विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ मा स्थापना गरिएको ‘एलेक्सा लाइफ साइन्सेज’ उद्योगको उद्घाटन भएकाे छ । नेपालमै अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेलाइन उत्पादन गर्ने उद्देश्यसहित एक अर्ब रुपैयाँभन्दा बढीको लगानीमा स्थापना गरिएको उद्योगकाे वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाले उद्घाटन गरेका हुन् ।
उद्योगले यसअघिदेखि नै उत्पादन भने गर्न थालेको थियो । तर, औपचारिक उद्घाटन बल्ल भएको हो । कार्यक्रममा बोल्दै डा. कोइरालाले स्वदेशमै औषधि उत्पादन हुनु राष्ट्रिय रूपमा महत्वपूर्ण उपलब्धि भएको बताए ।
‘नेपालजस्तो विकासोन्मुख देशमा औषधि उत्पादनको क्षेत्रमा आत्मनिर्भर बन्ने प्रयास निकै सकारात्मक हो,’ उनले भने, ‘गुणस्तरमा कुनै सम्झौता नगरी निरन्तरता दिन सकियो भने यसले स्वास्थ्य क्षेत्रलाई ठूलो टेवा पुर्याउँछ ।’ उद्योगका निर्देशक दिनेश ठाकुर र रञ्जित भगतले करिब पाँच वर्षको अध्ययन, अनुसन्धान र योजनापछि उद्योग सञ्चालनमा ल्याइएको जानकारी दिए ।
जर्मन प्रविधिमा आधारित अत्याधुनिक मेसिनरी प्रयोग गरी अन्तर्राष्ट्रिय स्तरअनुसार सेलाइन उत्पादन सुरु गरिएको उनीहरूको दाबी छ । उद्योगले केही समयअघि नै सीमित रूपमा उत्पादन बजारमा पठाउन थालेको थियो । औपचारिक उद्घाटनपछि उत्पादनलाई थप विस्तार गर्ने योजना बनाइएको छ ।
हाल उद्योगले पहिलो चरणमा ‘लार्ज भोल्युम प्यारेन्टरल्स’ अन्तर्गत १०० एमएलदेखि ३ हजार एमएलसम्मका सेलाइन उत्पादन गरिरहेको छ । दोस्रो चरणमा १ देखि २० एमएलसम्मका ‘स्मल भोल्युम प्यारेन्टरल्स’ उत्पादन गर्ने र तेस्रो चरणमा आँखा तथा कानमा हाल्ने औषधि उत्पादन गर्ने लक्ष्य राखिएको निर्देशक ठाकुरले बताए ।
उनका अनुसार उद्योगको प्रमुख उद्देश्य सहज मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराउनु र औषधिमा विदेशी निर्भरता घटाउनु हो । ‘हामीले उत्पादन सुरु गरिसकेका छौं । तर, सेलाइन उत्पादनको लागत धेरै छ । बजार मूल्य समायोजन हुन सकेको छैन,’ ठाकुरले भने, ‘हाल घाटा सहेरै उत्पादन गरिरहेका छौं । यदि सरकारले नीतिगत सहुलियत र सुधार नगर्ने हो भने स्वदेशी उद्योगलाई टिक्न गाह्रो हुन सक्छ ।’
उद्योग सञ्चालनसँगै स्थानीयस्तरमा रोजगारीको अवसर पनि विस्तार भएको छ । हाल यस उद्योगले १५० जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ । अप्रत्यक्ष रूपमा थप रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ । दक्ष जनशक्ति व्यवस्थापन, आधुनिक प्रविधि र गुणस्तर नियन्त्रण प्रणालीमार्फत उद्योगलाई दीर्घकालीन रूपमा प्रतिस्पर्धी बनाउने लक्ष्य लिइएको सञ्चालक ठाकुरको भनाइ छ ।
उद्योगले भविष्यमा नेपालमै मात्र सीमित नरही अन्तर्राष्ट्रिय बजारमा समेत औषधि निर्यात गर्ने योजना बनाएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,988)
जीवन विकासले बोलायो साधारणसभा (1,966)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,926)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,889)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,809)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,711)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,164)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,148)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (878)