रामकुमारीकी छोरी विनमका अनुसार विहान साढे आठ बजेतिर दुहबी नगरपालिकाको डोजर घर अगाडि आएको थियो । दुहबी १० का वडाध्यक्षले २ दिन भित्र टहरा हटाउनु भन्दै थमाएको पत्र चैत ३० गते मात्रै उनको घर पुगेको थियो ।

पूर्वसूचना विना पुगेको डोजरले वर्षौंदेखि भोगचलन गर्दै आएको संरचना भत्कायो । रामकुमारी चौधरी र उनको परिवारले प्रतिकार गर्न खोज्दा नगर प्रहरीले धरपकड गर्यो । सार्वजनिक भएको भिडियोमा नगर प्रहरीले रामकुमारी चौधरीलाई एउटा रूखमा चेपेर दुवै हातले रुखमा राखेर निमोठिरहेको जस्तो देखिन्छ । उम्किन खोज्दा झन् जोडले समातेपछि अत्तालिएकी रामकुमारीको अनुहारको भावले विभत्स अवस्था देखाउँछ । ‘ममीलाई रुखमा त्यसरी राख्यो, मलाई पनि लछारपछार पार्याे,’ मुखमा लागेको चोट देखाउँदै विनमले भनिन,‘ मेयरको जग्गामा जाने बाटो निकाल्न हामीलाई लछारपछार पार्याे ।’

रामकुमारीले प्रयोग गर्दै आएको जग्गामा पहिले खाल्डो थियो । दुई वटा नम्बरी जग्गाकाे बीचमा रहेकाे एेलानी जग्गाकाे खाल्डो पुरेर उनले आफ्नो घरको संरचना बनाएकी थिइन् । उनको घरदेखि उत्तरपट्टी १ कट्ठा ९ धुर जग्गा दुहबी नगरपालिका प्रमुख बेदनारायण गच्छदारको थियो ।

आफ्नो जग्गामा जाने बाटो बनाउनका लागि उनले रामकुमारीको सपनामाथि डोजर चलाएको स्थानीय बताउँछन् । ‘ ऐलानी जग्गामा संरचना बनाएर धेरै विपन्न परिवार बसेका छन्, बसेका मानिसले नै ऐलानी जग्गाको भोगचलन गरिरहेका छन,’ स्थानीय अभिजित राम भन्छन्,‘ मेयरको जग्गामा जाने बाटो बनाउनका लागि गरिबको घरमाथि डोजर चल्यो ।’

यस्तो छ नालिबेली

रामकुमारी र बिजय सामान्य परिवारका हुन् । उनीहरु खुकुरा पालेर गुजारा गरिरहेका छन् । छाेरा बाहिर काम गर्छन् । उनकाे घरबाट उत्तर तर्फ मेयर गच्छदारको जग्गा छ । सो जग्गामा जाने बाटो रामकुमारीकै घरसँग सटेको ऐलानी जग्गा हो । सो जग्गालाई पहिलेदेखि अन्य किसानले खेतमा ट्याक्टर लैजानका लागि प्रयोग गर्थे । मेयर गच्छदारले आफ्नो जग्गा बेच्न खोजिरहेका थिए । उनले रामकुमारी र उनका श्रीमान विजयलाई जग्गा खरिद गर्न आग्रह पनि गरे । तर,उनीहरुले त्यति चासो देखाएनन् ।

चैत अन्तिम साता गच्छदारले सो जग्गा दीपेन ऋषिदेवलाई बिक्री गर्ने सहमति गरे । दिपेनलाई बिक्री गरेको थाहा पाउने बित्तिकै विजय र रामकुमारीले ऐलानी जग्गामा बासका गाडेर बासको कर्चीको बेरा बारेर ड्रम राखेको मेयर निकट स्रोतको दाबी छ ।

आफूले बिक्री गरेको जग्गासम्म जाने बाटोमा संरचना बनेपछि मेयर गच्छदार रिसाए । वडा कार्यालय मार्फत उनले ऐलानी जग्गामा बनेको संरचना हटाउन चिट्टठी पनि पठाए । नहटाएपछि विदाकै दिन मेयरले डोजर पठाएर भत्काउन लगाए । टहरो भत्काउँदाको भिडियो भाइरल भयो ।

