काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र र निर्वाचन सामग्री देशका सबै जिल्लामा पुर्याउने कार्य अन्तिम चरणमा पुगेको छ ।
निर्वाचन आयोगका अनुसार बिहीबारसम्ममा सबै जिल्लामा मतपत्र ढुवानी सम्पन्न हुनेछ । मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । सुरक्षा व्यवस्थासहित देशभर पठाउने कार्य तीव्र रूपमा अघि बढाइएको छ ।
भौगोलिक अवस्थाअनुसार दुर्गम तथा हिमाली क्षेत्रका ५ जिल्लामा हवाई मार्गबाट र अन्य जिल्लामा स्थलमार्गबाट मतपत्र ढुवानी गरिएको हो । निर्वाचन सुरक्षालाई लक्षित गर्दै नेपाली सेनाले तीन चरणको सुरक्षा रणनीति अवलम्बन गरेको छ ।
राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा मन्त्रिपरिषद्को निर्णय तथा राष्ट्रपतिबाट स्वीकृति प्राप्त भएपछि सेना निर्वाचन सुरक्षाका लागि परिचालन भइसकेको छ । सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार निर्वाचनपूर्व, मतदानको दिन र मतगणना सम्पन्न भई परिणाम घोषणा नहुन्जेलसम्म सुरक्षा व्यवस्था प्रभावकारी बनाइनेछ ।
सेनाले मतपत्र छपाइस्थलको सुरक्षा, काठमाडौंबाट जिल्ला निर्वाचन कार्यालयसम्म मतपत्र ढुवानी तथा संवेदनशील संरचनाको सुरक्षा जिम्मेवारी सम्हालिरहेको जनाएको छ । निर्वाचनको दिन मतदानस्थलमा तेस्रो घेरामा सुरक्षा प्रदान गर्ने सेनाले मतदान सम्पन्न भएपछि मतपेटिका सुरक्षित रूपमा मतगणनास्थलसम्म पुर्याउने छ ।
निर्वाचन आयोगले देशभर २३ हजार १ सय १२ नियमित मतदान केन्द्र निर्धारण गरिसकेको छ । ती मतदान केन्द्रमा आवश्यक जनशक्ति, सामग्री र मतपत्र पठाउने क्रम अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ । साथै, आयोगले देशभर १ सय ४३ अस्थायी मतदान केन्द्र पनि निर्धारण गरेको छ ।
निर्वाचनमा खटिएका कर्मचारी, सेना, प्रहरीलगायतका लागि अस्थायी मतदान केन्द्र तोकिएको आयोगका सहायक प्रवक्ता सीता श्रीष पुनले जानकारी दिइन् । उनका अनुसार निर्वाचनमा खटिएका वा निर्धारित मतदानस्थलमा पुग्न नसक्ने मतदातालाई अस्थायी मतदाताको रूपमा सूचीकृत गरिएको छ । आयोगका अनुसार यसपटक १ लाख ८६ हजार अस्थायी मतदाता कायम भएका छन् ।
अस्थायी मतदाताले समानुपातिक निर्वाचन प्रणालीतर्फ तोकिएको मतदानस्थलमा मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ । नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सरकारी स्वामित्वका संस्थामा कार्यरत कर्मचारी, सेना, प्रहरी, कारागारका थुनुवा तथा कैदी, निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मी र संवैधानिक निकायका पदाधिकारीहरू अस्थायी मतदाता सूचीमा समावेश गरिएको छ ।
राज्यको संरक्षणमा रहेका ज्येष्ठ नागरिकसमेत अस्थायी मतदाताका रूपमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ । निर्वाचन सुरक्षासम्बन्धी गतिविधिको केन्द्रीय तथा स्थानीय तहबाट निरन्तर अनुगमन भइरहेको छ ।
प्रधानसेनापतिले विभिन्न कमान्ड सेन्टर तथा फिल्डमा खटिएका फौजको निरीक्षण गर्दै आवश्यक निर्देशन दिइरहेको सेनाले जनाएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गर्न आयोग र सुरक्षा निकायले संयुक्त रूपमा तयारी अघि बढाएका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)