विराटनगर । आसन्न प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढिरहेका बेला मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं नेपाली कांग्रेस महामन्त्री गुरुराज घिमिरेले आफ्नो चुनावी एजेण्डा सार्वजनिक गरेका छन् । सोमबार साँझ विराटनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत घिमिरेले क्षेत्र नम्बर ४को विकासका लागि ३९ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
घिमिरेले शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद र भौतिक पूर्वाधारलाई उच्च प्राथमिकतामा राख्दै आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् । २०७२ को संविधान निर्माण प्रक्रियामा नेतृत्वदायी भूमिका खेलेका घिमिरेले यसपटक विकास र नीतिगत सुधारको एजेण्डा लिएर मतदाताको घरदैलोमा पुगेको बताए ।
खेलकुद ग्राम र अन्तर्राष्ट्रिय क्रिकेट मैदान
घिमिरेको प्रतिबद्धता पत्रको मुख्य आकर्षण विराटनगर–१९ मा निर्माणाधीन ‘गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट मैदान’ रहेको छ । मैदानलाई केन्द्रमा राखेर सो क्षेत्रलाई ‘खेलकुद ग्राम’का रूपमा विकास गर्ने उनले घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता सञ्चालन गर्न सक्ने पूर्वाधार, आधुनिक प्रशिक्षण केन्द्र र बहुउद्देश्यीय खेल मैदान निर्माण गरी मोरङ–४ लाई देशकै खेलकुद हब बनाउने उनको लक्ष्य छ ।
शिक्षा क्षेत्रमा घिमिरेले आफ्नो क्षेत्रभित्र पर्ने विराटनगर महानगरपालिकाका विभिन्न वडा, कटहरी, ग्रामथान र बेलबारीका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने प्रतिबद्धता जनाएका छन् । आमाबुबाकाे नाममा छात्रवृद्धि दिने याेजना पनि अघि सारेका छन् ।
कृषि प्रधान यस क्षेत्रका किसानका लागि सिँचाइ र बजार पहुँचलाई उनले विशेष महत्त्व दिएका छन् । मोरङ–सुनसरी सिँचाइ आयोजनाको मूल नहर अन्तर्गत खनारदेखि केरौनसम्मका विभिन्न स्थानमा पक्की पुल निर्माण गर्ने योजना उनले अघि सारेका छन् । यसले कृषि उपजलाई बजारसम्म पुर्याउन सहज हुनेछ । साथै, सिँचाइ सुविधा नपुगेका स्थानमा डिप बोरिङ र वैकल्पिक सिँचाइको प्रबन्ध गर्ने तथा समयमै मल र बीउ उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । भौतिक पूर्वाधारतर्फ कटहरीको लोहन्द्रा खोलामा पक्की पुल र तटबन्ध निर्माणलाई प्राथमिकतामा राखिएको छ । यसका साथै भूमिहीनहरूको व्यवस्थित बसोबासका लागि ठोस पहल गर्ने उनले बताएका छन् ।
स्वास्थ्य सेवामा सुधार
स्वास्थ्य क्षेत्रतर्फ बेलबारी–७ बाहुनीस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई थप व्यवस्थित बनाउँदै प्रयोगशाला र विशेषज्ञ चिकित्सकको सेवा सुनिश्चित गर्ने उनले बताए । सामान्य उपचारका लागि पनि विराटनगर वा अन्यत्र धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उनको दाबी छ ।
१ लाख १९ हजार २ सय ५५ मतदाता रहेको मोरङ क्षेत्र नम्बर ४ मा घिमिरेले आफ्नो प्रतिबद्धता पत्र केवल चुनावी नारा मात्र नभई कार्यान्वयनयोग्य ‘एक्सन प्लान’ भएको बताए । “म स्पष्ट कार्यदिशा र दीर्घकालीन सोचका साथ आएको छु,” घिमिरेले भने, “यो क्षेत्रलाई शिक्षा, कृषि र खेलकुदको नमुना मोडेल बनाउने मेरो संकल्प हो ।”
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,537)
जीवन विकासले बोलायो साधारणसभा (1,480)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,452)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,401)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,352)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,263)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (706)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (674)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (666)