दुवै घटनालाई नजिकबाट बुझेको स्थानीय स्रोत चौधरी परिवारको जग्गा उपभोग गर्ने महत्वकाक्षामाथि पालिका प्रमुखले अस्वभाविक बल प्रयोग गरेको बताउँछ । ‘विजय चौधरीले पनि त्यो जग्गा अरुले नकिनोस् भन्ने हिसाबले संरचना बनाउन खोजेको देखिन्छ,’ ति व्यक्ति भन्छन्,‘ निजी स्वार्थका लागि मेयरले पनि अस्वभाविक बल प्रयोग गरे ।’

दुहवी नगरपालिकाका प्रमुख गच्छदारले घटनालाई सामाजिक सञ्जालमा अतिरञ्जित बनाउने गरी दुष्प्रचार गरेको बताउँछन् । सामान्य घम्साघम्सी भएको विषयलाई तोडमोड गरिएको उनले बताए । ‘ जसरी अठ्याएर राखेको भनिएको छ त्यो गलत हो,’ उनले भने,‘ त्यो महिलाले जबर्जस्ती डोजरको अगाडि जाँदा घाइते हुन सक्ने भएकाले त्यहाँ रोकेर राखेको थियो ।’ उनले नगर प्रहरी तालिमप्राप्त रहेको र डोजर अगाडि हाम फाल्न खोज्ने तथा ढुङ्गामुढा गर्ने महिलालाई जोगाउन खोज्दा केही मुठभेड जस्तो देखिएको बताए ।

पालिका प्रमुख गच्छदारले कसैलाई दुःख दिने नियतले नभइ उत्पीडित समुदायको व्यक्तिले जग्गा किनेपछि जग्गा किन्नेमाथि भएको अन्याय रोक्न डोजर चलेको बताए । उनले सो जग्गा आफूले बिक्री गरेको पनि स्विकार गरे ।

विजय चौधरी र रामकुमारी चौधरीलाई जग्गा लिन आग्रह गर्दा नमानेपछि अन्यत्र बिक्री गरेको उनको आसय थियो । सो जग्गा दीपेन्द्र ऋषिदेवले किनेको गच्छदारले बताए । ‘सयौँ वर्षदेखि सुकुम्बासी रहेका मुसहरका छोराले नम्बरी जग्गा किनेर सुकुम्बासीको ट्याग हटाउन खोज्नु गर्वको कुरा हो,’ उनले भने,‘तर त्यो जग्गा मुसहरले किनेको थाहा पाएपछि छिमेकीले रातारात नियत खराब गरेर संरचना बनाए ।’

‘त्यहाँ कुनै घर थिएन, नगरपालिकाले घर भत्काएको छैन, मध्यरातमा बाटो छेक्न बाँस गाडेर घेरा हालिएको टहरो मात्र भत्काएकाे हाे,’ उनले भने,‘ नियतवश बाटो बन्द गर्ने र मुसहरलाई जग्गा भोगचलन गर्न नदिने खेल थियो ।’

उनले अन्य स्थानीयको खेतमा ट्याक्टर लैजाने एक मात्र बाटोलाई रोक्नका लागि संरचना बनाइएकाले नगरपालिकाले हटाएको बताए ।

घटनाको गहिराइ नबुझी एकपक्षीय भिडियो सार्वजनिक भएको भन्दै उनले असन्तुष्टि पनि जनाए । ‘जिन्दगीभर सुकुम्बासी भएको एउटा मुसहरले जग्गा किन्दा खुसी हुनुपर्नेमा मिडिया उल्टो कुरा लेखेर नेगेटिभिटी फैलाइरहेको छ,’ उनले भने,‘ यो मुलुक बिगार्न मिडियाको पनि हात छ ।’

आफू पहिला नागरिक र त्यसपछि मात्र मेयर भएको बताउँदै आफ्नो निजी जग्गा बेच्न पाउने अधिकार रहेको र त्यसलाई विवादमा तान्नुको अर्थ नरहेको पनि बताए ।

नगरपालिकाले सिमरियामा कुनै सुकुम्बासीको घर नभत्काएको, बरु एउटा नम्बरी जग्गाको बाटोमा नियतवश राखिएको अवरोध मात्र हटाएको उनको भनाई छ ।

चौतर्फी आलोचना भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले वैशाख ६ गते विज्ञप्ति जारी गर्दै भ्रामक सूचना फैलिएको बताएको छ । संरचना भत्काउने क्रममा डोजरमाथि ढुङ्गामुढा प्रहार गर्न खोज्दा र आक्रोशित भएर जेसिबीको नजिक जान खोज्दा ुदुर्घटनाबाट बचाउन मात्र उनलाई रोकेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: सोमबार, ०७ बैशाख, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.