काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीसँग सम्बन्धित महत्वपूर्ण कामका कारण रोकिएको मतदाता नामावली संकलन आज (आइतबार)देखि पुनः सञ्चालनमा आएको छ ।
निर्वाचन आयोगले यसअघि स्थगित गरेको उक्त प्रक्रिया पुनः सुरु गर्ने निर्णय गरेसँगै देशभर नामावली अद्यावधिकको काम अघि बढाइएको हो । आयोगले गत मंसिर ६ गतेदेखि मतदाता नामावली संकलन कार्य स्थगित गरेको थियो । तर, चैत १८ गते बसेको आयोगको बैठकले पुनः नामावली संकलन सुरु गर्ने निर्णय लिएको हो । आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार यसअघि स्थगित सबै कार्यक्रम पुनः सञ्चालनमा ल्याइएको छ ।
यसपटक आयोगले प्रविधिमैत्री व्यवस्था विस्तार गर्दै राष्ट्रिय परिचयपत्रसँग आबद्ध प्रणालीमार्फत मतदाता नामावली दर्ता गर्न सकिने सुविधा उपलब्ध गराएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग बाट परिचयपत्र नम्बर प्राप्त गरेका नागरिकहरूले सोही विवरणका आधारमा अनलाइन प्रणाली प्रयोग गरी सहज रूपमा आफ्नो नाम दर्ता गर्न सक्नेछन् ।
यद्यपि, राष्ट्रिय परिचयपत्र प्रणालीमा अझै समावेश नभएका नागरिकका लागि छुट्टै प्रक्रिया कायम गरिएको छ । आयोगले ‘प्रि–इनरोलमेन्ट’ नामक अनलाइन प्रणालीमार्फत प्रारम्भिक फारम भर्न सकिने व्यवस्था गरेको छ । त्यसपछि सम्बन्धित व्यक्ति आफैं प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भई फोटो, औंठाछाप लगायतका विवरण बुझाउनुपर्ने हुन्छ । यसले अनलाइन र भौतिक दुवै माध्यमको संयोजनबाट प्रक्रिया पूरा गर्ने व्यवस्था सुनिश्चित गरेको आयोगको भनाइ छ ।
नामावली संकलनसँगै यसपटक आयोगले मतदाता विवरण अद्यावधिकलाई पनि प्राथमिकतामा राखेको छ । मतदाता सूचीमा रहेका त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु भइसकेका व्यक्तिको नाम हटाउने, बसाइँसराइका आधारमा विवरण परिवर्तन गर्ने जस्ता कार्यका लागि पनि अनलाइन माध्यमबाटै आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।
त्यसैगरी नाम, थर, ठेगाना लगायतका व्यक्तिगत विवरण सच्याउने, एउटै वडाभित्र एकभन्दा बढी मतदान केन्द्र भएको अवस्थामा आफूलाई सहज पर्ने केन्द्रमा नाम सार्ने, नागरिकतामा भएको विवरणसँग नमिलेका सूचनाहरू सुधार गर्ने सुविधा समेत उपलब्ध गराइएको छ । आयोगका अनुसार यसले मतदाता सूचीलाई अझ व्यवस्थित, अद्यावधिक र विश्वसनीय बनाउन मद्दत पुर्याउनेछ ।
आयोगले सबै योग्य नागरिकलाई नामावली संकलन तथा अद्यावधिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ । आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र समावेशी बनाउन मतदाता सूचीको शुद्धता अत्यन्त महत्वपूर्ण हुने भएकाले यस प्रक्रियालाई प्राथमिकताका साथ अघि बढाइएको आयोगको भनाइ छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)